'अल द भिआइपीज आर गन। इट्स टाइम फर अस। लेट्स रक!'
दक्षिण भारतको गोवामा सन् १९९७ मा अंग्रेजी नयाँ वर्ष मनाउन आयोजित कार्यक्रममा उद्घोषकले बोलेका हरफ हुन् यी।
महोत्सवको उद्घाटन सत्र सकिएपछि सांगीतिक कार्यक्रम सुरू गरिएको थियो। विश्व प्रसिद्ध गोवाको समुद्री किनारमा आयोजित महोत्सवमा खानाका अनेक परिकार राखिएका थिए। स्थानीय हस्तकलाका सामग्री पनि बिक्रीका लागि प्रदर्शन गरिएका थिए।
अंग्रेजी नयाँ वर्ष होस् कि क्रिसमस, त्यति बेला पोखरामा कुनै कार्यक्रम थिएन। पोखरा घुम्न आउने विदेशी पर्यटक पनि नयाँ वर्ष र क्रिसमस मनाउन स्वदेश फर्किन्थे। कोही अरू नै गन्तव्यमा जान्थे। नेपाली पर्यटनमा 'अफ सिजन' भएकाले पोखरेली व्यवसायी पनि घुम्नका लागि भारत लगायत अरू देशहरू जान्थे।
त्यति बेला पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पनि गोवा पुगे। समुद्री किनारमा अंग्रेजी नयाँ वर्षको स्वागत गर्न आयोजित कार्यक्रम देखेर उनी प्रभावित भए।
संगीत, खाना र स्थानीय हस्तकलाका सामाग्री एकै ठाउँमा देखेर उनले मनमनै सोचे – हाम्रो पोखरामा पनि यस्तै कार्यक्रम गर्न सके!
त्यति बेला उनी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका उपाध्यक्ष थिए। पोखराको व्यवसायमा अफ सिजनको शून्यता छल्न गोवा पुगेका भट्टराईले पोखरामा सडक महोत्सव गर्न सकिने सोच लिएर नेपाल फर्किए।
पोखरामा अरू पर्यटन व्यवसायी र रेवान कार्य समितिसँग प्रस्ताव राखे। उनले राखेका प्रस्तावमा सबैले सहमति जनाए। अनि जन्मियो, पोखरा सडक माहोत्सव।
सडक महोत्सवको नारा नै 'सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै नाचौं' राखियो। जसका लागि लेकसाइडको कोमागाने पार्कको चोकदेखि हलनचोकसम्म सडकमा यातायात बन्द गरेर महोत्सव आयोजना गरियो। जहाँ सडकमै खानाका परिकार पकाउनेदेखि खाने व्यवस्था मिलाइयो। ठाउँ ठाउँमा स्टेज निर्माण गरेर स्थानीयदेखि आधुनिक संस्कृति झल्कने नृत्य, कन्सर्टहरू राखिए। स्थानीय उत्पादन बिक्री गर्न किसानदेखि हस्तकलाका सामाग्री व्यवसायीलाई प्रोत्साहन गरियो।
२६ वर्षअघि यसरी सुरू गरिएको पोखरा सडक महोत्सव अहिले पोखरेली व्यवसायीको ब्रान्ड बनेको छ। अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउने प्रचलन बढेको छ। सडक महोत्सवले पर्यटकलाई मात्र होइन, शिथिल बनेको पर्यटन व्यवसायलाई पनि चलायमान बनाउन सफल भएको व्यवसायी भट्टराई बताउँछन्।
'सडक महोत्सवले पोखराका होटल, रेस्टुरेन्टहरूको व्यापार बढाएको छ। अर्थतन्त्र चलायमान बनाउन मद्दत गरेको छ,' उनले भने, 'अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकले गर्दा पोखरा सबै सिजनका लागि उपयुक्त गन्तव्य हो भनेर स्थापित गरेको छ।'
अंग्रेजी नयाँ वर्षको स्वागतमा पोखरामा यति बेला विविध कार्यक्रम आयोजना गरिएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले २६ औं सडक महोत्सव आयोजना गरेको छ भने नेपाल ड्रागन बोट एसोसिएसनको आयोजनामा शनिबार र आइतबार दोस्रो संस्करणको ड्रागन बोट रेस हुँदैछ।
पोखराकै पामेमा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल भइरहेको छ।
यी गतिविधिहरूले पोखराको पर्यटन अफ सिजनमा पनि चलायमान बनाउन भूमिका खेलेको होटल एसोसिएसन अफ नेपाल (हान) गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
'अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव, चिनियाँ ड्रागन बोट रेस र बलुन फेस्टिभल भइरहेको छ,' उनले भने, 'पोखरामा सबैभन्दा धेरै आन्तरिक पर्यटक आउने समय भनेकै अंग्रेजी नयाँ वर्षमा हो। यी गतिविधिले पर्यटकलाई मनोरञ्जन दिनेछ।'
रेवानका महासचिव वीरेन्द्र शेरचनका अनुसार सडक महोत्सव गर्न लेकसाइडको सडकमा यातायात बन्द गरेर सडकमै खानाका परिकार, हस्तकलाका सामाग्री बेचबिखनका लागि राखिनेछ। सडकमै तीन ठाउँमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ। लेकसाइडकै कोमागाले पार्कमा कन्सर्ट लगायत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको शेरचनले बताए।
'लेकसाइडको बैदामदेखि खहरेसम्म साढे ३ किलोमिटर सडक बन्द गरेर सडकमै खाने, नाच्ने र रमाउने वातावरण मिलाएका छौं,' उनले भने, 'अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखरा तम्तयार छ। सडक महोत्सवको सबै तयारी पूरा भएको छ।'
ड्रागन बोट रेसका लागि पनि चीनबाट खेलाडीहरू आइसकेका छन्। दोस्रो ड्रागन बोट रेस फेवातालमा हुँदैछ। चीनको सिचुवान एयरलाइन्सबाट बिहीहबार चिनियाँ खेलाडी पोखरा आएका हुन्।
हान गण्डकीका अध्यक्ष सुवेदीका अनुसार नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकलाई होटलहरूले अंकित मूल्यमा २० प्रतिशत छुट दिने निर्णय गरेका छन्। यसपटक नयाँ वर्षमा पोखराका होटलहरूमा ८० प्रतिशत अकुपेन्सी रहने उनले अनुमान गरेका छन्।
'पोखरामा अहिले ४० हजार बेड पर्यटक स्तरीय छन्। लेकसाइड क्षेत्रमा मात्र सात सयभन्दा बढी होटल छन्,' उनले भने।
पोखराको पर्यटन पूर्वाधार बनाउन निजी क्षेत्रले मात्र ६ खर्ब रूपैयाँ लगानी गरेको उनले बताए। जसमध्ये ५ खर्ब रूपैयाँ होटल व्यवसायका लागि मात्र लगानी छ।
'हामी एकै दिन ४० हजार पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्छौं,' उनले भने, 'नयाँ वर्ष मनाउन ढुक्क भएर पोखरा आउनुभए हुन्छ।'