तिमी बिनाका ती उराठ लाग्दा दिनहरूमा विगतका स्मरणका सडकहरूमा यी बिछोडिएका पाइलाले वेदनाका आत्मालाई घिसार्दै मानिसको भिडमा पनि एक्लो र शून्य महसुस गर्दै यी कहाली लाग्दा रातहरू र दिनहरूलाई बाइबाई गर्न मलाई बाध्य हुनु परेको छ। तिमीलाई के थाहा मेरो मन यति जलिरहेको छ भनेर, मेरा हरेक अङ्गहरू तिम्रो बिछोडमा घायल भएका छन् भनेर।
हुन त मानिसको स्वभाव अर्कालाई घायल बनाएर आफू खुसीमा रमाउनु पनि हुन्छ भन्छन्। त्यो त तिमीलाई नै थाहा होला। म केवल मेरो कुरा जान्दछु, तिम्रो कुरा तिमीलाई नै थाहा होला।
साँच्चै हिजोआज सूर्यको प्रकाशमा त्यति उज्यालोपन छैन, केबल बादल लागेको छ। आगोको ज्वालामा पनि तातोपन छैन। के हिउँले चिसो बनाएको छक? मानिसको भिडमा पनि शून्य र एकान्त छ। वसन्त ऋतुमा कोइलीको आवाज उराठलाग्दो र नमिठो छ। यी सबै महसुस तिम्रो बिछोडमा मेरो मनलाई भएको छ। केबल तिम्रो मायाको लागि।
त्यस्तै त्यस्तै उराठ र मनभरि मायाको पोका बोकी प्रत्येक सेकेन्ड, मिनेट र घण्टालाई म बिताउन बाध्य छु। यी नमिठा र तीता क्षणहरू अवश्य नै दीर्घजीवी भए भने म के गरौँला? तिम्रो माया र अनुहार मेरो मानसपटलमा हरदम रहिरहेको छ। यसलाई केही टाढा राख्ने प्रयास गर्न खोज्छु तर मनै त हो नि मान्दै मान्दैन। यस्तो हुन पनि मेरो ठुलो भूल हो तर म के गरूँ? मेरो मन मेरो वशमा छैन।
साँच्चै तिमी कति निष्ठुरी रहेछौ, टाढा हुँदा महसुस हुँदो रहेछ। कति सजिलै टाढा भइदियौ! मलाई एक चोटि चित्त बुझाउने प्रयास पनि गरेनौ, मेरो लागि केही पनि सोचेनौ। यति दिनसम्मको मायालाई दुई दिनको रमझममा उडाइदियौ। तिमीले सोच्यौ होला केही समय बिताइदिएँ, केही दिनपछि बिर्सिहाल्छे नि।
सबै मानिसले आफ्नै बारेमा सोच्छन्, अर्काको बारेमा सोच्ने कमै पाइन्छ। सोच्ने फुर्सद पनि कहाँ छ? तिमीलाई पनि मेरो बारेमा सोच्ने फुर्सद कहाँ छ? यहाँ म पनि त आफ्नै बारेमा सोचिरहेकी छु किनभने म पनि मेरो आत्माको लागि तिमीलाई मेरो नजिक चाहन्छु हैन र? मनमा गढेको तिम्रो सम्झनाको काँडो कसरी झिकेर फालूँ? मेरो आत्मा शान्तिको लागि तिमीलाई कसरी नजिक पाऊँ? तिम्रा बाध्यता र विवशताहरू होलान् त्यसमा मेरो मन अलिकति पनि जाँदैन।
