सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ–कमर्सले गत शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा 'टेडएक्स सफ्टवेरिका २०२४' कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
'विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै' भन्ने विषयवस्तुमा आधारित भएर 'टेडएक्स सफ्टवेरिका २०२४' आयोजना गरिएको हो।
कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए। उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए। जसले दर्शकहरूलाई निकै प्रोत्साहन गरेको बताइएको छ।
कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्त्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताइन्।
अर्का वक्ता नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए।
नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए। सोही क्रममा स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्त्वपूर्ण कुरा भएको तर अन्ततः जीवनमा साँच्चै के महत्त्वपूर्ण छ भनेर गम्भीर हुनु पर्ने उनले धारणा राखेका थिए।
कार्यक्रममा उपस्थित भएका अर्का वक्ता रिपोर्टर क्लब तथा प्राइम टेलिभिजनका संस्थापक ऋषि धमला विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी हुन प्रेरित गरेका थिए। साथै उनले आइटी शिक्षा र रोजगारीलाई अझ राम्रो बनाउनेबारे आफ्नो विचार राखेका थिए ।
प्रविधि र नवप्रवर्तनको बारेमा छलफल जारी राख्न भविष्यमा पनि सफ्टवेरिका कलेजले यस्ता कार्यक्रमहरू अवश्य आयोजना गर्ने बताएको छ।
यस्ता ज्ञान आदानप्रदान र सशक्तीकरणका लागि मञ्चहरू तयार गर्न कलेज प्रतिबद्ध रहेको बताइएको छ।