नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरण स्वदेशी उद्योगलाई मारेर आफू 'खुद निर्यातकर्ता' बन्ने धुनमा रहेको बताएको छ।
विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको प्रचारप्रसार भएसँगै परिसंघले यस्तो बताएको हो।
'स्वदेशी उद्योगलाई पर्याप्त विद्युत उपलब्ध नगराई प्राधिकरण निर्यात गर्नतिर लागेको छ। यसले प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ,' परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत उपलब्ध गराउन उद्योगीहरूले आग्रह गर्दैै आएका थिए। तर, प्राधिकरणले विद्युत आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत आयात गरेको थिएन।
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रवर्द्धनमा सहयोग गर्न प्राधिकरणलाई परिसंघले आग्रह गरेको छ।
साथै, उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघ माग गरेको छ।
सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा उद्योगीले प्रश्न गरेका छन्।