नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अधिकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा लागेको ऋण तिर्दा ढाड भाँचिएको बताएका छन्।
प्राधिकरणका कर्पोरेट डाइरेक्टर हंशराज पाण्डेले पोखरा विमानस्थलको ऋण तिर्दा लगानी सकिएको बताए।
'प्राधिकरणसँग लगानी छैन। पैसा कहाँ गयो त भन्दा पोखरा विमानस्थलको ऋण तिर्नमा गयो,' उनले भने, 'यो ऋण तिर्दा प्राधिकरणको ढाड भाँचिएको अवस्था छ। हामीले नआत्तिइकन दुई, तीन किस्ता तिरिसक्यौं। तर यहाँबाट अन्तर्राष्ट्रिय उडान हुनैपर्छ।
यहाँ अन्तर्राष्ट्रिय उडान गर्न निजी क्षेत्र र गण्डकी सरकारले सघाउनुपर्ने उनले बताए। निजी क्षेत्रले चार्टर्ड अन्तर्राष्ट्रिय उडान भर्न सक्ने उनको भनाइ छ।
बिहीबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), पोखराले आयोजना गरेको पोखरा विमानस्थल उडान सम्बन्धी छलफलमा प्राधिकरणका अधिकारीहरूले उडानको नेतृत्वदायी भूमिका निजी क्षेत्रले लिनुपर्ने बताएका हुन्।
नाट्टा पोखराका अध्यक्ष किशोर दाहालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान अपरिहार्य भएकाले प्राधिकरण र व्यवसायीबीच छलफल राखेको बताए।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार चीनको एक्जिम बैंकसँग २४ करोड ४० लाख ४० हजार अमेरिकी डलर ऋण लिएर विमानस्थल बनाइएको थियो। हाल वार्षिक दुई अर्ब रूपैयाँ किस्ता वापत तिर्नुपरिरहेको छ। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आएका बेला २०७८ चैत १२ गते चीनले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
पोखराका व्यवसायीहरूले विमानस्थल सञ्चालन नहुँदा लगानी डुबेको गुनासो राखेका थिए। विमानस्थल सञ्चालन भएपछि नियमित उडान हुने र पर्यटक संख्या बढ्ने अनुमानमा आफूहरूले पूर्वाधारमा लगानी बढाएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए।
'विमानस्थल चल्छ भनेर हामीले लगानी बढायौं, चल्न सकेन। हामीलाई मर्का परेको छ,' उनले भने।
नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा प्राधिकरण डुबेको भन्दै कर्पोरेट डाइरेक्टर पाण्डेले व्यवसायी र प्राधिकरणको पीडा मिल्दोजुल्दो भएको बताए।
'तपाईं र हाम्रो पीडा मिल्दोजुल्दो छ। जिम्मेवारी पनि साझा भएकाले हातेमालो गरेर अघि बढ्नुपर्छ,' उनले भने, 'तपाईंहरूले चार्टर्ड उडान थाल्नुपर्छ।'
प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पोखराले चार्टर्ड विमान ल्याउन नसकेको टिप्पणी गरे।
'तपाईंहरूले चार्टर्ड उडान ल्याउनुभएन,' उनले भने, 'यो पाराले दस वर्षपछि पनि यस्तै हुन्छ, चल्दैन।'
काठमाडौंमा व्यवसायीले नै प्याकेज बेचेर पर्यटक ल्याउने भन्दै पोखराका व्यवसायीले पनि त्यसै गर्नुपर्ने उनले बताए। स्थानीय र प्रदेश सरकारलाई दायित्वबोध गराएर भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने उनको भनाइ छ।
कर्णले आगामी मार्चदेखि हिमालय एयरलाइन्सले पोखराबाट काठमाडौं उडान गर्न लागेको जानकारी दिए।
'जबरजस्ती गरेर हुँदैन भन्ने भैरहवा विमानस्थललाई हेरेर उदाहरण लिन सकिन्छ। बजारले माग गरे मात्र विमान चल्न सक्छ। जबसम्म बजार जुर्मुराउँदैन, कसैले जबरजस्ती गरेर जहाज चल्दैन,' उनले भने।
महानिर्देशक अधिकारीले पनि गण्डकी सरकार लगायत जनप्रतिनिधिलाई भनेर भए पनि अन्तर्राष्ट्रिय उडान थाल्न सुझाव दिए। सरकारले चलाएर नआउने भन्दै उनले व्यवसायीले नै यसको अगुवाइ गर्नुपर्ने बताए।
'ऋण खाने कि नखाने भनेर सन् २०१२ मै चिन्ता लिनुपर्थ्यो। ऋण खाइसकेपछि अब तिर्नुपर्छ। हामीले तिरिराखेका छौं। आत्तिएका छैनौं,' उनले भने, 'पैसा खर्च गरेर आफू पनि उड्नुस्। त्यो गर्नुपर्छ। बानी बसाउनुपर्छ।'
प्राधिकरण र व्यवसायी आरोप-प्रत्यारोपमा लाग्न नहुने भन्दै उनले मिलेर समस्या समाधानतर्फ लाग्नुपर्ने बताए।
हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आफूले आग्रह गरेको पनि उनले सुनाए। हिमालयले मार्चदेखि पोखरा-ल्हासा उडान भर्ने उनले बताए।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं व्यवसायी वासुदेव त्रिपाठीले पोखराको पर्यटनमा निजी क्षेत्रले ठूलो लगानी गरेको बताए। पोखरा सबै खालका पर्यटकको रोजाइ बन्न सक्ने भन्दै सरकारले अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए।
'पोखराको विमानस्थल चलाउनुको विकल्प छैन। सरकारले विशेष ध्यान दिनुपर्छ,' उनले भने, 'विमानस्थल चल्छ भनेर नै पोखरामा धेरै लगानी भइसक्यो।'