वर्षौंदेखि सुकुम्वासीहरूले बस्ती बसाएका कारण बन्द भएको पर्सास्थित वन्यजन्तु सीमा वारपार गर्ने करिडोर ब्युँतिने भएको छ।
निर्मल उपभोक्ता समितिका सचिव रामबहादुर श्रेष्ठकाअनुसार सुकुम्वासी बस्ती हटाएर पार्क बनाएसँगै वन्यजन्तु करिडोर ब्युँतिने भएको हो।
‘मकवानपुरबाट आएर बसेका सुकुम्वासीलाई हटाएर बस्ती खाली बनाइयो। पार्क बनाउने भनेर वृक्षारोपण सुरू गरियो,’ सचिव श्रेष्ठले भने, ‘अब यो ठाउँ फेरि जंगल बन्दैछ।’
ठोरी गाउँपालिका–४ स्थित सिकारीबास खोलाबाट पूर्वतर्फको एक सय हेक्टर जमिनले भारतको वाल्मीकि टाइगर रिजर्व, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई जोड्छ।
हुलाकी राजमार्गबाट दक्षिणतर्फ करिब तीन किलोमिटर लम्बाई, आठ सय मिटर चौडाई रहेको पार्क अन्तर्राष्ट्रिय महत्वको रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेशप्रसाद तिवारीले बताए।
‘भारतको वाल्मीकि टाइगर रिजर्व, नेपालका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकै ठाउँमा जोड्ने ठाउँ यहीँमात्रै हो। यसले वन्यजन्तुलाई सीमा वारपार गर्न सहज बनाउँछ,’ तिवारीले भने, ‘सुकुम्वासीले बस्ती बसाएका कारण गरेको पार्क जीवित बनेसँगै जैविक मार्गमा परिणत भएको छ।’
यो क्षेत्र सुकुम्वासीले ओगटेपछि गरेपछि सिकारीबास खोलाको पश्चिमतर्फको करिब २ सयमिटर वनमात्रै वन्यजन्तुले उपयोग गर्न पाएका थिए। खोलादेखि पश्चिमतर्फको क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको हो।
‘त्यति थोरै क्षेत्र सीमा वारपारका लागि सहज थिएन। फिर्ता आएको एक सय हेक्टर जमिनलाई संरक्षण गरेपछि अहिले सिकारीबास खोला र चितवनतर्फको वनसमेत गरेर एक किलोमिटरभन्दा फराकिलो करिडोर बनेको छ,’ तिवारीले भने।
उपभोक्ता समिति सचिव श्रेष्ठका अनुसार यो क्षेत्रमा सन् २००२ सम्म घना जंगल थियो। त्यसपछि सुकुम्वासीले जंगल फडानी गरेर यहाँको जमिन कब्जा गरे। स्याउलाले बारेर घर टहरा बनाउन थाले। केही वर्षमा स्याउलीबास नामको गाउँ नै तयार भयो। सन् २००७ सम्ममा यहाँ करिब डेढ सय सुकुम्वासी परिवार बस्न थालेका थिए। उनीहरूले यो जमिन ओगटेर धान, मकै खेती पनि गरे। पर्सा राष्ट्रिय निकुञ्जले केही समय अघिदेखि यहाँको सुकुम्वासी बस्ती हटाएको थियो।
यो क्षेत्र निर्मल मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्छ।
उक्त समितिका अध्यक्ष चिनबहादुर श्रेष्ठले तारबार र वृक्षारोपण गरेर संरक्षण गरेपछि वन्यजन्तुको उपस्थिती बढेको बताए।
‘बाघ, हात्ती, चित्तल, जरायो हरिण, निलगाई यहाँ देखिन्छन्। सिकारीबास खोलाको पुल मुनीबाट नेपाल–भारत, भारत–नेपाल हिँडिरहेको देखिन्छन्। चितवन निकुञ्ज र पर्सा निकुञ्जमा ओहोरदोहोर गरिरहेको पनि देखिन्छ,’ अध्यक्ष श्रेष्ठले भने।
करिडोर पुरानो अवस्थामा फर्किएसँगै यस क्षेत्रमा वन र वन्यजन्तुमा आधारित पर्यटन विकासको संभावना बढेको अध्यक्ष श्रेष्ठले बताए। यहाँको संरक्षणका लागि तराई भू–परिधी कार्यक्रमले पनि सहयोग गर्दै आएको छ।
ठोरी–५ बाघमोर्चास्थित अरिया खोलालाई पनि वन्यजन्तु सीमा वारपार गर्ने करिडोरका रूपमा विकास गरिँदैछ।
आसपासमा बृक्षारोपण गरेर वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहज बनाइएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले बताए। यो करिडोरले भारतको वाल्मीकि टाइगर रिजर्वलाई नेपालको पर्सा राष्ट्रिय निकुञ्जसँग जोड्छ।
तस्बिर : राजेश घिमिरे/ सेतोपाटी