एक–एक गर्दै आगोमा मकै राखिन्छ। बिस्तारै आगोको राप बढ्दै जान्छ। मकैको रङ खैरो हुन थाल्छ।
जसो जसो मकै खैरो हुँदै जान्छ, त्यसको सुगन्ध धुवाँ बनेर हावामा मिसिन्छ। र, ठेलामा पोलिरहेको मकै छिनभरमै नखिपोटको गल्ली गल्लीमा फैलिन्छ।
यो मकैको कथा होइन। मकैको सुगन्धको कथा पनि होइन।
यो कथा हो, १२ वर्षदेखि मकैको भरमा गुजारा चलाइरहेकी र दुई जना छोरी हुर्काइरहेकी आमा विष्णुमाया कुमालको।
विष्णु ३८ वर्षकी भइन्। उनी आजभन्दा १४ वर्षअघि गोरखाबाट काठमाडौं आएकी थिइन्। साथमा दुई जना काखे छोरी थिइन् — दुई वर्षकी ठूली छोरी र दुई महिनाकी सानी छोरी।
'अनि तपाईंको श्रीमान्?' नखिपोटमा सडक किनार भेटिएकी विष्णुसँग मैले उत्सुकतावश सोधेँ।
जबाफमा उनले भनिन्, 'दोस्रोचोटि पनि छोरा नभएपछि श्रीमानले मलाई छाडेर अर्की ल्याए। खर्चवर्च पनि दिएनन्। तर उनले नहेरेर, खर्च नदिएर के भो त, मेरा छोरीहरूलाई म एक्लै हुर्काउन सक्छु भनेर काठमाडौं आएँ।'
यसो भन्दै गर्दा उनी मकैलाई ताप दिइरहेको आगो निरन्तर हम्किरहेकी थिइन्।
आगोको धुवाँले हो वा मनको दु:ख भरिएर हो, उनको आँखा रसाएको म प्रस्ट देख्दै थिएँ।

काठमाडौंमा उनको आडभर भनेका भाइ–बुहारी थिए। उनीहरू केही समयदेखि यतै काम गरेर बसेका थिए।
विष्णुले पनि यहाँ आएपछि भाइ–बुहारी बस्ने घर नजिकै नखिपोटमा डेरा खोजिन्। एकअर्कालाई गाह्रोसाह्रो पर्दा सहयोग हुन्छ भनेर नजिक बसेको उनी बताउँछिन्।
सबभन्दा ठूलो कुरा त, विष्णु काम गर्न जाँदा उनका दुई छोरीको हेरचाह भाइ र बुहारीले गर्थे। यसले उनलाई काम खोज्न सहज भयो। दिनभरि यताउति भौंतारिँदा पनि छोरीहरूले मामा–माइजूको रेखदेख पाउँदा उनलाई ढुक्क हुन्थ्यो।
सुरूआती दिनमा विष्णुले छरछिमेकका घरमा सहयोगीको काम गरिन्। तर अर्काको घरमा काम गरेर खासै कमाइ हुने नदेखेपछि उनले जे भए पनि आफ्नै गर्नुपर्छ भन्ने निधो गरिन्।
'त्यो बेला काम खोज्न यताउता गरिरहँदा मैले बाटोमा मकै पोलिरहेका महिला खुब देख्थेँ। यो काम त म पनि गर्न सक्छु भन्ने लाग्थ्यो,' उनले भनिन्, 'आफ्नै काम गर्ने निधो गरेपछि मैले भाइसँग सल्लाह गरेर ठेला बनाउन दिएँ र मकै बेच्न सुरू गरेँ।'
काठमाडौं आएदेखि नखिपोटमै बस्दै आएकाले मकै व्यापार गर्न यहीँ सजिलो भएको उनी बताउँछिन्।
'यहाँका धेरैले मलाई चिन्छन्। नचिने पनि वरपरका मान्छेसँग दिनहुँ देखादेख भइरहन्छ। त्यसैले मकहाँ आउने मुख्य ग्राहक यहीँका स्थानीय हुन्,' उनले भनिन्, 'स्कुल पढ्ने केटाकेटीदेखि युवा र बूढाबूढी पनि मकहाँ मकै किन्न आउँछन्। कोही बाटोमै उभिएर खान्छन्, कोही घरै लैजान्छन्।'
मकैको व्यापार बाह्रै महिना उस्तै चल्ने उनको भनाइ छ। गर्मी याममा भने लामो समय आगो अगाडि बसेर मकै पोल्न गाह्रो हुने उनी बताउँछिन्।
विष्णुको ठेलामा एउटा पोलेको मकै ३५ रूपैयाँ पर्छ। उनी दिनको ५० देखि ७० वटा बेच्छिन्। दिनको एक हजारदेखि १२ सय रूपैयाँसम्म नाफा हुन्छ।
'दुइटी छोरी हुर्काउन मलाई पुगिरहेको छ,' उनले भनिन्।

उनकी ठूली छोरीले यसैपालि एसइई दिएकी हुन् भने सानी छोरी आठ कक्षा पढ्दै छिन्।
छोरीहरूको पढाइलेखाइमा सम्झौता गर्न नपरोस् भनेर विष्णु मकै बेच्नेबाहेक बिहान बिहान अर्काको घर सरसफाइ पनि गर्छिन्। दुइटा घरमा दिन बिराएर सफा गर्न जाने उनी बताउँछिन्। यसबाट महिनाको १० हजार रूपैयाँ कमाइ हुन्छ।
उनी पहिले चितवनबाट मकै ल्याउने थोक बिक्रेतासँग किन्ने गर्थिन्। ती थोक बिक्रेताले घरै अगाडि मकै ल्याएर दिन्थे। यसपालि भने भाइको चार आना जग्गामा मकै रोपेकी छन्। केही तरकारी पनि लगाएकी छन्।
'यसपालि रोपेको तरकारी परिवारलाई खान मात्र ठिक्क भयो,' उनले भनिन्, 'अर्कोचोटि धेरै फल्यो भने बजार लगेर बेच्ने विचार छ।'
श्रीमानले साथ छाडेपछि दुई छोरी च्यापेर काठमाडौं आएकी विष्णुले धेरै दु:ख सहिन्। अहिले भने छोरीहरू हुर्केकाले र आमाको दु:ख बुझ्ने भएकाले पहिलेजस्तो गाह्रो छैन। घरको काम छोरीहरूले नै गर्ने हुँदा उनी ढुक्कसँग व्यापार गर्न सक्छिन्।
'गोरखाबाट आउँदा मसँग आँट बाहेक अरू केही थिएन,' उनले भनिन्, 'जसको निम्ति यत्रो जोखिम उठाएँ, आज उनै छोरीहरू मेरो आडभर बनेका छन्।'
'जति कष्ट सहेर भए पनि छोरीहरूलाई यहाँसम्म ल्याइपुर्याएँ, त्यसैमा खुसी छु,' उनले भनिन्।
उनले यसो भन्दै गर्दा मकैको सुगन्ध धुवाँ बनेर चारैतिर फैलिरहेको थियो।
***


