आगामी ३१ डिसेम्बरका दिन कुस्माको द क्लिफमा प्रकाश सपुतले सांगीतिक प्रस्तुति दिने भएका छन्।
सो अवसरमा द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुटमा बुकिङ भइरहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।
न्यु इयर इभ कार्यक्रममा गायक प्रकाश सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ।
नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो।
कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ। सो कार्यक्रममा सहभागी हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा ३ सय रूपैयाँ तोकिएको छ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ।
पछिल्लो समय एडभेञ्चर हबको रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।
क्लिफले नयाँ वर्षको अवसरमा यसअघि नाइट बन्जीजम्प लगायतका कार्यक्रमहरु गरेको थियो।