तिम्रो मनमा पक्कै पनि मप्रति घृणा पलाउने छ किनभने म केबल झुटा र क्षणिक सपनामा रमाएकी थिएँ। त्यसमा रमाउनु मेरो भुल थियो। अब म कहिल्यै पनि तिम्रो नजरमा नजिक हुन सक्ने छैन। तिम्रो लागि मजस्ता अरू पनि हुन सक्छन्। यसो भन्ठानेर मलाई घृणा गर्न थाल्यौ भने मेरो आत्माले तिमीलाई कहिल्यै पनि शान्ति दिने छैन किनभने मैले तिमीलाई चोखो माया दिइरहेकी छु। यस जुनीमा त म तिमीबाट शारीरिक दूरीमा मात्र टाढा छु भने अर्को जुनीमा तिम्रो नजिक हुन म भगवान्सँग प्रार्थना गरिरहेकी छु।
मनै त हो, राम्रा नराम्रा कुराहरू सोचिदिन्छ। यसमा सबैलाई स्वतन्त्रता छ, त्यसमा पनि मन त आफ्नो अधीनमा छैन। तिम्रो पर्खाइमा रात रातभर सडकमा बस्दा पनि मिठो अनुभव हुन्थ्यो, तिम्रो उपस्थितिका ठाउँहरू रमाइला हुन्थे। खोइ ती ठाउँहरू, खोइ ती पर्खाइहरू? अब त तिम्रो दर्शन पाउन पनि कति दिन पर्खनु पर्ने हो? पर्खनु परे पनि केही थिएन पर्खने थिएँ तर त्यसमा पनि निश्चितता छैन।
‘अर्काको नासो छोई पासो’ पो हुने हो कि? समाजले यस्ता कुरा बुझ्दैन। तिम्रो यात्रा एउटा छ मेरो यात्रा अर्कै छ। जीवनको यात्रा एक्ला एक्लै गर्नु छ। यी सबै कुरा थाहा भएर पनि चित्त बुझाउन सक्दिनँ। सबै चित्तभरि नै तिम्रो तस्बिर खिचिएको छ। त्यही तस्बिरले नै मलाई सताइरहेको छ, म के गरूँ?
यस्तो कुराले तिमीलाई हाँसो उठ्छ होला। कस्ती काम नलाग्ने रहिछ भनेर मलाई घृणा पनि गरौला। त्यो पनि मलाई स्वीकार्य छ। यो मेरो मनको अर्थ छैन, त्यो पनि मलाई थाहा छ। तर म तिमीबाट टाढा हुन सक्दिनँ; तिमी मलाई जेसुकै सोच, भन या गर। मसँग चाहे बोल या नबोल। तिमी आफ्नो जीवन सुखी र खुसी बनाऊ। तिमी सधैँ हाँस म त्यसैमा खुसी छु। म आफ्नो गन्तव्यविहीनको जीवनरूपी यात्रामा तिम्रो काल्पनिक तस्बिरसँग नै रमाएर जीवन बिताउनेछु।
हेर न आज रातको ११:४५ भइसक्यो। मलाई पटक्कै निद्रा लागेन। निद्रा देवीलाई बोलाउन खोज्छु तर आए पो केही लाग्छ। यता कोल्टे फेर्छु, उता कोल्टे फेर्छु केही लाग्दैन। जब बिछ्यौनामा पल्टन्छु, तब उही तिम्रो तस्बिर अनुहारमा आइहाल्छ। जब सुरुदेखिका कहानीहरू आँखाअगाडि आएर नाच्न थाल्छन् तब विगतका यादहरूले सताउन थाल्छ।
जब तिम्रो मिठो मायामा रमाउन थाल्छु अनि झस्कन्छु। फेरि धेरै छटपटिन्छु। उफ्! सुस्केरा आउँछ, के गरौँ बाहिर ढोका खोलेर निस्कन्छु, बाहिर त निस्पट्ट अँध्यारो रात मात्र छ। आकाशतिर हेर्छु, तीनतारा पनि माथि आइसकेका रहेछन्। ताराहरू चकमन्न रातलाई साथ दिन चम्किरहेका छन्, किरकिर कीराहरूको आवाज आइरहेको छ। रातले पनि मलाई नै जिस्क्याउन खोजेजस्तो। सबै कुरा सम्झन्छु, फेरि भित्र आउन करै लाग्छ।
