भारतीय नागरिक नेपालमा तीर्थयात्राका लागि आउँछन् भन्ने कुरा भारतीय पर्यटन व्यवसायी उपल मजुम्दारलाई थाहा छ।
पोखरा घुमेपछि विवाह उत्सव र रमाउनका लागि पनि भारतीयहरू नेपाल आउन सक्ने बताउँछन्।
'तीर्थयात्राका साथै भारतीयहरू विवाह र रमाउनका लागि पनि नेपाल आउन सक्ने देखिन्छ,' उनले भने, 'नेपालको संस्कृति र प्रकृति पनि लोभ्याउने खालको रहेछ।'
भारतमा विवाहका लागि अर्को ठाउँमा जाने प्रवृत्ति बढिरहेकाले पोखरा 'वेडिङ डेस्टिनेसन' बन्न सक्ने उनले बताए।
चिनियाँ पर्यटन व्यवसायीले भने नेपालमा हाइकिङ, पाराग्लाइडिङ जस्ता साहसिक गतिविधिका साथै नेपालको शान्त वातावरण मनपराए।
सन् २०१८ मा नेपाल घुमेकी हानओभर मिलानो फेयर्स सांघाईकी क्रिस झाङले चिनियाँहरू नेपालको प्राकृतिक सुन्दरतासँग रमाउने गरेको बताइन्।
'नेपालमा चिनियाँहरू हाइकिङ गर्न र शान्त वातावरण मन पराउँछन्,' उनले भनिन्, 'मलाई पनि ७ वर्षअघि नेपाल घुम्दा त्यस्तै लागेको थियो।'
भारत र चीनका पर्यटन व्यवसायी सोमबारदेखि पोखरामा छन्। उनीहरू नेपालका पर्यटन गन्तव्यबारे नेपाली व्यवसायीसँग जानकारी लिइरहेका छन्। नेपालीले दिन सक्ने पर्यटन सेवाबारे उनीहरूले चासो लिइरहेका छन्।
दुवै देशका पर्यटन व्यवसायीले आफ्ना देशका नागरिकको चाहना अनुसार नेपालले सेवा दिन सक्छ कि सक्दैन भनेर चासो राखेका छन्।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाईले यी दुई देशका नागरिकका चाहना फरक भएकाले व्यवसायीले पनि फरक फरक चासो दिएको बताए।
'भारतीय पर्यटन व्यवसायी नेपालमा वेडिङ डेस्टिनेसन, तीर्थयात्रा र रमाउन चाहने पर्यटकका लागि उपयुक्त हुने बताइरहेका छन्,' लकाईले भने, 'चिनियाँ भने शान्त वातावरणमा बस्ने, हाइकिङ, पाराग्लाइडिङ जस्ता साहसिक गतिविधिमा चासो दिएका छन्।'

पहिलो पटक आएका दुवै देशका पर्यटन व्यवसायीले पोखरा आउँदा आफूले सोचेभन्दा धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन्। पोखराको पर्यटकीय सेवा, प्रकृति र संस्कृतिले उनीहरू दंग परेका छन्।
'म काठमाडौं त आइरहेकै थिएँ, पोखरा आउँदा सरप्राइज भयो,' भारतीय व्यवसायी तरूण दीपले भनिन्, 'यति राम्रो ठाउँ, यति धेरै पर्यटन सेवा पोखरामा उपलब्ध छ भनेर विश्वासै थिएन।'
भारतीय पर्यटकका चाहनाबारे जानकारी गराउँदै दीपले भारतमा बिहेका लागि खर्च गर्ने क्रम बढिरहेकाले नेपाल उपयुक्त गन्तव्य हुन सक्ने बताइन्।
'भारतीयहरू बिहे गर्दा आफ्नो ठाउँमा पनि कार्यक्रम गर्छन्। अनि आफन्तहरू सानो टिम बनाएर विवाह उत्सव मनाउन अन्यत्र जाने प्रचलन बढेको छ,' उनले भनिन्, 'पोखरा आएर हेर्दा भारतीय नागरिकका लागि उत्कृष्ट विवाह गन्तव्य बन्न सक्ने देखियो।'
चिनियाँहरू पोखराको पर्यटन व्यवसाय उत्कृष्ट रहेको बताउँछन्। ग्वाङझाउ इन्टरनेसनल ट्राभल फेयरका प्रतिनिधि जस्मिन झाङले पहिलो पटक पोखरा आउँदा आफू अत्यन्तै प्रभावित भएको बताइन्।
