सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ।
१८ औं संस्करणको महोत्सवको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे।
क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको महोत्सवमा बिहीबार हात्तीहरूको फुटबल पेनाल्टी खेल भएको थियो। शुक्रबार हुने फुटबल खेलको पूर्वाभ्यासको रूपमा बिहीबार पेनाल्टी परीक्षण गरिएको खेल संयोजक ऋषि तिवारीले जानकारी दिए। उक्त खेलमा वसन्तकली नामको हात्तीले एक गोल गरेकी थिइन्।
तिवारीका अनुसार फुटबलमा सौराहाका विभिन्न होटलहरूको नामका ८ वटा टिमबीच प्रतिष्पर्धा हुनेछ। पहिलो दिन शुक्रबार चार, शनिबार चार खेल हुनेछन्। आइतबार फाइनल खेल हुनेछ।
शुक्रबार हात्तीहरूको सुन्दरी प्रतियोगिता र म्युजिकल वाक प्रतियोगिता हुने क्षेत्रीय होटल संघ सौराहा सचिव महेश खनालले जानकारी दिए। सुन्दरी प्रतियोगिता हात्तीहरूलाई आकर्षक बनाएर प्रस्तुत गरिन्छ।
शनिबार हात्तीहरूको वनभोज गरिँदैछ। वनभोजमा सौराहा क्षेत्रमा रहेका सबै हात्तीहरूलाई एक ठाउँमा राखेर उनीहरूलाई मनपर्ने खानेकुरा खुवाउने गरिन्छ। अन्तिम दिन हात्तीहरूको स्वास्थ्य परीक्षण पनि गरिने सचिव खनालले बताए।
हात्तीलाई मर्का पर्नेगरी महोत्सवमा सहभागी गराउन खोजिएको भन्दै पशु अधिकारका लागि सक्रिय संस्था तथा व्यक्तिहरूले विरोध गरेपछि तालिकाबाट हात्ती पोलो प्रतियोगिता हटाइएको छ।
महोत्सवमा पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरूसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया कार्यक्रम पनि हुने संयोजक रामकुमार अर्यालले बताए। उनले मानव र वन्यजन्तुको सह–अस्थित्वलाई कायम गर्दै महोत्सवमा आयोजना गरिएको बताए।
महोत्सव सुरू हुनुपूर्व सौराहामा शोभायात्रा निकालिएको थियो।
र्याली पछि भएको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले मानव र वन्यजन्तुबीचको सम्बन्ध सदियौं पुरानो रहेको बताए। त्यो सम्बन्धलाई कायम राख्दै मान्छे र वन्यजन्तु दुबैको हित हुनेगरी काम गर्नुपर्ने उनले बताए।
‘वन्यजन्तु संरक्षणको मात्रै कुरा गरेर हुँदैन। मान्छेको हितको कुरामा पनि ध्यान दिनुपर्छ। संरक्षण र विकास सँगै हुनुपर्छ,’ उनले भने, ‘वन र वन्यजन्तुमा आधारित पर्यटनले देशको आर्थिक विकासमा सहयोग गर्छ।’
क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जैविक विविधतामा आधारित पर्यटन विकासका लागि महोत्सव आयोजना गरिएको बताए। महोत्सवमार्फत सौराहामा पर्यटकको उपस्थिति बढ्ने भएकाले अर्थतन्त्रमा पनि सहयोग पुग्ने थपलिया बताउँछन्।
महोत्सवको अवसर पारेर व्यवसायीहरूले १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरूको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल महोत्सवका सह–आयोजक हुन्।
उपाध्यक्ष ओम पाण्डेले राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी गरिने जानकारी दिए। महोत्सवमा महका विशेष स्टलहरू पनि राखिएका छन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौरीपालक किसानहरूलाई प्रोत्साहन गरिएको पाण्डेले बताए।
सौराहामा वार्षिक तीन लाख ५० हजार पर्यटक आउने गरेको अनुमान छ। चितवन निकुञ्ज अवलोकन गर्न आउने धेरै पर्यटकहरू सौराहाबाट प्रवेश गर्छन्। क्षेत्रीय होटल संघकाअनुसार सौराहामा १३० वटा होटल र ९० बढी रेष्टुरेन्टहरू छन्।
तस्बिरहरू:
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी