कविता
म जून लाई बोलाउँछु – बोल्दैन
म फूल लाई बोलाउँछु – बोल्दैन
निहारिका लाई बोलाउँछु – बोल्दैन ।
बोल्ने त यहाँ मान्छे मात्र रहेछ,
कोही कम्युनिष्ट भएर बोली रहेछन्
कोही कांग्रेसनिष्ठ भएर बोली रहेछन् ।।
म देउता लाई प्रसाद चढाउँछु – खाँदैन
परस्तर मूर्ति मा दूध चढाउँछु – खाँदैन
मन्दिरमा गंगा जल चढाउँछु – खाँदैन ।
खाने त यहाँ मान्छे मात्र रहेछ,
कोही अर्ब भन्दा तीस कम करोड खाइ रहेछन्
कोही ललीता निवास, गोकर्ण र रोड खाइ रहेछन् ।।
म मार्न खोज्छु भोकमारी लाई – मर्दैन
मार्न खोज्छु वर्गीय विभेद लाई – मर्दैन
मार्न खोज्छु कमजोर सत्ता लाई – मर्दैन
मर्ने त यहाँ मान्छे मात्र रहेछ,
कोही राजु सदा भएर मरी रहेछन्
कोही साउदीमा ‘गधा’ भएर मरी रहेछन् ।।
म लुट्न चाहन्छु व्याप्त अन्याय – लुटिँदैन
लुट्न चाहन्छु अदालतको बेमानी – लुटिँदैन
लुट्न चाहन्छु अप्रहरी र नातावाद – लुटिँदैन ।
लुटिने त यहाँ मान्छे मात्र रहेछ,
कोही निर्मला पन्त भएर लुटिइ रहेछन्
कोही घर भन्दा अन्त भएर लुटिइ रहेछन् ।।
जलाउने मन हो विभेदको तन्ना – जल्दैन
जलाउने मन हो कुरीति र कुसंस्कार – जल्दैन
जलाउने मन हो अमानवीय प्रथा – जल्दैन ।
जलाउने त यहाँ मान्छे लाई मात्र रहेछ,
कोही दाइजो कम हुँदा जली रहेछन्
कोही माया को सरगम हुँदा जली रहेछन् ।।
म उडाउँछु भन्छु ध्वजा वाहक जहाज – उड्दैन
उडाउँछु भन्छु अन्तरिक्षमा रकेट – उड्दैन
उडाउछु भन्छु दशैं मा स्वदेशी चंगा – उड्दैन ।
उड्ने त यहाँ मान्छे मात्र रहेछन्,
कोही मुना का मदन भएर उडी रहेछन्
कोही घरमा कालो धन भएर उडी रहेछन् ।।
म थुन्न अह्राउँछु माफिया लाई – थुनिँदैनन्
थुन्न अह्राउँछु घुसखोर कमिसनर लाई – थुनिँदैनन्
थुन्न अह्राउँछु शासक को आदेश लाई – थुनिँदैनन्
थुनिने त यहाँ मान्छे मात्र रहेछन्
कोही गोविन्द केसी भएर थुनिन्छन्
कोही देश मै परदेशी भएर थुनिन्छन् ।।