बागबजारस्थित काठमाडौं मोडल कलेजले बिबिए तथा बिबिएम आठौं सत्रान्तका अध्ययनरत विद्यार्थीहरूका लागि म्यानेजमेन्ट सिम्युलेसन कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सोही कलेजका कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. उपेन्द्रकुमार कोइरालाले कार्यक्रम सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
उक्त कलेजले वार्षिक कार्यतालिका अनुसार सञ्चालन गर्ने मुख्य कार्यक्रम अन्तर्गत म्यानेजमेन्ट सिम्युलेसन कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ जसको मुख्य उद्देश्य पढेर प्राप्त गरेको ज्ञानलाई प्रयोगात्मक हिसाबले व्यवहारमुखी बनाउनु हो।
कुनैपनि कम्पनी सञ्चालनमा हुने विभिन्न मोडालिटीमा रहेर सायमुलेसन कार्यक्रम सञ्चालन गरिएको थियो।
जसरी एउटा कम्पनी अन्तर्गत विभिन्न विभागहरू रहन्छन् त्यसरी नै विद्यार्थीहरूलाई विभिन्न विभागहरू मार्केटिङ डिपार्टमेन्ट, एचआर डिपार्टमेन्ट, अपरेसन डिपार्टमेन्ट फाइनान्स डिपार्टमेन्ट, र इन्जिनियरिङ डिपार्टमेन्टमा वर्गीकरण गरिएको थियो।
बैठकको अध्यक्षता बिबिए आठौं सत्रान्तमा अध्ययनरत स्वीकृति मानन्धरले गरेकी थिइन् भने महाप्रबन्धकको भूमिकामा बिबिएम आठौं सत्रान्तमा अध्ययनरत आयुष थापाले भूमिका निर्वाह गरेका थिए।
भविष्यमा आफ्नो कार्यक्षेत्रमा काम गर्दै गर्दा देखा पर्न सक्ने चुनौती, समाधान एवं भावी रणनीति बनाउनका लागि यस्ता कार्यक्रमले सहज बनाउने हुँदा यस्ता कार्यक्रम निकै फलदायी रहने कार्यक्रममा सहभागी विद्यार्थीहरूले बताए।
विद्यार्थी एवं अध्यापकहरू गरी करिब ७० जनाको सहभागिता रहेको उक्त कार्यक्रम बिहान ८ बजे सुरू भएर ४ बजे समापन भएको थियो। सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
विश्वविद्यालयद्वारा सञ्चालन गरिने विभिन्न परीक्षाहरूमा समेत अग्रणी स्थानमा रहँदै आएको यस कलेज देशभरका उच्च शैक्षिक निजी शैक्षिक संस्थाहरूमध्ये उत्कृष्ट शैक्षिक संस्थाको रूपमा शिक्षा मन्त्रालयबाट समेत पुरस्कृत भएको छ।