कविता
संस्कृति नै बिर्सिदिँदा
पुर्खाहरूले थर्काउलान कि!
पराई भको ‘नमस्कार’
कोरोनाले फर्काउलान कि!
कार्की दाइको ज्याला कमाइ
विदेशिन रोकिन्थ्यो कि!
रक्सी चुरोट सबै छाडी
छ्याङ र बेरुवा बोकिन्थ्यो कि!
सेम्फु,चम्पा, चमेली छाडी
सर्स्यौले केश बाटिन्थ्यो कि!
बजार डुल्दै किन्नु भन्दा
करेसा पो साटिन्थ्यो कि!
पैठारिने कपासका
बिजक नै फेरिन्थे कि!
हाम्रा जिउमा हाम्रै हातका
खस्रा खद्दर बेरिन्थे कि!
खद्दर लुगा छेक्न जाँदा
माल्दाइको कल चल्ने थ्यो कि!
सधै साँझ धिप धिप गर्ने
उनको चुल्हो बल्ने थ्यो कि!
मुलुक थेग्ने लाउरे युवा
जहाज चढ्न रोकिन्थे कि!
आफ्नै खेतको बाझो फोर्न
काधमा जुवा बोकिन्थे कि!
छिमेकीको चामल छाडी
खेतमा कुलो हालिन्थ्यो कि!
बर्खा यामको मौका छोपी
भत्क्या आली टालिन्थ्यो कि!
पहाडमा घट्ट घुमाइ
आफ्नै बत्ती बालिन्थ्यो कि!
लगन कै दिन छुट्ने जोडी
देशै भित्र पालिन्थ्यो कि!
औषधि र अक्षर हाम्रो
सरकारले बोल्दिन्थ्यो कि!
खेती,कृषि,उद्यम गर्नु
भनी बाटो खोल्दिन्थ्यो कि!
मुलुकमा कलकारखाना
जताततै खोलिन्थ्यो कि!
देशै आज स्वर्ग भयो
जय जय सरकार बोलिन्थ्यो कि!