'पोखरामा गुणस्तरीय होटल र रेस्टुरेन्ट रहेछन्। यहाँको प्राकृतिक शान्ति, पाराग्लाइडिङ र हाइकिङ चिनियाँले पक्कै मन पराउनेछन्,' उनले भनिन्।
भारत र चीनका पर्यटन व्यसायीमाझ नेपालका १४० जना पर्यटन व्यवसायीले आफ्ना उत्पादन र सेवाबारे स्टल राखेका छन्। उनीहरूले पर्यटकका लागि आफूले बनाएका प्याकेज र सेवाहरूबारे भारतीय र चिनियाँ पर्यटन व्यवसायीलाई जानकारी गराएका छन्।
शेर्पा हस्पिटालिटीकी प्रतिनिधि छिरिङ डोल्मा गुरूङका अनुसार चिनियाँले हिमाली क्षेत्रतर्फ र भारतीयले तराई क्षेत्रतर्फ बसोबासका लागि चासो दिएको बताइन्।
'चिनियाँहरूले ट्रेकिङसहित हिमाली क्षेत्रका होटलमा पर्यटक पठाउन सोधखोज गरेका थिए भने भारतीयले चितवन र लुम्बिनीमा बस्न चासो दिए,' उनले भनिन्।
शेर्पा हस्पिटालिटीले सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुस्ताङ, चितवन, लुम्बिनी लगायत स्थानमा १५ वटा होटल व्यवसाय चलाएको उनले बताइन्। पर्यटकको चाहना अनुसार प्याकेज बनाउन सकिने पनि उनको भनाइ छ।
पोखरामा अर्थ नेपाल ट्राभल एन्ड ट्रेक कम्पनी चलाएका धर्मराज पन्थीले आफ्नो स्टलमा बुझ्न आएका चिनियाँ र भारतीय पर्यटन व्यवसायीले फरक फरक चासो राखेको बताए। पहिले पनि नेपालमा पर्यटक पठाइरहेका कम्पनीहरूले नेपालमा नयाँ कम्पनीसँग सहकार्य गर्न चाहेको पनि उनले बताए।
'चिनियाँहरू छोटो ट्रेक र सहरमै भएका पाराग्लाइडिङ जस्ता साहसिक खेलमा बढी चासो राख्छन्,' उनले भने, 'भारतीयहरू मुक्तिनाथ, पशुपतिनाथ घुम्न जाने र रमाउन आउन खोज्छन्।'
उनीहरूले चाहे अनुसार लामो तथा छोटो पदयात्रा, तीर्थयात्रा र विवाह उत्सवका लागि छुट्टाछुट्टै प्याकेजबारे जानकारी दिएको उनले बताए। उनीहरूले आफ्ना पर्यटकको चाहना अनुसार सहकार्य गर्ने बताएको पनि पन्थीले जानकारी दिए।

स्टल राखेका रूपाकोट रिसोर्टका अपरेटिङ म्यानेजर महेशराज वाग्लेले रिसोर्टले बनाएको भिडिओ हेरेर दुवै देशका व्यवसायी मोहित भएको बताए।
'पुरा भिडिओ हेरेर एकदम मनपर्यो भन्छन्,' वाग्लेले भने, 'रिसोर्टमा आउने अरू पर्यटक पनि यसरी नै मोहित भएका छन्।'
एक दिनका लागि आएका भए पनि रिसोर्ट पुगेपछि पर्यटक हप्तौंसम्म बस्ने गरेको पनि उनले बताए। भारतीय पर्यटक भने लेकसाइड पुगेर रात्रिकालीन रमाइलोमा भुल्ने र बिहान २/३ बजेतिर होटलमा बस्न जाने गरेको उनी बताउँछन्।
'भारतीयहरू रिसोर्टमा बस्न आए पनि रमाउन लेकसाइड जान्छन्। भीडभाड र चर्को संगीतमा रमाउन चाहने रहेछन्,' उनले भने, 'चिनियाँहरू भने शान्तिसँग रिसोर्टमै बस्छन्।'
डेस्टिनागो टुर एन्ड ट्राभलकी प्रतिनिधि मोनिका कँडेलले नेपाल घुम्ने टुर प्याकेज, कहाँ घुम्ने, कति दिन लगायत विषयमा दुवै देशका व्यवसायीले चासो राखेको बताइन्। उनीहरूले नेपालका विभिन्न पर्यटकीय स्थलबारे ब्रोसर लगेको उनले बताइन्। उनका अनुसार इमेल, ह्वाट्स एप र विच्याटमार्फत पर्यटकीय प्याकेज किनबेच हुन्छ।
