सहरी विकास मन्त्री प्रभु साहले संयुक्त राष्ट्रसंघ (यु एन)पार्कको अतिक्रमित जग्गा खाली गराउन पार्क विकास समितिलाई निर्देशन दिएका छन्। सहरको सौन्दर्य बढाउनुपर्ने पार्कमा घर टहरा तथा कवाडी राखिएको भन्दै मन्त्रीले तत्काल हटाएर योजना बनाउन समितिलाई निर्देशन दिएका हुन्।
काठमाडौं र ललितपुरको सीमानामा वागमतिको किनारामा पर्ने पार्कको जग्गा अतिक्रमण भएर निजी आवास, खेती तथा कवाडी थन्काइएको छ।
मन्त्री साहले आज समतिका पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर पार्कको सौन्दर्य बढाउने गरी योजनाबद्ध रुपमा कार्य गर्न निर्देशन दिएका छन्। उनले यसको लागि पार्कको जग्गामा भइरहेको अतिक्रमण हटाउनु पहिलो कार्य भएको स्पष्ट पारे।
समितिको आफ्नै स्वामित्वमा भएको जग्गा खाली गर्न नसक्ने खाली पत्रमात्र काटेर बस्ने समितिको कुनै औचित्य नभएको भन्दै मन्त्री साहले काम गर्न नसक्ने भए त्यही अनुसार जवाफ दिन समितका पदाधिकारीहरुलाई चेतावनी पनि दिए।
समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरी भने आफूले कसरी खाली गराउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको र खाली गराउन पत्र काटेको बताउछन्।