माउबाट एक्लिएपछि मान्छेको हेरचाहमा हुर्किएका एक सिंगे गैंडाहरू 'पुष्पा' र 'अञ्जली' मंगलबार कोशी पुग्दै छन्। उनीहरूलाई खोरमा हालेर ट्रकबाट मंगलबार कोशीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको हो।
पुष्पा र अन्जलीलाई अलग–अलग खोरमा राखेर कोशीतर्फ लगिएको छ। कोशी टप्पु आरक्षले यी दुईको स्वागत कार्यक्रम राखेको छ।
बुधबार औपचारिक कार्यक्रमपछि पुष्पा र अञ्जलीलाई आरक्षभित्रको इन्क्लोजर (ठूलो खोर) मा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। तत्काल गैंडा राख्नका लागि कोशीमा २५/३० मिटरको खोर बनाइएको छ। त्यहाँ घाँस र पानीको व्यवस्था गरिएको छ।
चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले कोशी पठाउनुअघि दुबै गैंडाको स्वास्थ्य अवस्थाको जाँच गरिएको बताए। दुबैको अवस्था राम्रो रहेकोले स्थानान्तरणका लागि योग्य रहेको उनले बताए।
टुहुरो अवस्थामा फेला परेपछि यी दुई केटाकेटीलाई उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा राखिएको थियो। त्यहाँका कर्मचारीले भैंसीको दूध र पालुवा घाँस खुवाएर उनीहरूलाई हुर्काएका थिए।
पुष्पा २०७६ पुस ५ गते नवलपुरको तमासपुरमा दलदलमा फसेको अवस्थामा भेटिएकी थिई। त्यतिखेर ऊ २ महिनाकी थिई। अञ्जलीको २०७७ सालको चैत १४ गते गैंडा गणनाकोक्रममा नवलपुरकै दिव्यपुरी क्षेत्रबाट उद्धार गरिएको हो। त्यतिखेर ऊ १ महिनाकी थिई। कोशी उनीहरूका लागि चौंथो बासस्थानको हो।
मान्छेको माया, ममतामा हुर्किएका उनीहरूलाई गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको लामितालमा छाडिएको थियो। तर मान्छेसँग नजिकिने बानी भइसकेका उनीहरू मानव बस्ती खोज्दै तारन्तार राप्ती वारि आउने गर्थे। कहिले कसरास्थित निकुञ्जको हेडक्वाटर क्षेत्रमा, कहिले राप्ती नदी तरेर पटिहानी क्षेत्रमा आउने गर्थे। उनीहरूलाई पुनः जंगलमा पुर्याउन छुट्टै कर्मचारी खटाउनु परेको थियो।
प्रमुख संरक्षण अधिकृत पुनले व्यवस्थापकीय रूपले पनि सहज हुने भएकाले स्थानान्तरणका लागि पुष्पा र अञ्जलीलाई रोजिएको बताए।
‘हामीले उनीहरूलाई उद्धार गरेर हुर्काएका हौं। जंगलमा छाडेपछि मान्छेसँग घुलमिल हुने बानी परेका उनीहरू मान्छेकै नजिक आउने गरेका थिए। बस्तीमा दुःख दिएका गुनासो पनि आउन थालेको थियो,’ पुनले भने, ‘केही समयमा प्राकृतिक बासस्थानमा रहने बानी पर्थ्यो होला। तर कोशीमा गैंडा स्थानान्तरण गर्ने भनेपछि अरूभन्दा यिनैलाई लैजाँदा राम्रो हुन्छ भन्ने प्राविधिक समूहको निष्कर्ष रह्यो।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिले २ वर्ष पहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडा रहन सक्ने नसक्ने विषयमा अध्ययन गरेको थियो। अध्ययनबाट गैंडाका लागि उपयुक्त देखिएपछि गत असोज ७ बसेको प्राविधिक समितिको बैठकले तत्कालका लागि २ वटा गैंडा स्थानान्तरण गर्न सिफारिस गरेको थियो। सोही सिफारिसलाई वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको पुनले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम निर्देशक डा.नरेश सुवेदीले कोशीमा पनि एक सिंगे गैंडाको वंश विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गर्न लागिएको बताए। तर यी दुबै गैंडा पोथी हुन्। पोथीमात्र लैजाँदा कसरी वंश विस्तार हुन्छ भन्ने प्रश्न भने संरक्षणकर्मीबाट उठिरहेको छ।
