सियोको टुप्पोले मुटु बिझ्यो दमै दाई
आजलाई देशलाई देखेर
झरझर पातमा किराले दमै दाई
देशदशा झलक्कै देखेर ...
केही वर्षअघि शिशिर योगीले गाएको यो गीत आजको दिनमा झनझन् सान्दर्भिक हुँदै गएको छ।
देश र देशको सरदहभित्र जीवन अड्याएर बाँचेका मानिसहरू निरिह बन्दै गएको समयमा यी गीतका हरफले मानिसको मुटु बिझाउनु स्वभाविक छ। देश एकपछि अर्को गर्दै कीराले प्वालैप्वाल पारेर थोत्र्याएको पातजस्तो बन्दै गएपछि शिशिरले यो गीत गाएका थिए।
गीतको रचना भने शिशिर नजन्मँदै नेपाली साहित्यका एक जना महान शिल्पीले दुरचेतको कल्पनशीलता भरेर गरेका थिए आजभन्दा झण्डै साढे पाँच दशकअघि।
कुठाउँमा जन्मिएका सेक्सपियर भनेर चर्चा गरिने नेपाली साहित्यका ती धरोधर थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा।
महाकवि देवकोटाका रचना पढ्दा लाग्छ उनी केवल लेख्ने काम पूरा गर्नका लागि मात्रै लेख्दैनथे। उनका लागि लेख्नु समाजप्रतिको दायित्व सचेततापूर्वक पूरा गर्नु पनि थियो।
देवकोटाको समयमा परम्परागत ‘ए क्लास’को बाहुन परिवारको छोराले टुपी काट्नु, बिहान सन्जे अलाप्दै ननुहाउनु, रुद्री बाचन नगर्नु एउटा भयानक अपराध मानिने अवस्था थियो।
घरको वरिपरि ढुङ्गे पर्खाल लगाएर मानिसले जीविकाका लागि रोजेको पेशाका आधारमा विभाजित वर्ण व्यवस्थाका सदस्यहरूले जदौ नगरी पर्खालबाट भित्र छिर्न नपाइने अवस्थामा उनले जातीय उत्पीडन र मानिस-मानिस बीचको भेदभावको विरूद्ध जुन ढंगमा विद्रोहात्मक चेतका साथ लेखे अहिले तिनै चेतको माला उनेर निजी जिन्दगी चम्काउन राजनीतिको माला जप्दै हिँडेकाहरूले समेत चुनावी नारामा उनका कविताका हरफ टाँसी हिँड्नुपर्ने अवस्था विद्यमान छ।
आजको चेतना र सूचनाको सञ्जालले मानिसहरू विर्मशको एउटै कचौरामा जम्मा भएको दिनमा जसरी जातपातको विषय उठाएर आफूलाई असली क्रान्तिकारी दाबी गर्दै ठूल्ठूला विलासी दरबार र घरबार जोड्ने कर्ममा मानिसहरू लागेका छन् विना कुनै दाबी जातिभेद विरूद्ध देवकोटाले आगोको गीत लेखेर कैयौं अभावका दिनहरू झेले:
ईश्वरको मूर्ति मान्छे
मान्छे गर्छ हेला
एउटै मासु एउटै रगत
एउटा अर्को केलाई
(सियोको टुप्पोले)
को यो फार्ने को यो पार्ने
मानिस–मानिसमा अन्तर
(चुकुल)
भोटेको पाउ समाई भन्छन् बिचरा मदन
इश्वर मेरा हे भोटे दाई π क्या राम्रो बचन
(मुनामदन)
अमानिस ठानिएका जनजाति र दलितहरूलाई हेप्ने, आफूभन्दा अघि हिँडे बाटै बिटुलो हुन्छ भन्ने अहंकारी चेतना रहेको समाजमा बाँचेर देवकोटाले एउटा भोटेको खुट्टालाई प्रेमले छोएको र मानिस जातको अहंकारी थाङ्गने रवाफले हैन दिलभित्र रहेको चेतनाको जाज्वल्यमान दियोको निरन्तर प्रज्वलनले ठूलो हुन्छ भनेर लेखिदिए।
आज समानता, जातीय नश्लचेतना खेतीपातीको सबभन्दा सजिलो टारीखेत भएको दिनमा सबै जाति एउटै हो, सबको रगत रातै हो भन्नु बहादुरीको कुनै पहाड फुटाउनु होइन।