तिमी कहाँ छौ? कसरी बसेका छौ? तिमी त मस्तसँग निदाएका हौला है? के थाहा तिम्रो लागि यो मध्यरातमा पनि कोही जागाराम छ भनेर। कस्तो कठोर मन, यहाँ मलाई जागा राखेर आफू मस्तसँग निदाउने? कस्तो स्वार्थी मान्छे! के गर्ने, नजिक भए ब्युँझाउन मैले पनि जानेकी थिएँ। के गर्नु आफू ‘कालीको माली’ परियो।
अहिले यो कोठाभित्र तिम्रो आगमन भइदिए कस्तो मजा हुन्थ्यो होला। आहा! यो मनभित्र उनिराखेको खुसीरूपी मालाले स्वागत गर्ने थिएँ, गम्लङ्ग अँगालो हाल्ने थिएँ। आँसुले नुहाइदिने थिएँ। अनि तिमीलाई अँगालोमा बाँधेर अनि के के गर्ने थिएँ यो मनलाई नै थाहा छ। तर के गर्नु, कल्पना गरेर मात्र भएन, भेट हुने कहिले हो? मेरा दिनहरू कसरी काट्ने होला, म सोच्न पनि सक्दिनँ।
छिः म पनि! कति नकारात्मक सोच लिएकी...। मनै त हो, चाहिने नचाहिने सोचिहाल्छ।
तिमीप्रतिको मेरो चोखो मायाले तिमीलाई ठेस नलागोस् भनेर भगवान्सँग प्रार्थना गर्छु। तिमी बिनाको एक पल पनि मेरो लागि धेरै गाह्रो क्षण बन्छ। तिम्रो तस्बिर मेरो आँखामा चौबिसै घण्टा घुमिरहन्छ। त्यसैले त मेरो निद्रा क्षणभरमा गायब भइरहन्छ। साँच्चै यस्ता कुरा तिमीलाई थाहा हुँदैनन्। मेरा कुरा सुन्दै जाँदा छि! कस्ती खत्तम आइमाई रहिछ जस्तो लाग्यो होला। तिम्रो मनले खिल्ली उडाउँदै होला। कृपया त्यस्तो नसोच तिमीलाई मेरो दिलले नै चाहेको छ। के गरूँ, दिमागबाट हटाउन खोजे पनि मनबाट हटाउन सक्दिनँ। मेरो मनले पनि हारिसकेको छ।
मन पनि कस्तो हुँदो रहेछ भने माया भन्ने चिज के हो, थाहा नपाईकनै माया लाग्दो रहेछ। मेरो वास्तविकताबारे तिमीलाई बताएर तिमीलाई दुखी बनेको देख्न चाहन्नँ। म दाम्पत्य जीवनबाट दुखी छु, पीडित छु। बाहिरबाट देख्दा राम्रो भएर मात्र भएन म कति मायाको भोको छु। माया जिन्दगी बिताउने एउटा अभिन्न तत्त्व हो भन्ने थाहा पाएर पनि थाहा नपाएझैँ गरी बस्नु परेको छ। तिमीसँगको चिनाजानी मेरा लागि सोचिदिने व्यक्तिसँगको चिनाजानी लागेको थियो तर यी सबै मिथ्या रहेछन्। चरी भए भुर्र उडेर आउँथे त्यो पनि गर्न सक्दिनँ। म खुसीमा हुँदा सबै खुसीमा हुन्थे तर म दुखमा हुँदा साथ दिने कोही पाइनँ।
जवानी, सुख, रमाइलो मेरो लागि के हो थाहा छैन। दुःख पोख्ने ठाउँ पनि छैन। मेरो दुख सुनिदिने कोही छैन। हुन त सबैसँग आफ्नो आफ्नो पीडा हुन्छ तर मेरो जस्तो त कसैलाई पनि छैन होला, जुन भित्र भित्र जलिरहन्छ, बाहिर देखिँदैन।
