भरतपुर भ्रमण वर्ष–२०२४ लाई लक्षित गरेर भरतपुर महानगरपालिकाले सरसफाइ तथा वृक्षारोपण महाअभियान प्रारम्भ गरेको छ। भरतपुरलाई सफा तथा हरित महानगरपालिका बनाउने उद्देश्यले सबै वडाहरूमा नियमित सरसफाइ र वृक्षारोपण गर्न थालिएको मेयर रेनु दाहालले बताइन्।
दुई हप्ता अघिदेखि सुरू भएको महाअभियानमा हरेक महिनाको दुईवटा शुक्रबार मेयर आफैं सरसफाइमा सहभागी भएकी छन्। मेयरसँगै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा जनप्रतिनिधिहरू पनि सरसफाइमा जुट्ने गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सरसफाइ अभियान्ता तथा टोल विकास संस्था, आमा समूहहरूसँगको सहकार्यमा सफा र सुन्दर महानगर बनाउन लागिपरेको मेयर दाहालले बताइन्।
महानगरको अगुवाईमा १६ मिटर र त्यो भन्दा बढी चौडाईका सडक क्षेत्रको सरसफाइ तथा दुई छेउमा वृक्षारोपण गरिएको छ। १६ मिटर भन्दा कम चौडाईका सडकमा सम्बन्धित वडा तथा टोलविकास संस्थाहरूले अगुवाई गर्ने गरेका छन्।
मेयर दाहालले हरित महानगर निर्माणका लागि यस वर्ष ५ करोड रूपैयाँ बजेट छुट्टाइएको बताइन्। ‘हामी महानगरका सबै सडकलाई सुन्दर र हरियाली बनाउँदैछौं,’ उनले भनिन्, ‘भरतपुर आउने पर्यटक यहाँको विकासमात्रै नभएर सफा वातावरण पनि हेरेर प्रभावित बनुन् भन्ने हाम्रो चाहना छ।’ यो वर्षभरीमा महानगरमा १ लाख भन्दा बढी बिरूवा रोप्ने लक्ष्य महानगरको छ। रोपिएका बिरूवाको महानगर र स्थानीयवासी मिलर संरक्षण गर्ने दाहालले बताइन्।
उनले घर निर्माण गर्दा दुईवटा रूख हुर्काउने गरी बिरूवा रोप्नुपर्ने नियम ल्याइएको बताइन्। ‘हाम्रो लक्ष्य त हरेक सडक छेउका घरहरूमा एउटै रंग लगाउने छ। यसका लागि हामीले टोलहरूलाई अनुरोध गरेका छौं,’ दाहालले भनिन्, ‘यो अभियानले शहरलाई सुन्दर बनाउँछ।’
भरतपुर भ्रमण वर्ष–२०२४ का लागि महानगरले पर्यटकीय गन्तव्यहरू तोकेको छ। ती गन्तव्य र त्यहाँसम्म पुग्ने सडकलाई सफा र सुन्दर बनाउने, समग्र महानगरलाई स्मार्ट सिटीकारूपमा विकास गर्ने लक्ष्य राखिएको मेयर दाहालले बताइन्।
भरतपुरस्थित पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्रङ सडकलाई सन् २०२३ भित्रमै धुलोरहीत बनाउन पहल भइरहेको महानगरले जनाएको छ। दाहालले अन्य जीर्ण सडकहरूलाई पनि मर्मत सम्भार गरेर यातायातका लागि सहज बनाउने बताइन्।
‘महानगरपालिकालाई खाल्डाखुल्डी रहीत सडक बनाउने लक्ष्य हाम्रो छ। छ लेन सडक निर्माणमा ढिलो भइरहेको गुनासो छ, हामीले भ्रमण वर्ष सुरू हुनुअघि कम्तीमा धुलोरहीत बनाउन आग्रह गरेका छौं,’ दाहालले भनिन्, ‘सन् २०२४ मा भरतपुर घुम्न आउने पर्यटकलाई हामी यहाँको विकास, समृद्धि, सुन्दरता देखाउन चाहन्छौं।’
महानगरको अभियानलाई विभिन्न वडाहरूले पनि साथ दिएका छन्। वडा नम्बर २३ ले सन् २०२३ मा २३ दिन २३ ठाउँमा सरसफाइ अभियान चलाउने कार्यक्रम चलाइरहेको छ। यो वडा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। वडाध्यक्ष दिपक दवाडीले पर्यापर्यटनमा फोहोरको असर हुन नदिन सरसफाइ अभियान सञ्चालन गरिएको बताए।
‘चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्न बर्सेनि हजारौं विदेशी पर्यटक आउँछन्। तर विभिन्न ठाउँबाट बगेर आउने फोहोरले निकुञ्जको वन र यहाँ रहेका वन्यजन्तुलाई असर परिरहेको छ,’ दवाडीले भने, ‘नदी आसपासमा फोहोर नफाल्न अनुरोध गर्ने, भएका फोहोरहरू हटाउने, फोहोरका कारण मानव र वन्यजन्तुको स्वास्थ्यमा पर्ने असरको विषयमा बुझाउने काम अहिले गरिरहेका छौं।’ आफ्नो क्षेत्रको सरसफाइ राम्रोसँग गर्नेलाई पुरस्कार र फोहोर गर्नेलाई दण्डको कार्यविधि नै बनाएर अभियान सुरू गरेको दवाडीले बताए।
लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदी र आसपासको क्षेत्रमा सरसफाइको अभियान चलाइरहेका राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले महानगरभित्रको सरसफाइसँगै यहाँबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए। उनले पर्यापर्यटनलाई जोगाउन नदी र वन क्षेत्रमा फोहोर विसर्जन गर्न नहुने बताए।
‘नारायणी र राप्ती नदीमा फालिने फोहोरले वन्यजन्तुमा ठूलो असर परिरहेको छ। यहाँ फोहोर फाल्नु हुँदैन। फाल्यो भने यसले पर्यावरणमा ठूलो असर गर्छ भन्ने विषयमा जनचेतना अभियानलाई व्यापक पार्नु आवश्यक छ,’ घिमिरे भन्छन्, ‘पर्यटकहरू यहाँको सरसफाइ र सुन्दरताले मोहित पार्न सकियो भने यसको फाइदा सबैलाई हुन्छ।’