माघ १५ पछि वसन्त पञ्चमीले बोलाउने
न्यानो वसन्तमा
उभौलको साइत पारेर खुल्ला आकाशमा
स्वच्छन्द पखेटा फिजाउदै
टालाटुली खेलेको भूगोलमा फर्किने पंक्षी जस्तै
फर्कन मन छ मलाई तिम्रो जन्मथलोमा
तर, सखी म कहिल्यै उड्न सकिनँ।
सिमराको आकासमाथि श्री एयरको जेट जस्तै
रफ्तारमा तिमी कर्मशील यात्रामा उडी रहँदा
मलाई नि रहर नभएको कहाँ हो र तिमीसँग उड्ने
तिमीसँग जहाजको पछिल्लो सिटमा बसेर
अनन्त हिमशैलसम्म आँखा पुर्याउदै
रहरलाग्दी एयर होस्टेजले दिएको पिनट र कोक
मुखमा राख्दै, तिमीसँगै कर्मशील यात्रामा निस्किने,
तर सखी, म कहिल्यै उड्न सकिनँ।
तिमी कर्ममा लिप्त भएर साधनामा
रमाउने मान्छे
नुनको सोझो गर्दा तिमी पुग्यौ कहिले
पूर्व त कहिले पश्चिम
जादैछौ फेरि मधेसको सिमान्त रेखामा
कर्मका पाइलाहरु लम्काउन
सक्नेछौ तिमीले हरेक चुनौतिलाई
आँखै अगाडि लम्प्सार पारेर देखाउन
किन्तु, मलाई एउटै कुराले सताउदैछ
कसरी सहन सकौली तिम्रा गुलाबी गालामा
शितका थोपाले शितलहर जमाएको
कसरी सहन सकौली तिम्रा मुलायम हातहरुमा
सालघारी छिचोल्ने सिरेटोले नमिठो स्पर्श गरेको
र, कसरी सहन सकौली तिम्रो सुरम्य केशमा
ट्युबेलको जलले बिहानै कलकल गरी नुहाएको,
सखी, सक्ने भए त सिमलको भुवा बनिदिन्थेँ
उडिदिन्थेँ भित्री मधेस हुँदै तलको मधेससम्म
सुटुक्क पसिदिन्थेँ तिम्रो सयन कोठामा र,
पारिदिन्थेँ न्यानो माहौल सिमलको भुवा गासेर,
तर सखी, म किहल्यै उड्न सकिनँ।
रुसको समिपबाट चल्ला हुर्काउन
कोशी टप्पु र अरुण उपत्याकामा डेरा खोज्न
बिना भिषा फ्री टिकट उडेर आउने
क्यारेबियन चरी जस्तै
मलाई पनि उडि आउन मन छ तिम्रो मधेशमा
अग्रगामी भविष्यका प्रगतिशील सपनाका
र, उन्नत भविष्यका समुन्नत योजनाका
होनहार बचेराहरु हुर्काउन
तर सखी, म कहिल्यै उड्न सकिनँ।
रातभरिको झरिले हिउँ वर्षात गरी
सेताम्य हुलिया बोकेका पहाडहरुमा
घामको कमलो लाली पर्दा छाउदा
पहाड छोडि उड्ने निख्खर सेतो कुहिरो झैँ
म पनि उडेर आइदिउँ लाग्छ तिम्रो सामास्रज्यमा
सारा मनरुपी रुपसी दरबार छोडेर
ढाकि दिउँ लाग्छ अरु सारा अप्ठ्याराका पहाडहरु
र बनिदिउँ लाग्छ दुखको सहारा
तर सखी, म कहिल्यै उड्न सकिनँ।
तिम्रो घर तलको खेतमा शालिधानले
लहलहाउदै शरदचन्द्रको शित पातमा टल्काउदै
दसैँको झल्को र झझल्को दिदै गर्दा
जसरी एक दावली बालक जम्मा भएर
आकाशमा चंगा उडाउदै उमंग मनाउछन्
ठिक त्यसैगरी, तिमीले विजयको सिम्रिक
हावामा उडाउदा
म पनि उडिदिउँ सिम्रिकसँगै र नाचि दिउँ
तिम्रो विजयको लयमा लाग्दछ,
लाग्दछ हावासंगै गुनगुनाउ मपनि आकाशमा
तिम्रो विजय र शालिनताको गीत
तर, सखी म किहल्यै उड्न सकिनँ।