वास्तवमा मलाई दाम्पत्य जीवनको सुख भावीले लेखेकै छैनन्। अब त पीडामा बाँच्ने बानी परिसकेको छ। मेरो आफ्नो पीडा त छँदै थियो, त्यसमाथि फेरि तिम्रो पीडा थपियो। तिमीसँगको भेटघाट र मायाले राहत महसुस भएको थियो, त्यो पनि हरायो। त्यसैले अब आँसु, पीडा, तड्पाइमा नै बाँच्न सिकिसकेकी छु।
आज तिम्रो बोली अचानक सुन्न पाएँ। मेरो आजको दिन सार्थक भयो। म आज खुसीले गद्गद् छु। तर मलाई थाहा छ यो खुसी क्षणिक हो, फोन आउँदा खेरिको एकछिनको भुलभुलैया हो। तिमीसँग फोनमा कुरा गरिसकेर बाइबाई गर्दा पनि धेरै बेर फोन समातेर बसिरहेछु। फोनमा प्रस्फुटन हुन खोजेको मनको ज्वालामुखी मनमा नै रुमल्लिइरहेछ। मनमा भुइँचालो जालाजस्तो भइरहेछ।
तिमीप्रतिको माया किन यति धेरै भयो म आफैलाई थाहा छैन। चारैतिर तिम्रो मायाको छायाले मेरो बाटो छेक्छ। मेरा पाइलाहरू अघि बढ्दैनन्, तिम्रो मायाको छायाको ओतमा पीडाको आँसुले भिजेका परेलीहरू र भरिएको मन लिएर बसिरहेछु। मेरो मन तिम्रो मायाको आवाज र छायाको प्रतीक्षामा ओभानो बनाउने प्रयत्न गर्छु। बिर्सन खोज्दा तिमीबिनाका क्षणहरू तीता र अप्रिय लाग्न थाल्छन्। त्यसैले त मेरो अंग अंगमा तिम्रा तस्बिरहरू खिचिएका छन्, टाँसिएका छन्। तिनै तस्बिरहरू हेरेर दिन बिताइरहेछु।
साँच्चै तिम्रो आवाजको प्रतीक्षामा मेरो समय बित्ने गरेको छ। अरूको फोनको घण्टी बज्न थाल्यो भने फोन फोरेर फालिदिऊँ कि फोनबाटै उसलाई आक्रमण गरूँ जस्तो लाग्छ। फोन आउँदा तिम्रो मायाको श्रद्धामा कसैले छिटो हाल्यो जस्तो लाग्छ। तिम्रो मायालाई मनको सन्दुकमा भोटे ताल्चा लगाएर बन्द गरेर राख्न चाहन्छु; कसैले नचोरोस्, नहराओस्। मेरै साथमा होस्, अजर र अमर रहोस् किनकि यो जुनीमा मात्र होइन अर्को जुनीमा पनि, लोकमा पनि परलोकमा पनि त्यसैको आड भरोसामा मलाई बाँच्नु छ।
समय पनि कति निष्ठुरी रहेछ। तिमीसँगको मिठो भेटघाटको कल्पना गर्दै दिन बिताएकी थिएँ। तर आज तिम्रो मिठो आवाजले पनि खल्लो र निरामय बनाइरहेछ। म छिट्टै आउँछु भनेको होइन, खै त? मान्छे आउने बेलामा फोन गरेर फेरि अर्को डेट दिने? समय निष्ठुरी हो कि तिमी? होइन होइन तिमी त कर्मरूपी रणभूमिमा युद्ध लड्दै छौ। यो सबै समयले गरेको हो।
तिम्रो आवाजमा मेरा खुसीहरू लुकेका छन्, दुखिरहेको मनलाई मलम लगाउने तिम्रा आवाजहरू मेरो नसा नसामा बास गरेका छन्। म सधैँ तिम्रो स्वरको भिक्षा माग्ने जोगी हुँ। जोगीलाई रित्तो हात फर्काउनु हुन्न है। तिम्रा याद बिनाका दिनहरू भगवानले मलाई कहिल्यै नदिउन्। तिम्रो मायाको भिक्षा माग्ने यो मेरो मायाको झोला कहिले भरिन्छ, म थापिरहन्छु। मायाले भरिदेऊ या तिरस्कारले, तर मेरो झोली तिमीले नै भर्नुपर्छ। म सडकमा लडेर मरे पनि मेरो लासलाई तिमीले नै कुल्चनु पर्छ।
