चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार साउनबाट चैतसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका छन्।
एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटकले निकुञ्ज अवलोकन गरेको तिवारीले बताए।
नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा धेरै हो। चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए।
आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए।
'पछिल्ला १० वर्षमा २०७५/०७६ मा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए। त्यसपछि कोभिड–१९ को असर पर्यो। यस वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको छ,' तिवारीले भने, 'नौ महिनामा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या विगतमा वर्षभरिमा घुम्नेको संख्याभन्दा बढी छ।'
यस वर्ष धेरै आन्तरिक पर्यटकहरू निकुञ्ज प्रवेश गरेका छन्।
'विदेशी पर्यटकको संख्या बढेको छ तर कोभिड–१९ अघिको अवस्थामा अझै पुगेको छैन,' निकुञ्जको सौराहास्थित पूर्वी सेक्टर हेर्ने सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, 'आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दो क्रममा छ।'
निकुञ्जले यस आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ। निकुञ्जले संकलन गर्ने राजश्वको प्रमुख स्रोत पर्यटकबाट लिने राजश्व नै हो। गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो।
पछिल्ला दस वर्षमा सबैभन्दा बढी राजश्व आर्थिक वर्ष २०७५/०७६ मा संकलन भएको थियो। उक्त वर्ष २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ संकलन भएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले वन्यजन्तुको बासस्थान, घाँसेमैदान, सिमसार क्षेत्रको व्यवस्थापनले वन्यजन्तुको संख्या बढेको बताए। उनले निकुञ्जले संरक्षण र पर्यटनलाई सँगै अघि बढाउँदै आएको बताए।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने एकसिंगे गैंडा, बाटे बाघ, घडियाल गोही, गौरी गाई, चराहरूले पर्यटकलाई आकर्षण गर्ने गरेका छन्। पछिल्लो गणनाको तथ्यांकअनुसार यहाँ ६९४ वटा एकसिंगे गैंडा, १२८ वटा बाघ, ५४६ प्रजातिका चराहरू छन्। ७० प्रजाति स्तनधारी, ४९ प्रजाति सरीसृप र उभयचर, १२० प्रजातिका माछा यहाँ पाइन्छन्।
चितवन निकुञ्जभित्र ४० बढी प्राकृतिक ताल, दर्जनौं कृत्रिम ताल, घोल र पोखरीहरू छन्। रिउ, राप्ती र नारायणी नदी निकुञ्ज हुँदै बग्छन्।