तर मानिसहरूले विद्यालय जान राणा शासकहरूको उर्दी थाप्न पर्ने, तिनै राणाहरूले मानिसलाई जात दिन या झिक्न सक्ने, स्वतन्त्रतालाई घोडा-तबेला दरबारका कारिन्दामार्फत वितरण गरिने दिनमा तिनै राणाहरूको छाती छेउ उभिएर झ्याउरे भाकामा उनले युग चेतनाको दियो बाल्ने जुन धृष्टता गरे त्यो कुनै भयानक विप्लवभन्दा कम थिएन।
अर्को मानिसलाई छोएर सुनपानी नहाली घर छिर्नु अपराध ठहरिने चेतना बोकेर बाँचेको समाजमा देवकोटाले सामाजिक कुरीतिमाथि जसरी धावा बोले त्यो एक हदसम्म दुस्साहस नै थियो राणाकालका दिनमा।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छु‘दैन
मानिस ठूलो दिलले हुन्छ जातले हु‘दैन
(मुनामदन)
आफ्नो दरबार ताक्दै खान लाउन नपाएका मानिसहरूको भीड सोझिनसक्ने अर्थ राजनीतिको भित्री चेत छामेका शासकहरूले मानिसलाई जे दिन्छन् भगवानले दिन्छन् भन्दै ठाउँ- ठाउँमा ढुंगा र पत्थरका मूर्ति खडा गरेर आशाको भीख माग्न अभ्यस्त बनाएको बेला त्यो भ्रमको चेतनामाथि आगो लगाउँदै देवकोटा शालीनताका साथ लेख्छन्:
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
मानिसहरुको काँध चढी
कुन देवपुरीमा जाने हो
–
फर्क फर्क हे जाऊ समाऊ
मानिसहरुको पाऊ
मलम लगाऊ आर्तहरुले
चहराईरहेको घाऊ
–
सडक किनारा गाउँछ इश्वर
चराहरुको तानामा
बोल्छ इश्वर मानिसहरुको
पीडा, दुखको गानामा
(यात्री)
राजा महाराजाको चाकरी बजाएर चुल्हो उज्यालो बनाउनुलाई पुरूषार्थ ठानिने समयमा द्रव्यको क्षणिक मोहबाट निस्केर मानिसको जीवनका प्राथमिकताहरूलाई अत्यन्त प्रष्टताका साथ उनले लेखे:
गरिब भन्छौ म झैं दुखको धनी
मिल्दैन संसारभरि कतैपनि
बिलासको लालस–दास छैन म
मीठो छ मेरो रसिलो परक्रम
(गरीब)
०००
सजिलो याममा जो पनि पहाडको टाकुरामा उक्लन्छ। हुरी चलेको बेला पहाडको टाकुरामा सतिसालझैं उभिनु र उभिइरहनु चाहिँ दुरुह छ। समकालीनहरू पनि लेखिरहेकै थिए। तर तिनको लेखनमा भान्छाको मेसो ज्यादा थियो। ती लेख्थे र दरबारबाट जीवनका लागि सजिलो बाटो बक्सिस पाउँथे जुन बाटो तिनको घरको दैलोसम्म ढलिमलि गर्दै जान सकिन्थ्यो। तर जनताका लागि तिनको लेखनमा न जीवन थियो, न जोवन।
केही औंलामा गन्न सकिने जीवनमुखी लेखकहरूको सूचीमा देवकोटा पनि थिए जसले मानिसलाई ज्ञानको उज्यालो उसकै जीवनमा प्रवेश नगराई मानिस उठेर हिँड्न सक्दैन र बाटो छाम्दा छाम्दै जीवन निखारेर सकिन्छ भन्ने चेतका साथ आज तपाईं हामीले केन्द्रीय विश्वविद्यालय भनेर चिनेको त्रिविवि स्थापना गरे।
समाज विभिन्न रंगहरूमा बाँच्छ, सभ्य समाजका लागि साहित्य कला त्यस्तो रंग हो जसलाई छामेर मानिसको मनमा सप्तरंगीे आभा पैदा हुन सकोस् भनेर उनले साहित्य कलाको इतिवृतिका लागि प्रज्ञा प्रतिष्ठानको खाका कोरे।