अहिले आउँदिनँ भनेर सुनायौ, मेरो धैर्यताको बाँध फुट्यो। मनका वेदनाहरू आँखाबाट आउन थाले। आँसुको मूल पनि अचम्मको हुँदो रहेछ, फुटेको छ फुटेको छ। एउटा राम्रो कुरा भने सिकायौ तिमीले, बाध्यतामा बाँच्न र रमाउन। बधाई छ तिमीलाई।
खै कहाँ छौ तिमी, के गर्दै छौ, कोसँग बसिरहेका छौ? हिँड्दै छौ कि सुतिरहेका छौ या भनौँ कुनै पार्टी वा बैठकमा व्यस्त छौ कि मनोरञ्जनमा कल्पनामा मस्त वा मक्ख छौ के छौ? म यसै भन्न सक्दिनँ। तिमी जहाँ छौ, खुसीसँगै छौ भन्ने मलाई विश्वास छ। मलाई विश्वास छ तिमी हाँसिरहेका छौ।
तर तिमी जे छौ, जहाँ छौ म त सधैँ तिमीभित्र नै छु, तिमी स्वीकार या नस्विकार। त्यो तिम्रो अधिकारको कुरा हो। म सधैँ तिम्रो कल्पनामा नै हराएकी छु। तिम्रो सपना मात्र देखिरहेकी छु। व्यर्थमा तड्पिरहन्छु तिम्रो लागि म। किन किन म तिम्रो कल्पनामा हराउँदा धेरै आनन्दानुभूति गर्छु। तिम्रो कल्पनामा हराएर तिमीसँग खेल्न मन लाग्छ मलाई। तिम्रो तस्बिरलाई अङ्कमाल गरेर मुटु फुटाएर रुन मन लाग्छ। तिम्रो सम्झनामा हराएको बेला कसैले डिस्टर्ब गरेमा त्यसलाई बाघले झैँ झम्टूँ झम्टूँ लाग्छ।
जब अलिकति फुर्सद हुन्छ अनि तिम्रो तस्बिर वरिपरि घुम्न थाल्छ। सबैले तिम्रो मात्र कुरा गरिरहून् जस्तो लाग्छ। तिम्रै प्रशंसा गरिरहून् जस्तो लाग्छ। सबैले तिम्रो मात्र नाम लिइरहून् जस्तो लाग्छ। जब ओछ्यानमा शरीरलाई ढलाउँछु अनि तिम्रो यादमा बलिन्द्र आँसुका धारा चुहिन्छन्। तर तिमीलाई यो कुरा कदापि विश्वास हुँदैन म कति तड्पिएकी हुँ भन्ने कुरा। मेरो यो एकोहोरो तड्पाई र उराठ कल्पना मात्र हो।
सत्य, तिम्रो कल्पना बिनाको क्षण सायद कमै होला। तिमी मलाई सम्झ या नसम्झ मलाई स्वीकार्य छ किनभने आफ्नो मन त आफ्नो वशमा छैन भने अरूको मनको के कुरा गर्नु? मेरो छाती पोल्छ, मुटुको धड्कन बढ्छ, सबै मानसपटलमा तिमी भरिन्छौ, शरीर छटपटिन्छ तर तिम्रो छायासम्म पनि दर्शन गर्न पाउँदिनँ। तिम्रो प्रतीक्षा गर्दागर्दै मेरा दिनहरू बिते। प्रतीक्षाको डायरीमा नै नाम दर्ता छ जस्तो लाग्छ, तिमी विश्वास गर या नगर त्यो तिम्रो कुरा हो।
