ललितपुर महानगरपालिकाले डिभिजन वन कार्यालय (डिएफओ), ललितपुर र नेपाल प्रहरीसँगको सहकार्यमा महालक्ष्मीस्थानमा कमजोर अवस्थामा रहेका रुखहरूको व्यवस्थापन गरेको छ।
सडक किनारमा रहेका कमजोर अवस्थाका रूखहरूले निम्त्याउने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र सामुदायिक सुरक्षा सुनिश्चित गर्न महानगपालिकाले अभियान सुरू गरेको हो। यस्तो रूखहरू विज्ञले पहिचान गरेर संकेत दिएका हुन्छन्।
इनलिफ्ट नेपालका तालिमप्राप्त अधिकारीहरूले हालै हावाहुरी लगायतले ढल्न र भाँचिन सक्ने १० रूखको पहिचान गरी हटाइएका छन्। यी स्थानमा नयाँ प्रजातिका रूखका बिरुवाहरू रोपिने भएका छन्।
उनीहरूले महानगरभित्रका ज्याकारान्डाका रूखका हाँगाहरू छिमलेका छन्। तुलनात्मक रूपमा ज्याकारान्डाका रूख कमलो हुने भएकोले हाँगाहरू काटिएका हुन्। त्यसैले सहरी भूगोलको योजना बनाउँदा स्थानीय वातावरणलाई मध्यनजर गर्दै बोट-बिरुवाका प्रजाति छनौट गर्न पर्ने बताइएको छ।
बागमती प्रदेशको वन अनुसन्धान तथा तालिम केन्द्र र इनलिफ्ट नेपालको परियोजनाको प्राविधिक सहयोगमा आठ जिल्लाका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूलाई तालिम समेत दिइएको छ। यस्ता तालिमप्राप्त व्यक्तिहरूले रूख ढलेको, बाटो अवरोध गरेको आकस्मिक अवस्थामा तत्काल बाटो खुलाउने काम गर्नेछन्।