हिमाल खुलेको थियो। आकाश नीलो थियो। मुस्ताङको टुकुचे पिक (६९२० मिटर) चढ्न गएको टोली करिब पाँच हजार मिटरमाथि हाइक्याम्पमा पुगेको थियो।
मौसम बिग्रिने कुनै संकेत थिएन। भोलिपल्ट समिट (चुचुरो) टेकिनेवाला थियो।
अचानक रूसी आरोही युरी रोडिचेभले आरोहण त्यागेर फर्किने कुरा गरे। उनले टुकुचे पिकको चुचुरोमा पुग्ने सम्भावना नरहेको बताए। बलजफ्ती गरेमा नेपाली सहयोगीहरूको पनि ज्यान जाने चेतावनी उनले दिए।
मानव बस्तीबाट धेरै माथि, हिमालमा पुगेर लक्ष्य पूरा नगरी फर्किने कुराले अरू आरोही रिसाए। नेपाली सहयोगी पनि रिसाए।
युरीका कुरा सुनेर हिमालको कठिनाइबाट हैरानी पाएकाहरू खुसी भए होला तर टुकुचे पिक चढ्ने सपना देखेकाहरू दुःखी भए।
यो घटना हो सन् २००५ अप्रिलको। आरोहण दलमा युरीसहित चारजना रसियाली र दुईजना फ्रन्सेली थिए। भान्से, भरिया र पर्वतारोहण गाइड गरी १९ जना नेपाली पनि हिमालमै थिए।
युरीले आरोहण दललाई आश्वस्त पार्ने प्रयास गरे, 'हेर! यहाँभन्दा एक स्टेप माथि गयौं भने हामी मर्छौं, जानु हुन्न। सबै भूमिदेवताले मलाई फर्किनू भने। हामी जबर्जस्ती माथि गयौं भने हामी मात्र होइन, नेपाली पनि मर्छन्।'
युरीको जिद्दीका सामु अरूको केही सीप लागेन। सबैजना चुचुरो नचुमी हाइक्याम्पबाट फर्किन राजी भए। उनीहरू करिब चार हजार मिटर उचाइको लो क्याम्प झरे। त्यहाँ खाना खाएर टेन्टमा सुते। खुला आकाशमा तारा चम्किएकै थिए। हिमाल हाँसेकै थिए।
भोलिपल्ट बिहान उठ्दा मौसम हिजोको जस्तो थिएन। हिमाल देखिएन। आकाश धुम्म भयो। आँधी चल्न थाल्यो, हिउँको आँधी। बाटो देखिन छाड्यो। उनीहरू हिमालमा कुहिरोका कागझैं भए। फर्किने बाटो नै देखिएन।
आरोहण दलका भान्से, गाइड र आरोही अलगअलग बसेका थिए। उनीहरूले एक अर्कालाई समेत देख्न सकेनन्। एउटा समूहले अर्को समूह भेट्न सकेन, आपसमा हराए।
हिमआँधीमा फसेर उनीहरू तीन दिन हराए। खाना बनाउने समूह पनि भेटिएन। एउटा समूहले अर्कोलाई खोज्दैमा तीन दिन बित्यो। मान्छे उडाउने जस्तो हिमआँधीमा उनीहरू हिँड्न सक्ने कुरै भएन।
त्यो आरोही टोलीलाई टुकुचे पिक आरोहण गराउने जिम्मा काठमाडौंको फ्रेन्ड्स एड्भेन्चर ट्रिप कम्पनीले लिएको थियो। कम्पनीका सञ्चालक कर्ण लामा पनि टोलीमै थिए।
लामाले केहीदिन अघि सेतोपाटीसँग भने, 'त्यो घटना सम्झिँदा त मरेर बाँचेको जस्तो लाग्छ।'
२०७२ वैशाखमा लाङटाङ-गोसाइँकुण्ड पदयात्रामा जाँदा पनि युरीले त्यसरी नै रहस्यमयी कुरा गरे।
गन्तव्यमा नपुग्दै उनले भने, 'हामी छिटो फर्कौं, भित्रभित्रै केही खराब हुँदैछ।'
पदयात्रा टोलीमा रहेका अन्य सदस्यले उनको कुरा पत्याएनन्। पत्याउनुपर्ने जस्तो पनि थिएन। युरीले चाहिँ भित्रभित्रै जमिनको आवाज सुन्न लगाएका थिए।
'जमिनभित्र केही हुँदैछ। राम्ररी आवाज सुन त,' युरीले भनेका थिए, 'अब एक पाइला पनि अगाडि बढाउनु हुँदैन, छिटो फर्किनुपर्छ।'
गोसाइँकुण्डमा पनि युरीका सामु अरूको केही सीप लागेन। सबैजना हतार गर्दै फर्किए। यसरी फर्के कि मानौं, कुनै ठूलो अनिष्ट हुँदैछ। उनीहरू सरासर काठमाडौं फर्किए।