अब त यो मनले पनि कता-कता हरेस खाइसकेको छ। तिमीले त मलाई बिर्सिसकेका छौ। तिमी अर्कै संसारमा रमाइरहेका छौ। विगतमा सपनाहरू थिए बितिसके, विगत विगत बनिसक्यो अब त वर्तमानमा रमाउने हो नि भन्दै अर्कै दुनियाँमा रमाइरहेका हौला। तिम्रो भावनामा यिनै कुराहरू जागिरहेका होलान्। तिमीले भूतलाई भन्दा वर्तमानलाई नै हेरेका हौला। कता कता याद आइहाले पनि विगतलाई उपहास गर्दै उडाइदिन्छौ होला। कतै मलाई घृणा गर्दै त छैनौ? हुन त म तिम्रो नजरमा घृणा गर्न लायक नै छु। ठिकै छ मलाई घृणा गर्दै गर। म तिम्रो घृणा पनि लाचार बनेर स्विकार्न तयार हुनेछु। घृणाकै शब्दमा तिमीले मलाई सम्झे पनि म खुसी नै हुनेछु।
तिम्रो लागि तड्पिनेहरू धेरै छन्। त्यसमध्येको तिम्रो मनको एक छेउको बिट ओगट्न म सफल थिएँ होला। तिम्रो मनको बिटमा म भए पनि तिमीलाई सम्झने मध्ये भाग घटाउ जे गर, गुणन र जोडको काम र परिणाममा मेरै नाम लेखिनेछ। तिमीलाई विश्वास लाग्दैन, त्यो छुट्टै कुरा हो। हुन त म तिम्रो मनमा आउन लायक नहुँला, मेरो ढक पल्ला निकै तल होला, फूलहरूको बगैँचामा सुकेको बोटको के महत्त्व हुन्छ र हैन?
तिम्रो दृष्टिकोणमा म सानो भए पनि तिम्रो तस्बिर राख्ने ठुलो मन दिएका छन् मलाई परमेश्वरले। तिम्रो माया राख्ने ठुलो भकारी छ मसँग तिम्रो माया, कुबेरको ढुकुटीभन्दा धेरै छ मसँग। त्यसैले म धेरै धनी छु। तिमीलाई यो माया देखाउने कुनै प्रमाण दिन सकिनँ, कुनै उपहार दिन सकिनँ त्यो छुट्टै कुरा हो। तिमी जे सोच, जे गर, जे भन, तिम्रो सबै कुरा मलाई स्वीकार्य छ। तिमी मेरो बाहिरी दुनियाँमा नभए पनि अब त भित्री अंग अंगमा रगतको थोपा थोपामा र प्रत्येक धड्कनको बिचमा पनि तिमी छौ। त्यसैसँग म खेल्छु, रमाउँछु, दुःख सुखमा बाँच्छु ल।
विगतलाई सम्झेर वर्तमानलाई धकेल्नु बाहेक अब म केही गर्न सक्दिनँ। तिम्रो संसार अर्कै छ, मेरो संसार अर्कै छ। आ–आफ्नो मेलोमेसो सम्हाल्नबाहेक मसँग विकल्प पनि छैन, कर लाग्छ भनौँ। कच्चा दिमाग लिएर बरालिनु पनि भएन। पागल भएर भौँतारिनु पनि भएन। तीन घण्टाको फिल्मी दुनियाँ भएझैँ भएर पनि भएन। जीवन लामो छ। जीवन पार गर्न अनेक उकाली, ओरालीहरू, पहाडहरू, भन्ज्याङ, चौतारीहरू एक्लै यात्रा गर्नु छ। कहीँ यात्रामा जम्काभेट भए पनि आँखाले माया दर्साउनबाहेक के नै गर्न सकिँदो रहेछ र? सपनामा रमाउनबाहेक के पो गर्न सकिँदो रहेछ र? देख्दा देख्दैको रातीको सपनाबाट त नचाहँदा नचाहँदै छुट्टिनु पर्छ भने यथार्थको दुनियाँ त धेरै टाढा छ।
