पुस्तक चर्चादृष्टिकोण हाम्रो सोचबाट आउँछ। सोच हाम्रो विश्वासबाट आउँछ। यस्तो विश्वास हामीलाई आफ्नो संस्कृतिबाट आउँछ।
कुनै पनि व्यक्तिको सोच, दृष्टिकोण र विश्वासलाई उसले बाँचेको संस्कृतिले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ भन्ने ठान्छन् लेखक रोशन गुरुङ।
नेपाली साहित्यमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र संस्कृतिका मुद्दालाई समेट्दै आख्यान लेखनको बाढी आइरहेका बेला कमै मात्रामा लेखन र प्रकाशनमा आइरहेको गुरुङ समुदायको प्रतिनिधित्व गर्दै गुरुङ समुदायभित्रको भाषा, धर्म र संस्कारको विवादबारे ई. रोशन गुरुङद्वारा लिखित ‘गुरुङ संस्कारको वैज्ञानिक चिरफार’ पुस्तक बजारमा आएको छ।
यो वैचारीक पुस्तकमा उनले माथिका भनाइलाई थप प्रष्ट्याउन केही उदाहरण दिँदै लेखेका छन्– ‘गुरुङ युवाहरू किन लाहुरे हुन लालयित हुन्छन्? किनकि लाहुरे भएपछि उनीहरू जीवन सुनिश्चित हुन्छ भन्ठान्छन्। आफ्नो नाता, कुटुम्ब र समुदायमै प्रतिष्ठा बढ्छ भन्ने विश्वास गर्छन्। तर ब्राहमण समुदायका युवाहरू किन लाहुरे नभई पढ्ने सोच राख्छन्? किनकि उनीहरू पढाइबाट नै जीवन सुनिश्चित हुने विश्वास गर्छन्।’
उनी लेख्छन्– ‘विश्वासबाटै सोचको निर्धारण हुन्छ।’ गुरुङको मृत्यु संस्कारमा मावली (आँस्यो) अनिवार्य चाहिन्छ। मावली अनिवार्य चाहिन्छ भन्ने सोच किन आयो त? किनकी मावलि (आँस्यो)बिना स्वर्ग पुगिँदैन भन्ने विश्वास गुरुङ समुदायमा रहि आएको छ। यदि यो विश्वास हुँदैनथ्यो भने आँस्यो (मावली)को सोच नै आउने थिएन। यसबाट प्रष्ट हुन्छ कि विश्वासले नै सोच पैदा गर्छ।’
पुस्तक पढिरहँदा लाग्छ रोशनमा अति गहन एवं जटिल विषयलाई समेत सरल किसिमले पाठकलाई बताउन सक्ने लेखकीय क्षमता छ। तीन वर्ष अगाडि ‘आहा! नि क्या राम्री गुरुङ्सेनी’ कथा सङ्ग्रहको तेस्रो संस्करणसम्म निकालेका रोशनले आफ्नो लेखकीय भूमिकामा भनेका छन् ‘केही लेख्दा जिम्मेवार भएर प्रस्तुत हुन चाहन्छु, युवा हुनुले मनोरञ्जनको विषयवस्तुमा, आख्यान नै लेख्न सजिलो हुन्थ्यो तर मैले सजिलो बाटो रोजिनँ। लोपोन्मुख गुरुङ संस्कारलाई जोगाउनकै लागि केही सानो प्रयास गरेको छु। युवाले नबुझेमा संस्कार, संस्कृतिको भविष्य हुँदैन, युवाहरू विज्ञानमा विश्वास गर्छन भने हामीहरु गुरुङ संस्कारको वैज्ञानिकता किन नबुझाउने?’
यस भनाइबाट के प्रष्ट हुन्छ भने रोशन यो पुस्तकका माध्यमबाट जिम्मेवारीबोधका साथ गुरुङ संस्कारलाई वैज्ञानिक तवरले युवाहरुमाझ पुर्याउन चाहन्छन्। रोशन लेख्छन्– ‘विश्वासमा चामत्कारिक शक्ति हुन्छ । यहीँ विश्वासले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउन सक्छ। मानौ गुरुङको घरमा शुभ, अशुभ कामहरू हुँदा रक्सी प्रयोग गरिएको छ भने गुरुङले त्यही रक्सीलाई शुद्ध मान्छन् तर ब्राहमणका लागि त्यही बस्तु अशुद्ध हुनसक्छ। दुवै व्यक्तिले रक्सी नै देखेका हुन् तर किन फरक सोच आयो त? किनकी सोच हाम्रो विश्वासबाट आउँछ। गुरुङहरु रक्सीलाई शुद्ध वस्तु भनी विश्वास गर्छन् भने ब्राहमणहरु अशुद्ध विश्वास गर्छन्।
शिवरात्रीमा किन हिन्दु महिला पशुपतिका नाङ्गा बाबाको पैतालामा ढोग्न सक्छन् त? किन उनीहरूमा लाज महसुस हुँदैन त? किनकि यो उनीहरूको आफ्नो संस्कार र संस्कृतिप्रतिको विश्वास नै हो। विश्वासले हाम्रो संसारनै परिवर्तन गराउँछ।’
