नेपाल वायु सेवा निगमका कर्मचारीहरूले प्रदर्शन गरेका छन्।
सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालय प्रवेश गर्दा कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।
कर्मचारीहरूले आफूहरूमाथि अन्याय र विभेद भएको बताउँदै निगम परिसरमा व्यवस्थापनविरूद्ध प्रदर्शन गरेका हुन्।
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो।
उक्त आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि देखिएको थियो।
निगमभित्रका १७२ जना क्याविन क्रु (एयरहोस्टेज) अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए।
कर्मचारीहरूले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि भेटेर भेदभाव रोक्न पहल गरिदिन भनेका थिए।