अम्बा बोहोरा मरिन्
राम्रै भयो मरिन्
मरुन् भनेर नै १२ वर्षको उमेरदेखि नै
छाउगोठमा पठाइएको थियो
अचम्म लाग्छ,
आजसम्म कसरी बाँचिन् ।
उनी मरेपछि
सबैजना भाव विह्वल बने
अम्बाको घरमा आए
र, उनी निसास्सिएर मरेको छाउगोठ भत्काए
राम्रै भयो, भत्काए
किनकी त्यहाँ बस्नको लागि अब अम्बा बोहोरा नै छैनन्।
अम्बाको छाउगोठ भत्काउन कस्सिनेहरु
आफ्नै घरको छाउगोठ भत्काउन भने तयार छैनन्
किनकी ती छाउघरमा,
जल्नको लागि
बलात्कृत हुनको लागि
सर्पबाट टोकिनको लागि
निस्सासिएर मर्नको लागि
अरु अम्बाहरु जीवितै छन्।
यस्तै हुन्छ
छुन सकिने
देख्न सकिने
माया गर्न सकिने
घृणा गर्न सकिने
हाँस्न सक्ने
रुन सक्ने
माया गर्न सक्ने
घृणा गर्न सक्ने
हाड, छाला र मासुको मानिसभन्दा
छुन नसकिने
देख्न नसकिने
माया गरेर फकाउन नसकिने
घृणा गरेर धम्क्याउन नसकिने
देउता प्यारो भएपछि
संस्कार प्यारो भएपछि ।
यस्तै हुन्छ
जीवनभन्दा परमधाम
ज्ञानभन्दा अन्धता
तर्कभन्दा भ्रम
र, आँटभन्दा आत्मसमर्पण
प्यारो भएपछि।
राम्रै भयो अम्बा बोहरा मरिन्।
अब फेरि उनी मरेको खबर सुन्नुपर्ने छैन।
छाउगोठमा मर्न अभिशप्तहरुको सूचीबाट एउटा नाम घट्यो।
(बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा गत पुस २४ गतेनिसासिएर मृत्यु हुने अम्बा बोहोरा र उनका दुई छोरा सुरेश र रमितप्रति हार्दिक श्रद्धाञ्जलीसहित।)