यात्रामा त्यति बेला युरीकी श्रीमती आन्ना मकारोवा पनि थिइन्। स्वदेश फर्किने टिकट पहिले नै बुक थियो। काठमाडौं पुगेपछि टिकटमा जनही तीन सय डलर बढी तिरेर तुरून्तै स्वदेश फर्किए।
उनीहरू हतार गरेर स्वदेश फर्किएको दिन २०७२ वैशाख ९ गते थियो। त्यसको तीनदिन पछि १२ गते नेपालमा भूकम्प आयो।
फोटोग्राफर युरीको हिमाल आरोहणको मुख्य उद्देश्य पनि फोटो (तस्बिर) खिच्नु नै हो। उनले १४ वर्षकै उमेरमा फोटो खिच्न थालेका हुन्। व्यावसायिक रूपमा लागेको चाहिँ त्यसको ५० वर्षपछि ६४ वर्षको उमेरमा हो। पहिले इलेक्ट्रिक इन्जिनियर रहेका उनी जागिरबाट अकाश पाएपछि व्यावसायिक फोटोग्राफीमा लागेका हुन्।
यसरी लाग्नुअघि उनले रूसकै फोटोग्राफर एवं कलाकार निकोलस रोरिकालाई भेटेका थिए। निकोलस बुढेसकालमा पनि फोटो खिच्ने र चित्र बनाउने काममा लागेको देखेर युरीले आफू पनि फोटोग्राफीमा लाग्ने निर्णय गरेका थिए।
अवकाश पाएर ६४ वर्षको उमेरमा युरी पहिलोपटक २००३ मार्चमा हिमालको फोटो खिच्ने उद्देश्यले नेपाल आएका थिए। पहिलोपटक नेपाल आएको दुई दशकपछि उनले सेतोपाटीसँग हिमाल प्रेमको आफ्नो कहानी सुनाएका हुन्।
पहिलोपटक नेपाल आउँदा उनको टोलीले ६४७६ मिटर अग्लो मेरापिक आरोहण गरेको थियो। त्यस बेला आएका साथीहरू कताकता पुगे, छुटिसके। उनी चाहिँ नेपालका हिमालसँग छुट्टिन सकेनन्। हालसम्ममा उनी नेपाल आएको ३२ पटक भयो।
'६४ वर्षको उमेरमा पहिलोपटक नेपाल आएर मेरापिक चढेँ, त्यसपछि अरू हिमालको पनि फोटो खिच्न नेपाल आउने गरेको छु,' युरीले केही दिनअघि सेतोपाटीसँग भने, '२० वर्षमा म ३२ पटक नेपाल आइसकेँ।'
युरी अंग्रेजी भाषा राम्ररी बोल्न जान्दैनन्, रूसी भाषामा बोल्छन्। श्रीमती आन्ना र उनका साथीहरू अंग्रेजीमा अनुवाद गरिदिन्छन्।
पटकपटक नेपाल आएर फोटो खिच्न हिमाल धाइरहेका युरीले नेपालका अधिकांश हिमालका फोटा खिचेका छन्। सगरमाथाको फोटो नेपाली भूमिबाट खिचे। उत्तरतिरबाट पनि खिच्न तिब्बत गए।
तिब्बत त गए तर मौसम सफा भएन। दुई साता बसेपछि मात्र मौसम खुल्यो। उनले तिब्बतको ७ हजार ४५ मिटर अग्लो लाक्पारी हिमालबाट सगरमाथाको फोटो खिचे। त्यो क्षण उनका लागि बिर्सिनसक्नुको भयो।
'मौसम बिग्रिएर हिमाल देखिएन। सगरमाथाको उत्तरी मोहोडा खिच्न दुई साता (तिब्बत) बसेपछि मात्र मौसम सफा भयो,' उनले भने, 'लाक्पारी हिमालबाट मैले सगरमाथाको उत्तरी मोहोडा खिचेँ। त्यो क्षण निकै आनन्ददायक थियो।'
हिमालको तस्बिर खिच्न उपल्लो मुस्ताङको लोमान्थाङबाट सरिबुङ पास भएर मनाङ पुग्न लगातार २४ घण्टा हिँडेको पनि उनले बताए। मनाङको तिलिचो तालबाट मुस्ताङको जोमसोम निस्किँदा हिउँले छोपिएर बाटो बिराएछन्। रोल्वालिङ उपत्यकामा आफूले चाहे जस्तो फोटो खिच्न नपाएपछि हेलिकप्टर चार्टर गरेको पनि उनले बताए।
हिमालप्रेमी युरी रूसको आध्यात्मिक संस्था सेन्टर अफ स्पिरिचुअल कल्चरका संस्थापक अध्यक्ष हुन्। उनी प्रकृतिप्रेमी छन्, अध्यात्म र मानवतामा आस्था राख्छन्।
