‘कहीँ हिमालमात्रै छन् कहीँ ताल मात्र छन्।
कहीँ पहाडमात्रै छन् कहीँ मैदानमात्र छन्।।
कहीँ छन् छहरामात्रै कहीँ केवल पहरा
कहीँ नदीमात्रै बग्छन् कहीँ छन् खाली जंगल।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा।।'
कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भनेजस्तै पोखरा आफैंमा सबै किसिमले पूर्ण सहर हो।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको प्राकृतिक सौन्दर्यताको खानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले संघीय सरकारसँग माग गरिसकेका छन्।
स्वदेशमा मात्र नभई विदेशमा पनि चासो र चर्चा कमाएको पोखराको प्रमुख आकर्षण भनेको पर्यटन हो।
कोरोना कहरका कारण शिथिल अवस्थामा पुगेको पर्यटनको विकल्प केवल पर्यटन नै हो भन्ने आत्मविश्वासका कारण ठूलै मारमा परेका यहाँका व्यवसायी आशा र विश्वासका साथ पर्यटनमा निरन्तर लागेका छन्।
यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरेका थिए।
अधिकांशले कोरोनाविरूद्धको खोप लगाइसकेका अवस्थाका साथै पछिल्लो समयमा देखिएको पर्यटकको आगमनले पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्कने अपेक्षा गरिएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए।
‘आगामी दिनमा पर्यटन व्यवसाय पुनःफस्टाउने कुरामा हामी आशावादी छौँ’, उनले भने, ‘यसबीचमा छिमेकी मुलुक भारत र देशकै विभिन्न स्थानबाट आएका पर्यटकका कारण यहाँको सम्भावना अझै छ भन्ने आत्मविश्वास जगाएको छ।’
पोखरा दृश्यावलोकनसँगै साहसिक पर्यटनको पनि गन्तव्य हो । यहाँ सञ्चालन हुने प्याराग्लाइडिङ, बञ्जीजम्प, जीपलाइन आदिले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ।
पोखराको आकाशमा फेवातालमाथि हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ होस् या यहाँ वरपर सञ्चालन भएका बञ्जीजम्प, जीपलाइन, स्वीङ आदिले पर्यटकलाई निकै आकर्षित गरेको छ।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रूचि रहने गरेको छ।
पोखरामा नेपाली नयाँ वर्षका अवसरमा पनि आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिएको थियो।