गैंडा विज्ञ सुवेदीकाअनुसार कोशीमा ५० वटासम्म गैंडा रहनसक्ने अध्ययनले देखाएको छ। यी पोथी गैंडा प्रजननका लागि योग्य भएपछि एउटा भाले गैंडा पनि पठाउने चितवन निकुञ्जको तयारी छ। पुष्पा अहिले ३ वर्ष ८ महिना र अञ्जली २ वर्ष ५ महिनाका भएका छन्। सामान्यतया पोथी ४ वर्षमा र भाले ६ वर्षमा प्रजननका लागि योग्य हुन्छन्।
उनले कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाको राम्रो बासस्थान रहेको बताए।
‘त्यहाँ गैंडाको लागि बासस्थान, पानी, घाँसेमैदान तयार भइसकेको छ। त्यसैले गैंडा स्थानान्तरण गर्दा वंश विस्तारमा सहयोग पुग्छ भनेर लैजान लागिएको हो,’ सुवेदीले भने, ‘प्राविधिकको अध्ययनले कोशी गैंडाको लागि उपयुक्त देखियो। अहिले लगेर खोरमै राखिए पनि विस्तारै जंगलमा छाड्न सकिन्छ।’
सुवेदीका अनुसार कोशीमा ४ सय वर्ष पहिलेसम्म गैंडा थिए। पछि हराए। अहिले बासस्थान तयार भएपछि पुन: गैंडा रहन सक्ने वातावरण बनेको हो।
‘चितवनमा गैंडाको संख्या ६९४ पुग्यो। यहाँको ठूलो संख्यालाई व्यवस्थापन गर्न पनि अन्यत्र स्थानान्तरण गर्दै जानुपर्छ,’ सुवेदीले भने, ‘जलवायु परिवर्तनको असर कहाँ कस्तो पर्दै जाने हो थाहा छैन। त्यसैले कुनै एक ठाउँमा मात्रै गैंडा पर्याप्त छन् भनेर ढुक्क हुने अवस्था छैन। बेलैमा वासस्थान विस्तार गर्नुपर्छ।’
चितवन निकुञ्जबाट यसअघि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण गरिएका थिए। संख्यात्मक हिसाबले हेर्दा त्यो स्थानान्तरण प्रभावकारी देखिँदैन। सन् १९८६ यता बर्दियामा ९१ वटा गैंडा स्थानान्तरण गरिएको छ। तर पछिल्लो गणनामा यहाँ ३८ वटामात्रै गैंडा भेटिएका थिए।
शुक्लाफाँटामा २०५८ सालयता ९ वटा गैंडा स्थानान्तरण गरिएको थियो। यहाँ अहिले १७ वटा गैंडा छन्। त्यतिखेर शुक्लाफाँटालाई गैंडा दिएर त्यहाँका बाह्रसिंगाहरू चितवन ल्याएको थियो। तर ती सबै बाह्रसिंगाहरू मरे।
नेपालले २६ वटा गैंडा विभिन्न देशलाई उपहार दिएको थियो।
‘संख्यात्मक हिसाबले हेर्दा स्थानान्तरण गरिएको संख्यामा गैंडा अहिले छैनन्। शुक्लाफाँटामा बढेको छ तर बर्दियामा घटेको छ। तर बर्दियामा पनि गैंडाले बच्चा जन्माएर हुर्काइरहेको हामी देख्न सक्छौं,’ सुवेदी भन्छन्, ‘संख्या बढाउने चुनौती त छ तर वंश विस्तारका लागि स्थानान्तरण गरेर संरक्षण त गर्नैपर्छ।’
पुनले कोशीमा गैंडा स्थानान्तरणलाई सिकाइका रूपमा पनि हेर्नुपर्ने बताए।
‘स्थानान्तरण गरेर नहेरी त्यहाँ गैंडा जोगाउन सकिन्छ कि सकिँदैन भन्न सकिन्न,’ उनी भन्छन्, ‘सुरूमा बाघलाई डार्ट गरेर समात्न नथालिएको भए अहिले त्यसो गर्न कहाँ जानिन्थ्यो र। यो त अध्ययन गर्दै जाने विषय हो।’
यसअघि २०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै कोशी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा अर्नाहरू चितवन निकुञ्जमा ल्याइएको थियो। तिनीहरूलाई पुरानो पदमपुरमा इन्क्लोजर बनाएर राखियो। तर ती अर्ना बाघले खाएर, बाढीमा बगेर, रोग लागेर मरे।
कोशीबाट अर्ना ल्याउँदा चितवन निकुञ्जले पनि गैंडा कोशीलाई दिने प्रतिबद्धता गरिएको थियो। पुनले चितवन निकुञ्जले ५ जोडी गैंडा कोशीलाई दिने प्रतिबद्धता जनाएको बताए।