त्यस्तै भाषाको बारेमा रोशन भन्छन् ‘कम्प्युटरले विश्वको सबै भाषा जान्दछ, तर उसले ती सबै भाषालाई आफ्नै भाषामा परिणत गरेर काम गर्छ । यदि कम्प्युटरले आफ्नो भाषा बिर्से कम्प्युटरको अस्तित्व नै रहँदैन। हामी त सजीव प्राणी हौं। भाषा बिर्सिए हाम्रो अस्तित्व रहँला त? रोशन चिन्तित छन्।
गुरुङहरू क्होला सोंथरबाट बसाइसराइपछि विभिन्न ठाउँमा पुग्दा आफ्नो भाषा र संस्कारमा भेग, क्षेत्र अनुसार धेरै परिवर्तन भएको पाइन्छ। भाषाकै सन्दर्भमा लेख्नुपर्दा गुरुङ भाषामा पनि भेग अनुसार एउटै वस्तुलाई बुझाउन भिन्नाभिन्नै शब्दहरुको प्रयोग हुन्छन्। लमजुङ, कास्की, तनहुँ, स्याङ्जा आदि ठाउँका गुरुङ भाषिकामा भिन्नता छ। तर भाषामा भन्दा धर्म र संस्कारलाई लिएर अहिले यो समुदायभित्र मूल विवाद छ।
एकथरी गुरुङहरू लामावाद मान्छन् भने अर्काथरी गुरुङहरु वोनिजम् यानिकि प्रकृति र पितृलाई नै भगवानको रुपमा मान्छन् । जसका कारण गुरुङहरु गुम्बा र क्होइबोमा विभाजित छन्। लेखकले यही प्रसङ्गलाई समेत पुस्तकमा समेट्दै गुरुङ संस्कारको बारेमा लेख्छन् ‘गुरुङ संस्कारको वैज्ञानिकताका लागि प्रश्न गर्नुस् ,कारणको खोजी गर्नुस्,सही कारण भेटे संस्कार अगाल्नुस् ,भेटिदैन सुधार गर्नुस, सुधार्न मिल्दैन त्याग्नुस् तर तपाई अन्धोभक्त नबन्नुस्।
गुरुङ संस्कारको विवादको मुख्य कारण मृत्यु संस्कार एउटै तरिकाले मात्रै हुन्छ भन्ने सोचले ग्रसित हुनु हो । यस्तो विवाद समाधानका लागि आइन्स्टाइनले भनेझैं उच्च स्तरको सोच चाहिन्छ । एउटैको ठाउँमा धेरै किसिमले मृत्यु संस्कार सम्पन्न गर्न सकिन्छ भन्ने सोच आए यो विवाद स्वतः समाप्त हुन्छ।’
उनका अनुसार जब गुरुङहरु क्होंलासोंथरबाट विभिन्न क्षेत्रमा बाँडिए तबदेखि गुरुङ संस्कारहरु केही भिन्न हुनु स्वभाविक हुन्। उनले लेखेकाछन् सबै भेगका संस्कारलाई आँगाल्न र सम्मान गर्न सक्यौ भने यो विवादको समाधान आफै हुन्छ ।
धर्मको बारेमा एकाइ १३ को गुरुङहरुले धर्मलाई कसरी बुझ्नुपर्छ ? शीर्षकमा लेखकले यति प्रभावकारी उदाहरण दिएका छन् कि जसरी चन्द्रमाले दिएको उज्यालोलाई हामी चन्द्रमाकै उज्यालो भन्ठान्छौँ तर वास्तवमा त्यो चन्द्रमाको उज्यालो नभई सुर्यको उज्यालो हो, सुर्यको किरण चन्द्रमासँग ठोकिएर धर्तीमा फर्कदा उज्यालो हुन पुगेको हो । ठ्याक्कै त्यसरी नै गुरुङहरुलाई बुद्विजममा गुरुङ मौलिकता भएझैं लाग्छ तर त्यो सत्य होइन।
बुद्वलाई बुद्वकै रुपमा बुझौँ, बुद्वलाई मुक्तिको यात्राका लागि पछ्याउने हो, यो नै बुद्वप्रतिको हाम्रो सच्चा न्याय हुन्छ। तर गुरुङ संस्कारका लागि बुद्वलाई पछ्याउनु गुरुङ समुदायको अज्ञानता हो। उनले आफ्नो विचारलाई प्रस्ट्याउँदै लेखेकाछन् ‘गुरुङ संस्कार र बुद्वबीच कुनै सम्बन्ध सम्बन्ध छैन। बुद्विजम कल्चर होइन फिलोसोफी हो, त्यसैले फिलोसोफीका लागि कल्चर छाड्नुपर्छ भन्ने छैन।’
पेसाले सिभिल इन्जिनियर रोशनको स्वभाव कम बोल्ने तर थोरै शब्दमै धेरै भन्ने उनको क्षमतालाई सानो आकारको यो गहन पुस्तकले प्रमाणित गरेको छ। जम्मा १३ अध्यायमा लेखिएको गुरुङ संस्कारको वैज्ञानिक चिरफार पुस्तकभित्र विभिन्न वैज्ञानिकहरुका महत्वपूर्ण भनाइहरुसँगै प्रशस्त मात्रामा गुरुङ पोसाकमा सजिएका गुरुङ युवायुवतीका फोटोहरू प्रयोग गरिनुले पुस्तक विशेषगरी युवा पुस्ताले रुचिका साथ पढ्नेमा विश्वस्त हुन सकिन्छ।