बुधबार सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना भएपछि उद्धार कार्यमा ढिलाइ भएको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ।
विमानस्थलमै रहेको दमकलहरू जहाजमा लागेको आगो निभाउन ११ मिनेटपछि मात्र पुगेको, यात्रुको उद्धार गर्न उद्धारकर्ताहरू आधा घन्टापछि मात्र पुगेको भन्दै आलोचना भएको छ।
के साँच्चै आमसञ्चार र सामाजिक सञ्जालमा आलोचना भएजस्तो उद्धारमा ढिलाइ भएको हो? समयमै उद्धार भएको भए थप यात्रुको ज्यान जोगाउन सकिन्थ्यो?
हामीले यसबारे सरोकारवाला निकायहरूसँग कुरा गरेका छौं। उद्धारमा खटिएका सेना-प्रहरीसँग कुरा गरेका छौं। विमानस्थलमा यस्तो यस्तो सम्भावित दुर्घटनामा तुरून्तै काम गर्न के कस्तो व्यवस्था हुन्छ भनेर हेरेका छौं।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सौर्यको जहाज बुधबार रनवेबाट ११ बजेर ११ मिनेट जाँदा उडेको थियो। उडेको २७-२८ सेकेन्डमै जहाज चार सय फिटजति माथि पुगेको थियो। जहाज एक्कासि अनियन्त्रित भयो र ११ बजेर १२ मिनेटसम्ममा विमानस्थलभित्रै घाँसे मैदानमा बजारियो।
जहाज मैदानबाट घिस्रिँदै र आगो लागेको अवस्थामा विमानस्थल परिसरभन्दा बाहिर पुग्यो।
'जहाँ घिस्रिँदै कन्टेनरमा ठोक्कियो र खाल्डोमा खसेर आगो लाग्यो,' भूलले भने, 'उडेदेखि दुर्घटना हुँदासम्म करिब ३०-४० सेकेन्ड मात्रै लागेको देखिन्छ।'
विमानस्थलमा कुनै पनि दुर्घटना वा आपतकालीन अवस्था आइपरेमा के गर्ने भन्नेबारे प्रक्रिया तय गरिएको हुन्छ। त्यसलाई विमानस्थल आपतकालीन योजना (एयरपोर्ट इमर्जेन्सी प्लान-एइपी) भनिन्छ।
विमान वा विमानस्थलमा आगलागी वा कुनै दुर्घटना भए के गर्ने भन्ने सविस्तार प्रक्रिया यसमा उल्लेख गरिएको उनले बताए।
'सो योजनामा दुर्घटनालाई अलर्ट १, अलर्ट २, अलर्ट ३ भनेर वर्गीकरण गरिएको छ। एयरपोर्ट परिसरको ३ किलोमिटरभित्र हुने दुर्घटना अलर्ट १ हो,' भूलले सेतोपाटीसँग भने, 'हिजो (सौर्य) को दुर्घटना अलर्ट १ मा पर्छ।'
विमानस्थल परिसरको दुर्घटनामा उद्धारको काम मुख्य प्राथमिकतामा रहने उनले बताए।
उद्धार योजनामा विमानस्थलमा चौबीसै घन्टा पाँचदेखि ६ वटा दमकल स्ट्यान्डबाइ अवस्थामा राख्नुपर्ने नियम छ। दमकलको यो सुरक्षा व्यवस्थाको स्तरलाई 'फायर क्याटगोरी-९' भनिन्छ।
कुनै कारणवश दमकलको संख्या कम भएमा जति दमकल छन्, तिनको क्षमताका आधारमा मात्र जहाज उडान र अवतरण हुने व्यवस्था मिलाइन्छ। दमकलको कार्य क्षमताभन्दा धेरै वा ठूला जहाज सञ्चालन गर्न नमिल्ने भूलले बताए।
बुधबार दुर्घटना भएपछि अग्नि नियन्त्रण गर्ने दमकल घटनास्थल पुग्न ११ मिनेट लागेको भन्ने आरोपको भूलले खण्डन गरे।
'आगलागी हुनेबित्तिकै हाम्रो दमकल पुगेको थियो। विमान खसेको दुई मिनेटभन्दा कम समयमै दमकल घटनास्थलमा पुगेर काम थालेको थियो। ११:१५ बजे त उद्धारकर्तासहित हामी नै त्यहाँ पुगिसकेका थियौं। तर इन्जिनमा आगो लागिरहेको अवस्थामा उद्धारकर्ता जहाज नजिक जान मिल्दैन। जहाजको आगो निभाउन दमकलले फोम हाल्नुपर्ने हुन्छ र निभाउन पनि समय लाग्छ,' उनले भने।
आगो पूरै निभिसक्न बीस-बाइस मिनेट लागेको पनि भूलले जानकारी दिए।
जहाजमा लाग्ने आगो र अन्त लाग्ने आगोको फरक प्रकृति बुझ्नुपर्ने उनले बताए।
'जहाजमा हालिने इन्धन गाडीमा हाल्नेभन्दा धेरै प्रज्वलनशील हुन्छ। जहाजको आगो निभाउन दक्ष र तालिम प्राप्त जनशक्ति चाहिन्छ। स्थानीयबासी वा अन्य कसैले पानी/माटो हालेर निभाउन मुस्किल हुन्छ,' उनले भने।
आगो लागिरहँदा उद्धार कार्य गर्न पनि नमिल्ने उनले बताए।
'ह्वारह्वार आगो बलिरहेका बेला उद्धार काम गर्न जाँदा अर्को दुर्घटना निम्तिने सम्भावना उच्च हुन्छ। जहाजको आगो निभाउनु नै उद्धारको पहिलो काम हो। त्यसपछि मात्र अरू काम सुरू हुन्छ,' सूचना अधिकारी भूलले भने।
