नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गर्दै सहयोग गरेको छ।
बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब १८ लाख बराबरको १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन्।
कम्पनीका सिइओ प्रवीण रमण पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले गर्ने चेकिङलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताए।
साथै उक्त चेकिङ बोर्डहरूको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभार समेत कम्पनीले गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत उनले जानकारी दिए।
निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने समेत सिइओ पराजुलीले बताए।
कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे। यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन मद्दत पुग्नेमा उनी सकारात्मक रहेको बताए।