नेसनल युथ फेस्टिभल २०२४ जेठ २६ गते हुने भएको छ।
युवा विद्यार्थीहरूमा नेतृत्व विकास, सकारात्मक मानसिकता, उद्यमशिलता प्रवर्द्धन गर्ने उद्देश्य सहित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी), वाइ.इ.डि टक्स, परिवर्तनका लागि युवा (युथ फर चेन्ज) र इन डेप्थ स्टोरी (आइडिएस) को संयुक्त आयोजनामा फेस्टिभल हुन लागेको हो।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, बौद्ध भिक्षुणी तथा विश्व चर्चित गायिका आनी छोइङ डोल्मा, वरिष्ठ पाइलट विजय लामा, पूर्व बैंकर तथा प्रेरक वक्ता अनिल केशरी शाह, उद्यमी तथा गोल्डस्टार नेपालकी कार्यकारी निर्देशक विदुषी राणा लगायतका वक्ताहरूको जीवनको अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको एमआइटिका अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिए।
कार्यक्रममा विभिन्न वक्ताहरूको प्रवचनका साथै गायक स्वप्न सुमन र सुशान्त घिमिरेको ब्यान्ड सहितको विशेष सांगीतिक प्रस्तुति समेत रहने सुवेदीले जानकारी दिए।
नेपालमा नेपाली युवाहरूलाई थप उत्साहित र एकीकृत गर्दै युवाहरूबाट थप नयाँ आशा गर्ने बेला आएको छ भन्ने कुरालाई चरिर्थात्र गर्नको निमित्त यस कार्यक्रमको आयोजना गरेको बताइएको छ।
साथै आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देश नेपालमा केही सफल कार्य गरी भोलिका पिढीको असल पथप्रदर्शक बन्नको लागि प्रेरित गर्ने उद्देश्यका साथ यस फेस्टिभलको आयोजना गर्न लागेको वाइइडि टक्सका दिवस कार्कीले बताए।
विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरू गर्न नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीका निम्ति आयोजना हुन गई राखेको यस कार्यक्रममा इच्छुक विद्यार्थीले सहभागिता लागि अनलाइन मार्फत् आफ्नो नाम दर्ता गरी जनाउन सक्नेछन्।