नारीहरू सुन्दर हुन्छन्
शृंगार मन पराउँछन्
रातो, पहेँलो, हरियो
निलो के-के के-के रङमा
जे हुन् त्योभन्दा
बढी सुन्दरी देखिन्छन् ।
लोग्नेलाई भित्तैमा
पुर्याउने प्रतिस्पर्धामा
रहेकी नारी
लगाउन छोड्दिन
टीका, चुरा
अदालतमा लोग्नेविरुद्ध
बयान दिइरहेकी
उसले लगाइरहिछे
सिन्दूर पोते
लोग्नेसँगका
सहवासमा थलिएकी ऊ
थाकेकी छैन रातो रङसँग
प्रिय पुरुष !
सुन...
अब, त्यो रातो
तिम्रो नामको होइन
तिम्रो जैविक अस्तित्वसँग
या तिमी साथ हुनु नहुनुसँग
सिन्दूर पोतेले केही अर्थ राख्दैन।
यी मात्र शृंगार हुन्
आँखामा लगाउने गाजलजस्तै
ओठको लिपिस्टिकजस्तै
जुन इच्छामा-फुर्सदमा
सजिन्छन्
र, अनिच्छा र बेफुर्सदीमा
छेउछाउ पनि देखिँदैनन्
सिन्दूरले तिम्रो दीर्घायुको
कामना गर्दैन
पोतेले तिमीप्रतिको बफादारीलाई
पनि जनाउँदैन
अब तिमीले बुझ्नुपर्छ
यी मात्र सौन्दर्य प्रशाधन हुन्
र, नारी यिनलाई असाध्य प्रेम गर्छे
नारी शृंगार मन पराउँछे।।