'दुवै देशका व्यवसायीले पछि सम्पर्क गरेर प्याकेज किन्ने र पर्यटक पठाउने भनेका छन्,' उनले भनिन्।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र पोखरा पर्यटन परिषदको आयोजनामा सोमबारदेखि अयोजित तीन दिने नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) कार्यक्रम चलिरहेको छ। नेपालका पर्यटकीय गन्तव्य, उत्पादन र सेवाहरूबारे भारत र चीनका व्यवसायीलाई जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको पाटा नेपाल च्याप्टर अध्यक्ष खेमराज लकाईले बताए।
'पाटाको अन्तर्राष्ट्रिय संगठनले संयोजन गरेर आयोजना गर्दा भारत र चीनका व्यवसायीलाई एकै ठाउँमा भेला गराएर हाम्रा पर्यटकीय उत्पादन र सेवाबारे जानकारी गराउन सक्यौं,' उनले भने।
दुवै देशका व्यवसायीले पोखरामा भएको 'नाइस' कार्यक्रममा एकअर्काका प्याकेजबारे पनि अनौपचारिक रूपमा छलफल गरे।
'भारत र चीन ठूलो आयात र निर्यातकर्ता हुन्। हामी आपसमा व्यापार गरिरहेकै छौं,' उनले भने, 'राजनीतिक प्रतिसर्पधा जे जस्ता भए पनि व्यवसाय चलिरहेकै छ,' एक भारतीय व्यवसायीले भने।
चिनियाँ व्यवसायीले पनि भारतीयसँग छलफल र कुराकानी गर्दा आफूहरू उत्साही भएको बताएका छन्।
पाटा नेपालका अध्यक्ष लकाईका अनुसार कोरोनापछि अरू देशले पहिलेभन्दा बढी प्रगति गरिरहेका छन्। नेपालमा भने अझै समस्या बाँकी छ।
'त्यसैले हाम्रो पर्यटकीय सेवा र उत्पादनको प्रचार गर्न यो कार्यक्रम आयोजना गरेका हौं,' उनले भने।

भारत र चीनका ५०/५० जना पर्यटन व्यवसायी भेला गरेर कार्यक्रम गर्दा आगामी दिनमा पोखरा आउने पर्यटकको संख्या बढ्ने पोखरेली व्यवसायीले विश्वास लिएका छन्।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरामा भएको नेपाल–भारत–चीन एक्स्पोले नेपाली उत्पादन छिमेकी देशका व्यवसायीलाई जानकारी गराउन पाएको बताए।
'नेपालीहरू भारत र चीनका एक्स्पोमा गएर आफ्ना उत्पादनबारे जानकारी गराउँदै आएका थिए। यसपालि भारत र चीनका व्यवसायीलाई नै पोखरा ल्याएर हाम्रो पर्यटकीय उत्पादनबारे जानकारी दिन पायौं,' उनले भने।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले यस्ता कार्यक्रम बर्सेनि आयोजना गर्नुपर्ने बताए। नेपालका व्यवसायीलाई विदेशका एक्स्पोमा पठाउनुभन्दा नेपालमै यस्ता कार्यक्रम आयोजना गरेर विदेशी व्यवसायीलाई बोलाउन सके पर्यटन प्रवर्द्धन प्रभावकारी हुने उनले बताए।
'विदेशका पर्यटन व्यवसायी यहाँ आउँदा नेपालका उत्पादनबारे थाहा पाउने मात्र होइन, आफै अनुभव लिन पनि पाउँछन्,' उनले भने, 'अनुभव लिएको क्षेत्रमा उनीहरूले आफ्ना देशका पर्यटक पठाउन प्रोत्साहन गर्न सक्छन्। चीन र भारतबाट करोडौं पर्यटक घुम्न गइराखेका छन्। हामीले यी दुई देशलाई जोडेर नेपाललाई हब बनाउनुपर्छ।'
एक्स्पोको सोमबार साँझ पर्यटनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए। एक्स्पोमा नेपालको पर्यटन व्यवसाय, उत्पादन लगायत विषयमा विभिन्न सत्रमा छलफल भएको थियो। भारत र चीनका व्यवसायीले पनि नेपालमा प्रवर्द्धन गर्न सकिने प्याकेजबारे आ–आफ्ना योजना प्रस्तुत गरेका थिए।