द ब्रिटिस कलेजले नयाँ शैक्षिक कार्यक्रम बिएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स-एआई) सुरू गरेको छ।
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुआत घोषणा गरेको हो।
बेलायतस्थित 'युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्यान्ड'सँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ।
फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनका साथै उद्योगी, व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू व्यक्त गरे। त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरू ई–सेवा, खल्ती र आइएमई पेका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्त्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे। उनले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए। सुब्बाले आइटिको क्षेत्रमा सिंगो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त बेलायतका विश्वविध्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए।
नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा आफ्नो धारणा व्यक्त गरे। उनले भने, 'बेलायत र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुआत भएको देख्न पाउँदा म निकै खुसी छु। ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इंगल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढावा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ।'
त्यस्तै ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले पनि कार्यक्रममा मन्तव्य राख्दै भने, 'हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सधैँ ध्यान केन्द्रित गरेका छौं। त्यसैले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरू अंगाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ।'
उनले एआई विषयमा अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुल्ला भइसकेको समेत जानकारी गराए।