काठमाडौंको कोलाहल र धुवाँधुलो छिचोलेर केही पर घुम्न जाने सोच बनाउँदै हुनुहुन्छ? कार्य व्यस्तताका कारण धेरै टाढा जानका लागि समय नहुनेहरूका लागि राम्रो गन्तव्य बन्न सक्छ बन्दीपुर।
बन्दीपुरले अहिले 'पहाडकी रानी' उपमा पाएको छ। आन्तरिकसँगै विदेशी पर्यटकहरूको चहलपहल पनि बढ्दै गएको छ।
बन्दीपुर जान सहज पनि छ। तनहुँ सदरमुकाम दमौलीदेखि १८ किलोमिटर यात्रापछि पुगिन्छ डुम्रे। त्यहाँबाट ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।
बन्दीपुरको आकर्षणमध्ये भक्तपुरे शैलीमा बनेका इँट्टाका घर त्यसमा बुट्टा भरेका आँखीझ्याल र कलाले सिँगारिएका टुँडाल छन्।
बजार शान्त रहन्छ। ढुंगाको छपनीले छापेको बाटो छ जहाँ मोटर गाडी गुडाउन बन्देज छ। तीनधारेको चिसो पानी पिएर भीमसेनको मन्दिर, थानीमाई र खड्गदेवीको मन्दिर घुम्न सकिन्छ।
एक हजार ३० मिटरको उचाइमा फराकिला टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिने अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुराले जोकोहीको मन प्रफुल्लित बनाउन सक्छ।
हिम चुचुराबाट आएको चिसो हावाको झोक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउने निम्तो दिन्छ।
मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि आकर्षक देखिन्छ। यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ।
सिजन सुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल दिन दिनै बढिरहेको पनि छ।
बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ।
बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने व्यवसायीहरू बताउँछन्।
तस्बिरहरूः
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।