किष्ट शिक्षण अस्पतालले कलेजो क्यान्सरका दुई जना बिरामीको कलेजो प्रत्यारोपण गरेको छ।
शुक्रबार र शनिबार लगातार दुई जना बिरामीको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको किष्ट शिक्षण अस्पतालले जनाएको छ।
सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण अब किष्ट अस्पतालमा नियमित रुपमा हुन थालेको छ।
कलेजो क्यान्सर भई सिरोरिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आइसियुमा उपचार भइरहेको छ।
योसँगै किष्टले ७ वटा कलेजो प्रत्यारोपण गरिसकेको छ। निजी अस्पताल मध्ये यहाँ सबै भन्दा धेरैको कलेजो प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ।
कुनै बिरामीलाई कलेजो तथा मिर्गौला प्रत्यारोपण गराउनु परेमा यस अस्पतालमा सम्पर्कमा आएको दिनबाट १० दिन भित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पुरा गरी प्रत्यारोपण सम्पन्न गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ।
निजी अस्पताल मध्ये कलेजो र मिर्गौला प्रत्यारोपणको इजाजतपत्र लिई नियमित रुपमा प्रत्यारोपण यस किष्ट शिक्षण अस्पतालले गर्दै आइरहेको छ।