के तपाईं सौराहा पुग्नुभएको छ? पुग्नुभएको छ भने हात्ती, जिप वा डुंगामा सयर गरेर जंगल घुम्नुभयो होला!
सौराहा पुग्ने धेरै पर्यटकको चाहना जंगल घुम्ने हुन्छ। धेरैले हात्ती, जिप वा डुंगा चढेर जंगल घुम्छन्। कोही हिँडेर (जंगल वाक गरेर) पनि जंगल घुम्छन्।
सौराहा पुगेका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जभित्र, कुमरोज समुदायिक वन, बिसहजारी ताल आसपासको बरण्डाभार क्षेत्रमा जिप सफारी गराइन्छ। बाघमारा वनमा हात्ती, डुंगा सफारी गराइन्छ।
कुमरोज सामुदायिक वनमा दैनिक एक सय बढी जिप सफारी हुने गरेको छ। यदि तपाईंले यो वनमा जिप सफारी गर्नुभएको छ भने वन प्रवेश गरेको केही बेरमा एउटा फुच्चे हात्तीको दर्शन अवश्य पाउनुभयो होला। त्यो हात्तीको आशीर्वाद पनि लिनुभयो होला। अनि उसलाई दक्षिणा पनि चढाउनुभयो होला।
५ वर्षको यो पोथी हात्तीको नाम रुद्रकली हो। चितवन राष्ट्रिय निकुञ्जको इचर्नी र जनकपुर पोष्टको बीचतिर भेटिने यो हात्तीले दैनिक हजारौं रुपैयाँ कमाउने गरेको छ।
हिन्दु धर्मको स्वस्थानी कथामा हात्तीले माला लगाइदिएका नवराज ब्राम्हण लावण्य देशका राजा बन्छन्। हिन्दु धर्मका ग्रन्थहरूमा हात्तीलाई गणेश भगवानको अवतार भनेर उल्लेख गरिएको छ। त्यसैले पनि हुनसक्छ मान्छेहरू हात्तीको आशीर्वाद लिन लालयित हुने गर्छन्।
सफारी रूटको आडमा रुद्रकलीलाई देखेपछि प्रायःले उसलाई आशीर्वाद दिने हात्ती भनेर चिन्छन्। उसलाई देखेपछि गाडीका चालकले ब्रेक दबाउँछन्। अनि माउतेले हात्तीलाई गाडीतर्फ बढाउँछन्। उनको संकेतअनुसार हात्तीले सुँड मान्छेतिर लम्काउँछ। पर्यटकहरू हात्तीलाई पैसा दिन तछाडमछाड गर्छन्। ऊ सुँडले टिपेको पैसा माउतेलाई थमाउँछ।
हात्ती माउतेको इशाराअनुसार पालैपालो पैसा लिँदै सुँड मान्छेको टाउकोमा राखेर आशीर्वाद दिन्छ। पर्यटक फोटो खिचाउँछन्। खुसी भएर फर्कन्छन्। दिनभरको आम्दानी संकलन गरेर माउते हात्तीसार फर्कन्छ।
तर जंगल घुम्न आएका पर्यटकलाई आशीर्वाद दिएर भएको त्यति धेरै आम्दानी कहाँ जान्छ होला? मैले यो प्रश्न चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीलाई सोधेको थिएँ। उनले जंगलमा पर्यटकलाई आशीर्वाद दिएर पैसा लिने निकुञ्जको कुनै कार्यक्रम नरहेको बताए। उनले आफूलाई जंगलभित्र हात्तीले पैसा संकलन गर्ने गरेको बारेमा जानकारी नभएको बताए।
‘यदि त्यस्तो भएको छ भने त्यो पैसा माउते आफैंले राखेको होला। पैसा संकलन गरेर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छैन,’ तिवारीले भने, ‘यो गर्न हुने काम होइन। हामी यस विषयमा जानकारी लिन्छौं।’
जिप सफारीमा सहभागी नेचर गाइडहरूकाअनुसार रुद्रकलीमार्फत माउतेले दैनिक हजारौं रुपैयाँ संकलन गर्ने गरेका छन्।
‘कुनै गाडीबाट त एक हजार रुपैयाँसम्म संकलन गरेको पनि देखिएको छ। दैनिक एक सय बढी जिप चल्ने रूटमा उसले कति रुपैयाँ संकलन गर्छ होला?,’ एक नेचर गाइडले भने, ‘माउतेले मात्रै चाहेर त यो काम भइरहेको छैन जस्तो लाग्छ।’
नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष अनिलकुमार गुरूङ पहिले हात्ती नदेखेका पर्यटकहरू हात्तीका हरेक गतिविधि देखेर उत्साहित हुने गरेको बताउँछन्।
‘हात्तीले माला लगाइदिन्छ, टाउकोमा सुँड राखेर आशीर्वाद दिन्छ भनेपछि उनीहरू उत्साहित हुन्छन्,’ गुरूङले भने, ‘खुसी भएर जति पनि पैसा दिने पर्यटकहरू देखेको छु।’
उनले नियमित नभई चर्नेक्रममा रूट आसपासमा पुगेको बेलामा आशीर्वाद दिएर पैसा लिएको हुनसक्ने बताए।
भरतपुर–६ घर भएका विकास खनालले यो वर्ष तीन पटक जिप सफारी गर्दा तीनै पटक पैसा लिएर आशीर्वाद दिइरहेको अवस्थामा यो हात्तीलाई देखेको सुनाए।
‘मैले तीनै पटक पचास रुपैयाँ दिएर आशीर्वाद लिएको छु,’ उनले भने, ‘सबैले लिएपछि आफूलाई पनि लिउँलिउँ लाग्यो।’
रुद्रकली पूजाकलीकी छोरी हो। ऊ २०७५ सालको असोज २३ गते जन्मिएकी थिई। हात्ती प्रजनन् केन्द्र खोरसोरको विवरणमा रुद्रकली, पूजाकली र रोनाल्डो नामको जंगली भाले हात्तीको संसर्गबाट जन्मिएको उल्लेख छ। रुद्रकलीका हिमानीकली, दमदमीकली नामका दुई दिदी, टेकगज र खोरसोर गज नामका दुई दाइहरू छन्।
कुमरोज सामुदायिक वनमा दैनिक जिप सफारीबाट मात्रै दैनिक ५ सयदेखि १५ सयसम्म पर्यटकहरू प्रवेश गर्छन्। यहाँ दैनिक ४० देखि १०० भन्दा बढी जिप सफारी हुने गरेको छ। ७० भन्दा बढी जिपहरू यो वनमा सफारी गर्न पाउनेगरी दर्ता भएका छन्। एउटा जिपले ११ जनासम्म पर्यटक बोक्न पाउँछ।