वीरगञ्ज महानगरपालिकामा प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापनका लागि १ करोड ९९ लाख रुपैयाँ लगानी गरिने भएको छ।
फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन लगानी गर्न लागिएको हो।
२७ असोज सोमबार वीरगञ्ज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि. बीच १ करोड ९९ लाख रुपैयाँ लगानी गर्नेबारे सम्झौता भएको छ।
सम्झौता पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्य नेपालको उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराउने रकमबाट वडा नं १६ स्थित महानगरको ल्याण्डफिल साइटमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर प्रशोधन प्लान्ट बनाइनेछ।
जिरो इनिसिएटिभ नेपालले पूर्वाधार निर्माण, मिल मेसिनरी खरिद र सञ्चालनमा खर्च गर्नेछ। उसले महानगर क्षेत्र भित्रबाट संकलित फोहोर वर्गीकरण गरी पुन: प्रयोग तथा प्रशोधन गर्नेछ। त्यसको व्यवस्थापन गर्ने दायित्व र त्यसबाट सिर्जित लाभ संस्थाकै हुने सम्झौतामा उल्लेख छ।
फोहोर उत्सर्जन, न्यूनीकरण, वर्गीकरण र फोहोर पुनः प्रयोग सम्बन्धी जनचेतना, तालिम तथा सरसफाइको दृष्टिले नमूना बस्ती विकासका लागि आवश्यक प्राविधिक सहयोग पनि संस्थाले गर्नेछ।
फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाई ल्याण्ड फिल साइटमा पुर्नु पर्ने फोहोरको मात्रामा न्यूनीकरण गर्ने र आवश्यक जनशक्ति छनोट गर्दा सम्भव भएसम्म स्थानीय नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने सम्झौतामा उल्लेख छ।
परियोजना सञ्चालनका लागि महानगरले ल्याण्ड फिल साइटभित्र एक विगाहा जमिन उपलब्ध गराउनेछ। उक्त जमिनमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर प्रशोधन गर्ने प्लान्ट निर्माण गरेर सञ्चालनमा ल्याउनेछ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वीरगञ्जजलाई फोहोरमुक्त र हरित सहर बनाउने दीर्घकालीन लक्ष्य पूरा गर्नका लागि यो कदम चालिएको बताए।
‘कुहिने फोहोर र स्वास्थ्य संस्थाजन्यको फोहोरको उचित व्यवस्थापन हुँदै आएको छ। प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन भइरहेको थिएन,’ उनले भने, ‘यो परियोजनाले प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्नेछ।’
महानगरपालिकाबाट संकलन गरिएको प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर 'रिसाइकल' गरेर दाना बनाउने कार्य प्लान्टमार्फत् हुने उनले बताए।
‘सूर्य नेपालले आर्थिक सहयोग मात्रै गर्ने हो, परियोजनाको सम्पूर्ण काम जिरो इनिसियटिभले गर्छ। महानगरले यसमा लगानी गर्नुपर्दैन,’ उनले भने, ‘१० वर्षको सम्झौता हो, त्यसपछि संस्थाले महानगरलाई प्लान्ट हस्तान्तरण गर्छ।’
स्थानीय बासिन्दाहरूबाट फोहोर संकलन, ढुवानी गर्ने कार्य महानगरले नै गर्नुपर्ने, संकलित फोहोर स्रोतबाट नै छुट्याएर अलग अलग गाडी वा अलग अलग दिनमा पुनः प्रशोधन गर्न मिल्ने र नमिल्ने छुट्याएर ल्याउनुपर्ने सर्त सम्झौतामा राखिएको छ।
सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले आफूहरूले समाज र वातावरण प्रतिको उत्तरदायित्व बहन गरेको जानकारी दिए।