कुवाको पानीझैं जमेर बसेको मान्छेहरूको मनको चेतनाको तलाउमा उनले ढुंगा हाने र समाजलाई लामो समयका लागि तरंगित पारिदिए व्यवहार र लेखन दुबैबाट।
कस्तो भएको छ भने उनले उतिबेला लेखनमार्फत् हानेको चेतनाको ढुंगाले नेपाली समाजको तलाउमा आजसम्म तरंग उठिरहेको छ।
मानव सुत्दछ मर्दैन
रात सधैं पर पर्दैन
यो युगको हो सन्नाटा
निशा दभिन्छ यो सुनसान
आफ्नै खरानीबाट ऊ जाग्दछ
(विहानको आकासलाई)
ह्रदय भनेको त्यस्तै कान हो
सुन्दछ जसले युगचित्कार
शरीर भनेको त्यस्तो साधन
खिइ‘दै जसले लक्ष्यमा सत्कार
(उद्बोधन)
मट्टीको छ यो शरीर
उठ्छ बन्छ हावा
देश निम्ति चंकिनेछ
गर्छ जो त धावा
(पल्टन)
लेऊ हात हात लाठी
लाम लाग सारा
मार्न जाऊ देश सत्रु
पोख्न रगत धारा
(पल्टन)
संचारको उति विकास भएकै थिएन। समाजमा वर्गीय समस्या चर्किसकेकै थिएन। राजनीतिक संघर्ग शक्ति हात पार्ने उद्धेश्यलाई केन्द्रमा राखेर भएको थियो।
गोरखापत्र सरकारी सूचना बेचिरहेको थियो श्री ३ महाराजको भित्रीनि पट्टीको फलानोले फलानो सन्तान पैदा गरिबक्स्यो भनेर र रेडियो नेपाल सरकारी सूचनाहरूको मनोमानी वितरण गरिरहेकै थियो लाइसेन्स लिएर दिइएका रेडियो सेटहरूमा।
केही साहित्यिक पत्रिकाहरू निस्किएका थिए, तर छाप्थे आफ्नै समूह सदस्यको तारिफ भजन र साहित्यका केही स्वेच्छिक उत्पादनहरू। तिनले लेख्न थालेका थिए–देवकोटा बौलायो।
दूरचेतनाको दियो बालेर चलिरहेको समाजको (कू)रीति विरूद्ध प्रश्न गर्नु आज पनि बागी बनिने अवस्थामा देवकोटाले त्यो समयमा समाजका परम्परागत व्यवस्थाका विरूद्ध शालीनतापूर्वक अवज्ञाको गीत सुसेल्न थालेका थिए। त्यसो गर्नु या त जघन्य अपराध थियो या त पागलपन थियो यथास्थितिका पुरोहितहरूको भागवतमा।
तिनले व्यवस्थाको पूरै तागत केन्द्रिकृत गरेर देवकोटालाई पागल करार गर्ने दुस्साहस गरे। तर देवकोटा सानातिना हुरीहरूले उडाइ लैजाने पातलो पानाहरूमा लेखिएको गीतका हरफ थिएनन्।
उनी त अन्तरचेतनाबाटै समाजका लागि उज्यालो फैलाउँदै बलिरहेका एउटा त्यस्तो दियो थिए जो केवल बल्न र बलिरहन मात्र जान्दथ्यो महादियोझैं। जो आज पर्यन्त बलिरहेकै छ, तिनले लेखे झन् निडरता र प्रतिरोधका साथ:
मैले वसन्तको कोकिल सुनेर
एक सूनसान औंसीले मलाई निशास भएर
म तूफानसँग एकदिन गीत गाउन थालेको थिएँ
जब भँगेरे–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूठले ललकार्छ
जव निमुखा दुनियाँ कालो जहर पिउँछ
जव मानवले मानवलाई मानव ठान्दैन साथी
यो अमानवको मानव जगत्लाई
एक आगोको लप्काले हेर्दछु साथी
(पागल)
उनी पैसालाई लल्कार्थे र चुनौती दिन्थे। त्यसैले त उनी लक्ष्मीको वरदान भनेर परिवारले राखेको नामविपरीत सरस्वतीको बरदपुत्र बनेर बाँचिरहे जीवनभर। को सक्दछ आफूले महिनाभरि काम गरेर हात पारेको तलब निमुखाहरूलाई बाँड्दै हिँड्न, लगाइरहेको कोट जाडोले कठ्याङ्ग्रिएको मानिसको ज्यानमा पहिराइ दिएर फ्याङ्गफ्याङ्गती हिँड्न ?