सहरको भिडमा म एक्लो छु। मलाई न हल्लाले छुन्छ न रमाइलोले नै। रातको एकान्तमा पनि न तिमीलाई भुल्न सक्छु। गण्डकीको तिरमा लुकिछिपी खेलेको अहिले नै हो जस्तो लाग्छ। माया गर्नेको चोखो माया पनि देखियो। यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी। मान्छे ठुली छु तर किन मेरो मन सानो भयो? उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा तिमीलाई खोज्दै भौँतारिइरहनेछु।
गह भरिएर आँसु टलपलाउँछन् तर लोग्ने मान्छे भएर रुन मिल्दैन। यस्तै बसालेका रहेछौ चलन तिमीले। ठिकै छ तिमीले जितेका छौ हाँस, मैले हारेकी छु रोएरै बस्छु। तिम्रो त्यो सफल जिन्दगीलाई यो दुखीको बधाई छ। मेरो मायालाई न डाँडाले छेक्न सक्छ न हुस्सु र कुहिरोले छेक्न सक्छ। म तिम्रो पुजारी, मेरो मनले तिम्रो पूजा गर्दैमा व्यस्त, मेरो मुटुमा तिमी, मेरो मस्तिष्कमा तिमी, मेरो रगतमा, मेरो साहसमा तिमी, मेरो पहिचानमा तिमी, मेरो भावनामा तिमी, मेरो शिरमा तिमी, मेरो गौरव तिमी, मेरो पौरखमा तिमी, मेरो धड्कनमा तिमी, मेरो शान हौ तिमी, मेरो मान हौ तिमी, मेरो बहादुरीमा तिमी, मेरो गाथामा तिमी, मेरो सर्वोच्च हौ तिमी, मेरोपनमा तिमी, मेरो धनमा तिमी, मेरो शिखर हौ तिमी, मेरो सगर हौ तिमी, मेरो शान्ति हौ मेरो जय जय जय हौ तिमी!
माया दिएर हेर मेरो सम्झनामा आफूलाई बिर्सी हेर, सुनसान रातसँगै एकान्त बनेर हेर। सागरको लहर जस्तै अशान्त बनेर हेर। छातीमा एउटा घाइते मुटु बोकेर हेर। पूजाको फूल जस्तै दिन दिनै मरेर हेर। त्यसपछि मात्रै थाहा पाउँछौ म कति छटपटाइरहेछु। दोबाटोमा बसी हेर दुनियाँले पागल भन्दा कस्तो अनुभव हुँदो रहेछ।
तिम्रो प्रतीक्षा कति गरूँ म? प्रतीक्षाको पनि हद हुन्छ। हद नाघ्न थालेपछि बाँध टुट्न सक्छ। उडेर भेटूँ पखेटा छैनन्, सुटुक्क आऊँ भने हावा होइन, दौडेर आऊँ भने पनि नजिक छैन। कानमा आवाजसम्म सुन्न पाइन्थ्यो। त्यो पनि आजकल प्राविधिक गडबडीले बन्द भयो, म के गरूँ? दुःख सुख जे भए पनि यही कलमलाई थाहा छ तिमीलाई थाहा छैन। तिमी आफैमा मात्र हौला कहिलेकाहीँ सपनामा आउने प्रयास त गर्छ तर तिमी सपना नै देख्न चाहँदैनौ भने म कसरी आऊँ?
अब त मेरो तस्बिर पनि नराम्रो लाग्ला, मेरा स्वरहरू पनि नमिठा लाग्लान्। मेरो कल्पनाले यही भन्छ, वास्तविकता त तिमीलाई नै थाहा होला। तिमी जहाँ छौ सुखी र आनन्दित हुनू। तिम्रा हरेक पाइलाहरू सफलता चुम्न उद्धत रहून्। हरेक पाइलामा सफलता मिलोस्। तिमी सदा सुखी रहेको सुन्न र देख्न पाऊँ म त्यसैमा सुखी र आनन्दित हुनेछु। अब सुत्छु ल। नरिसाईकन सपनामा आइदेऊ। आइदेऊ ल? बाई।