प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ।
शनिबार आयोजित एक समारोहको प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ थिए।
अन्तर्राष्ट्रियस्तरमै कहलिएको आइबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पिवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाइपी) र माध्यमिक तहको डिप्लोमा (आइबी डिपी) कार्यक्रम सञ्चालन गरेर आइबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एकमात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो।
आइबिडिपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पुरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी निर्देशक प्रभिना थापाले बताइन्।
जसमा आइबिडिपी कार्यक्रमका ४१ विद्यार्थी छन् भने एनइबीका ५० विद्यार्थी छन्। आइबी कन्टिनम् स्कुलबाट आइबिडिपी अध्ययन पुरा गर्दै दिक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो।
'पिवाइपी, एमवाइपी र डिपी पाठ्यक्रमको अध्ययन पुरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु,' प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बुले भनिन्।
निर्देशक लिम्बुले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको बताइन्।
'आइबी शिक्षा संसारका लागि पासपोर्ट मात्र होइन, विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो,' उनले भनिन्, 'यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ।'
सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आइबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको बताइएको छ।