खर्चिलो परीक्षा प्रणालीलाई छिटो छरितो माध्यमबाट सम्पन्न गर्न ओएमआर सिटको भूमिका महत्त्वपूर्ण छ।
ज्यादै कम समयमा सैयौको संख्यामा रहेका सहभागीहरूमा कुनै विषयको प्रयोग वा सर्वेक्षण गर्न परे ओएमआर सिटको प्रयोग गरिन्छ।
विश्वभर सर्वेक्षणका साथै धेरै उत्तरपुस्तिका एकैसाथ जाँच गर्न यसको बढी प्रयोग भइरहेको छ।
इ लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपालले नेपालमै पहिलो पटक मोबाइल स्क्यान गरी ओएमआर सिटबाट घरमै बसेर परीक्षा दिन सकिने फिचर आफ्नो एपमा उपलब्ध गराएको छ।
अहिले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न चाहनेहरूका लागि लिइने सिइई (कमन इन्ट्रान्स प्रिपिरेसन) इन्ट्रान्सको तयारी गरिरहेकाहरूलाई लक्षित गरी एम्बिसन गुरुले एपमै ओएमआर सिट उपलब्ध गराएको हो।
यसका साथै लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय, बैंक तथा संस्थान, सबै विषयका इन्ट्रान्स र लाइसेन्सको तयारीका कोर्षहरूको नमुना परीक्षा ओएमआर सिटबाटै दिन मिल्ने एम्बिसन गुरुकी सूचना अधिकारी साजना तामाङले बताइन्।
शैक्षिक क्षेत्रमा यस खालको प्रविधिको प्रयोग नेपालमै पहिलो भएको उनको दाबी छ।
विद्यार्थीले एम्बिसन गुरु एपबाट सिट डाउनलोड गरी आफूलाई आवश्यक जति पनि प्रिन्ट गर्न सक्ने र एपमार्फत् नमुना परीक्षामा सहभागी हुन सक्ने बताइएको छ।
ओएमआर सिटमा उत्तरहरू चिन्ह लागाइसकेपछि मोबाइलबाटै त्यसको फोटो खिचेर अपलोड गरेपछि विद्यार्थीले रिजल्ट पनि तुरुन्त मोबाइलबाटै थाहा पाउन सक्ने छन्।
नेपालमा मेडिकल इन्ट्रान्स, सरकारी सेवाहरूमा पद पूर्तीका लागि लोकसेवाले लिने परीक्षाको प्रथम पत्र, शिक्षकसेवा आयोगको तथा लाइसेन्स परीक्षाको प्रथम पत्र र विभिन्न विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षामा ओएमआर सिटको प्रयोग भइरहेका छन्।
तर हालसम्म यसका लागि छुट्टै खालको स्क्यान मसिनको आवश्यकता पर्थ्यो। योसँगै विभिन्न कोर्षहरूको तयारी र ओएमआर सिट परीक्षा अभ्यासकै लागि गाउँगाउँबाट सहरी क्षेत्रमा कोठा लिएर बस्नुपर्ने बाध्यता हटेको बताइएको छ।