आफ्नो आध्यात्मिक भावनामा उनले हिमालको साथ पाएका छन्। हिमाल प्रकृति मात्र होइन, देवता र शक्ति हो भन्ने उनको विश्वास छ। उनी आफूलाई नेपालको पर्यटक होइन, साथी भन्न रूचाउँछन्। आफ्नो घर पनि यतै हिमालयतिर हो भन्छन्।
'हामी नेपालका पर्यटक होइनौं, साथी हौं। मेरो घर यतै आमादब्लमतिर हो। हामी नेपालका राम्रा साथी हौं,' उनले आफ्ना गाइड कर्णतिर फर्केर भने, 'मैले भूमिदेवताहरूसँग सल्लाह गरेँ। हाम्रा देवता यहीँ छन्।'
युरीलाई लिएर दोलखाबाट तासी लाम्चा पास गर्दै सोलुखुम्बुको नाम्चे निस्कने पदयात्रामा एक दिन अचम्म भयो। युरी र कर्ण पछाडि थिए। एक जना भरिया अलिक अगाडि थिए। तासी लाप्चाबाट तल झर्दै गर्दा मैदान जस्तो देखिन्थ्यो। हिउँले ढाकेर सेताम्मे थियो।
भरियाले एउटा ढुंगामा आड लगाएर भारी बिसाए अनि बेतोड दौडिए। युरी र कर्णको मनमा चिसो पस्यो। कतै भरिया भारी छाडेर भागेका त होइनन्! बोलाएर केही भन्न पनि अलिक टाढै थिए। हिमालमा दौडिएर कसैलाई भेट्ने दुस्साहस गर्नै भएन!
भरिया दौडिएर एकैछिनमा दृश्यबाट अलप भए। युरी र कर्ण बिस्तारै ओर्लिँदै थिए। भरिया युवक बिस्तारै फर्किए। भारी भएको ठाउँमा आए। भारी बोकेर फेरि दौडिए।
भरियाको गतिविधि देखेर उनीहरू अचम्म परे।
'के भयो, कतै पागल त भएन; कर्णको मनमा चिसो पस्यो।
उनीहरू सकुशल गन्तव्यमा पुगे। अनि भरिया युवकलाई सोधे, 'हिउँमा किन पागलझैं दौडिएको?'
युवकले लामो सास लिए अनि भने, 'त्यहाँ चार जनाको लास थियो। मलाई डर लाग्यो अनि दौडिएँ। फेरि भारीको माया लाग्यो अनि फर्किएर आएँ।'
युरी नेपालको प्रकृतिमा मात्र होइन, संकृतिमा पनि लोभिएका छन्। नेपालीहरूको दयालु स्वभाव र जतिसुकै दुःखमा पनि हँसिलो अनुहार उनको मनमा बसेको छ। आफूलाई दुःख पर्दा पनि अरूलाई साथ दिने नेपालीको स्वभाव उनलाई विशेष लागेको छ।
युरीले भारत भ्रमणमा आएका बेला नेपालबारे थाहा पाएका थिए। बल्ल ६४ वर्षको उमेरमा पहिलोपटक नेपाल आए पनि ढिलो गरेछु भन्ने लागेन।
'मलाई यही बेला आउनु थियो। यो मेरो जीवनरेखा हो। यसअघि नेपाल आउनु मेरो रेखामा थिएन,' उनले भने।
नेपालमा खिचेका हिमालका तस्बिर उनले रूसका ६१ सहरमा ८१ पटक प्रदर्शन गरिसकेका छन्। तस्बिर, कला र प्रकृतिसँग जोडिएका उनका १४ वटा पुस्तक प्रकाशित छन्। थप चारवटा प्रकाशनको तयारीमा छन्।
नेपालमा खिचिएका तस्बिर र हिमालको जानकारीसहित उनले 'द हिमालयज' नामको फोटो पुस्तक प्रकाशित गरेका छन्। कुल १८४ पेजको उक्त पुस्तकको मूल्य साढे तीन हजार रूपैयाँ छ। पुस्तकमा प्रकाशित ४२ वटा फोटा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनी गर्न सधैंलाई दिएका छन्।
युरीले खिचेका तस्बिरले हिमालको अध्ययनमा सहयोग पुग्ने संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेको भनाइ छ।
'हिमाल चढेर खिचिएका हिमालहरू निकै सुन्दर छन्। यी तस्बिरले हिमालको अवस्था र परिवर्तन संकेत गर्छन्,' उनी भन्छिन्, 'युरीले हामीलाई हिमालका अमूल्य तस्बिरहरू उपहार दिएका छन्।'