संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटकलाई सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।
'त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो। राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ,' मन्त्री पाण्डेले भने, 'सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ। हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ।'
विदेशी पर्यटकहरूलाई पटक-पटक आउने खालको वातावरण बनाउनुपर्ने समेत उनले बताए।
उनले त्रिभुवन विमानस्थल विदेशीहरूका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीहरूले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउन समेत आग्रह गरे।
मन्त्री पाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत अनुरोध गरे।
विमानस्थलमा देखिएका समस्याको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत पाण्डेले निर्देशन दिए।
'भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के के काम गर्ने र कति सयमभित्र गर्ने भनी प्राथमीकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस्,' उनले भने।
मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासोलाई सहज रूपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तर्मन्त्रालय मार्फत हुने समन्वात्मक कार्यका लागि अग्रसर रहने समेत बताए।