रोयल राइनो राइडर्स मोटरसाइकल क्लबले पर्यटन प्रवर्द्धनको उद्देश्यले चितवनको तराईलाई पहाडसँग जोड्नेगरी मोटरसाइकल र्याली आयोजना गर्न लागेको छ।
रोयल इन्फिल्डको मुख्य प्रायोजनमा चितवनको मेघौलीदेखि गोरखाको बारपाकसम्म मोटरसाइकल राइडिङ गर्न लागिएको हो।
क्लबका अध्यक्ष प्रितम श्रेष्ठले ‘ह्वील्स अन हिल’ नाम दिइएको कार्यक्रम डिसेम्बर ३० देखि जनवरी १ तारिखसम्म चल्ने जानकारी दिए।
पहिलो दिन मेघौलीस्थित होटल साराङ वाइल्डलाइफ स्याङच्यूरीमा भेला हुने, दोस्रो दिन सबै राइडरहरु मोटरसाइकलमा बारपाक पुगेर त्यहाँको प्रबर्द्धनका लागि कार्यक्रम गर्ने र तेस्रो दिन फर्कने श्रेष्ठले बताए।
उक्त कार्यक्रमका लागि अहिलेसम्म नेपाल, भारत र भुटानका राइडर्स क्लबका १७० जनाले नाम दर्ता गरिसकेका छन्। भारतका ८ र भुटानको एक क्लबका गरेर ४० जना र बाँकी नेपालका २४ वटा क्बलका राइडर्सहरु उक्त कार्यक्रममा सहभागी हुनेछन्।
आधा दर्जन महिलाले पनि नाम दर्ता गरेको क्बलका उपाध्यक्ष मन्दिपमान श्रेष्ठले बताए। सबैले रोयस इन्फिल्ड मोटरसाइकल चलाउने उनले बताए।
उनकाअनुसार क्लबले हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा यस्तो कार्यक्रम गर्दै आएको छ। गत वर्ष चितवनदेखि लमजुङको घले गाउँसम्म, त्यसअघिको वर्ष सौराहामा र सुरुका दुई वर्ष मकवानपुरको दामनमा कार्यक्रम गरिएको उनले बताए।
क्लबका बोर्ड सदस्य डाक्टर सशांककुमार सिंहले नेपालका पर्यटकीय गन्तव्यको बारेमा आन्तरिक तथा बाह्य प्रचारका लागि कार्यक्रम गर्न लागेको जानकारी दिए।
‘क्लबले हरेक वर्ष पर्यटन प्रवद्र्धनकै उद्देश्यले कार्यक्रम गरिरहेको छ,’ उनले भने, ‘यसपाली हामी चितवन र गोरखा जिल्लाका गन्तव्यहरुको प्रबर्द्धन गर्नेछौं।’
उनले दर्ता र प्रायोजकबाट प्राप्तमध्ये वचत भएको रकमले विकट तथा अति आवश्यक क्षेत्रमा स्वास्थय शिविर आयोजना गर्ने योजना रहेको बताए।
गत वर्षको वचत रकमबाट क्यान्सर रोगको उपचार गराइरहेका बालबालिकाहरुलाई शैक्षिक र खेलकुदका सामग्री, देवघाटस्थित विभिन्न आश्रमहरुमा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको सिंहले जानकारी दिए।
रोयल राइनो क्लब चितवनमा १२ वर्षअघि स्थापना भएको थियो।