आगो नियन्त्रणमा लिइसकेपछि यात्रुहरूको उद्धार काम सुरू भएको हो।
घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टिम पुगेको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बललाई ११:१४ बजे खबर आएको थियो। ११:२० बजे नजिकै सिनामंगलमा रहेको नम्बर २० विपद उद्धार उपत्यका गण र बंगलामुखी विशेष कार्यदल गणबाट २०२ जनाको टोली पुगेको थियो। उद्धार काम सकेर पौने ३ बजेतिर उक्त टोली फर्किएको उनले बताए।
त्यस्तै नजिकै रहेको नेपाल प्रहरीको टोली पनि घटनाको केही बेरमै पुगेको थियो।
सेनाको टिम पनि दुर्घटनालगत्तै सक्रिय भएको थियो। नेपाली सेनाका अनुसार दुर्घटनापछि एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल (इओडी) युनिटबाट प्रमुख सेनानी रामज्योति बोहराको कमान्डमा सात जनाको टोली स्रोतसाधनसहित घटनास्थलमा पुगेको थियो। उक्त फौजले जहाजको मुख्य भागतर्फ केन्द्रित रहेर उद्धारको काम अघि बढायो।
सेनाका अनुसार जहाज दुई टुक्रा भएको थियो। कन्टेनरमा ठोक्किएको जहाजको ककपिट कन्टेनरसँगै थियो भने पछाडिको भाग केही मिटर पर थियो। सेनाको टोली पुगेको पाँच मिनेट मात्र भएको थियो, उनीहरूले ककपिटबाट मान्छेले इसारा गरेको देखे। यसपछि सेनाले हेर्दा रगताम्मे अवस्थामा क्याप्टेन मनीष शाक्यलाई फेला पारेको थियो। शाक्य बोल्न सक्ने तर आत्तिएको अवस्थामा थिए। उनलाई विमानस्थलमै रहेको फायर ब्रिगेडको एम्बुलेन्समा राखेर काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो।
क्याप्टेन शाक्य कसरी जोगिन सके भनेर प्राधिकरणका सूचना अधिकारी भूलले पनि विस्तारमा बताए।
'जहाज कन्टेनरमा ठोक्किएपछि आगो सुरू भएको हो। जहाजको दायाँतिरको भाग कन्टेनरमा ठोक्किएको थियो जहाँ कोपाइलट बस्छन्। क्याप्टेन शाक्य बायाँतिर बसेका थिए,' भूलले भने, 'उनी भएतिर ठोक्किएन र ककपिट पनि जहाजबाट छुट्टियो। त्यसैले उनलाई आगोले भेटेन र बाँचे।'
जहाजको इन्जिनमा भने आगो लागेकाले अरू कसैलाई जोगाउन नसकिएको उनले बताए।
यी सबैका बाबजुद विमानस्थलको केही संरचनागत पाटोमा केही कमजोरी भएको प्राधिकरणका सूचना अधिकारी भूलले स्वीकार गरेका छन्।
जहाज घाँसे मैदानमा घिस्रिएर खाल्डोजस्तो ठाउँमा खसेको थियो। विमानस्थल भित्रका केही दमकल तत्कालै भित्रबाटै खाल्डो नजिक पुगेर आगो निभाउन थाले। तर वरिपरि घेरिएर आगो निभाउन खाल्डोमुनि दमकल जान सकेन। त्यसैले केही दमकललाई घुमाएर तल झारियो र आगो निभाउन थालियो। स्थानीय तहहरूबाट आएका अरू दमकल पनि विमानस्थल परिसर घेरिएको तारजाली काटेर भित्र छिराइयो।
यस्तै आपतकालीन अवस्थामा सहज होस् भन्नका लागि विमानस्थलमा जहाँबाट पनि आपतकालीन सवारीसाधन जाने सक्ने संरचना बनाउनुपर्ने भूलले बताए।
'अरू दमकल घुमेर पछाडिबाट गए। विमानस्थल वरिपरिका हरेक प्वाइन्टबाट सवारीसाधन छिर्ने बनाउनुपर्छ। त्यो विमानस्थलले हेर्नुपर्ने पाटो हो,' भूलले भने, 'तर अहिले बाहिर भनेझैं आधा घन्टापछि दमकल गयो भन्ने चाहिँ भ्रम फैलाइएको हो। हामी नै दुई मिनेटमा पुगिसकेका थियौं भने, आपतकालीन दमकल आधा घन्टापछि मात्रै पुग्यो भन्न मिल्दैन।'
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी डम्बर विकले पनि घटनामा उद्धार गर्ने काममा कुनै कमजोरी नभएको बताए। सुरूमा भित्रबाटै आगो निभाउने प्रयास गरिएको र पछि सडक छेउबाट तारजाली काटेर पनि दमकल प्रवेश गराइएको उनले बताए।
घटनापछि सरकारले बुधबारै रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको छ। यस समितिले ४५ दिनमा प्रतिवेदन बुझाउन पर्नेछ। सदस्यहरू नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कन्ट्रोल अफिसर मुकेश डंगोल छन्।