अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा 'इन्फर्मेटिभ लर्निङ' कार्यक्रम सम्पन्न गरेको छ।
नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए।
कार्यक्रममा कम्पनीका संस्थापक रुद्रराज पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए।
सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा विजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए।
आफ्ना सदस्यहरूमा सिकाइ श्रृङ्खलाअन्तर्गत एकच्यामले अन्तर्क्रियासँगै काठमाडौंको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो।
कार्यक्रमले सदस्यहरूबीच मित्रता बढाउने र एकअर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए।
कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए।
कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिक/वाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए ।
एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यावसायिक संस्था आवद्ध भैसकेका छन्। स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ।
यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडिआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले एमच्याम नेपालले जनाएको छ।