तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकालाई आधुनिक वारुण यन्त्र दमकल किन्न १० लाख आर्थिक साहयता गर्ने घोषणा गरेको छ।
बिहीबार वाणिज्य संघमा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा नयाँ मोटरसाइकल हस्तान्तरण गर्दै वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उपमहानगरपालिकालाई दमकल किन्न १० लाख आर्थिक साहयताको घोषणा गरेका हुन्।
‘उपमहानगरमा अहिले एउटा पुरानो बारुण यन्त्र छ र त्यो बिग्रिरहन्छ,’ अध्यक्ष केसीले भने, ‘उपमहानगरलाई आधुनिक वारुण यन्त्र किन्नका लागि वाणिज्य संघ दश लाख आर्थिक साहयताको घोषणा गर्दछ।’
वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तरगत आचार्य कुलमको योगा भवन निर्माणका लागि ५० हजार बढी, मानव आश्रम दाङको भवन निर्माण गर्न एक लाख ५५ हजार, अपाङ्ग संघ दाङलाई ११ हजार बढी आर्थिक साहयता गरिएको अध्यक्ष केसीले बताए।
वाणिज्य संघको अध्यक्षमा निर्वाचित भए लगत्तै कार्यसमिति बैठक मार्फत केसीले उपमहानगरलाई आधुनिक वारुण यन्त्र खरिदमा सघाउने उद्देश्यले दश लाख सहयोग गर्ने निर्णय गराइसकेका थिए।
वाणिज्य संघको निर्णयको तुलसीपुरका मेयर टीकाराम खड्काले स्वागत गर्दै तुलसीपुर बनाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए।
मेयर खड्काले तुलसीपुर बारे नकारात्मक टिप्पणी गर्ने तथा शान्ति सुरक्षाको बारेमा आशंका पैदा गर्नेहरूले छिटफुटका घटनालाई लिएर गलत प्रचारबाजी गरिरहेको भन्दै त्यस्ता अपराधिक गतिविधि निस्तेज पार्न साझा प्रयास जरुरी रहेको बताए्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले वाणिज्य संघले निशुल्क रुपमा नयाँ पल्सर मोटरसाइकल उपलब्ध गराउँदा प्रहरी थप उत्साहित भएको बताए।
‘प्रहरीसँग साधन स्रोतको अभाव छ,’ पोख्रेलले भने, ‘अब क्यूआरटीलाई गस्तिमा जान थप सजिलो हुनेछ।’