त्यसो गर्न सक्ने तिनै देवकोटा थिए जो बाल्दथे मनमा सधैंभरि प्रेम, मानवता, चेतना र सुसंकारको दियो र बालेरै हिँडिरहन्थे जता गएपनि।
उनको मानवीय प्रेमको दायरा कोरा भावुकताको जगमा अडेको थिएन, त्यसले उनको जीवन व्यवहारमा अनुवाद हुने मौका पाएको थियो भन्ने कुरा उनको जीवन अध्ययन गर्ने हर कोही साधारण विद्यार्थीहरूले थाहा पाउन सक्छ।
हाम्रा धन सब माटो धुलिन्छन्
भावपुतली उड्छन् भुलिन्छन्
(शाहजहाँको इच्छा)
हुन्छन् यसैकन भजी सब काटमार
हुन्छन् नजीक यसका सब धर्मसार
(पैसा)
घर एक बनाउँ मिलि सबले
जग होस् पृथिवी
तर स्वर्ग फूले सरीहोस्
दिल–फूल खुशी रहने
लहराहरु तुल्य विचार हुने
(झाँगघर)
प्रेम, मानवता, करुणा र चेतनाको पुञ्ज फैलाउँदै उनी मानिसका मनभरि सधैं बलिरहने गरी सल्काउन चाहन्छन् ज्ञानको दियो:
नटिप्नु हेर कोपिला
नचुड्नु पाप लाग्दछ
न घाऊ चोट लाउनु
सडेर चित्त पाक्दछ
न चित्त है दुखाउनु
डसेर ऑशु बग्दछ
(पाप लाग्छ)
०००
१९९६ मा हाकिम मास्टर खड्गमान मल्लको प्रबन्धबाट छापिन सुरू गरेको भनेर मुनामदनको भित्री पातोमा लेखिए पनि यसैको प्रकाशकीयमा १९९२ को प्रथम संस्करण उल्लेख गरिएको छ।
१९९६ मा एक हजारप्रति प्रकाशन भएको मुनामदन २०६५ को पच्चिसौं संस्करणमा आइपुग्दा १ लाखप्रति प्रकाशित भएको छ।
समयको रङ्खतारसँगै मुनामदन झनझन् लोकप्रिय बन्दै जानु रोमान्चक मात्रै छैन यसको अन्तर्यमा गहिरो सन्देशसमेत छ। १९९८ मा दुई हजार छापिएको सो कृति विसं २००२ मा हाकिम मास्टर सागरमणि आदीको प्रबन्धबाट नेपाल भाषा प्रकाशन समितिबाट तेस्रो संस्करणको रूपमा दुई हजारप्रति प्रकाशित भएको देखिन्छ।
नेपाली साहित्यको इतिहासमै सबैभन्दा उर्बर समय मध्यमा पर्ने २००२ देखि २०३३ को बीचमा मुनामदन कति प्रति छापियो उल्लेख छैन।
देवकोटा स्वयंले भूमिका लेखेर परिवर्तित गरी २०१६ सालमा आठौं संस्करण प्रकाशित भएको र २०२५ र २०२७ मा समेत थप संस्करण प्रकाशित भएको कमल दीक्षितको भूमिकाले खुलाएको भए पनि २००२ को तेस्रो संस्करणबाट २०३३ मा एकैपटक चौधौं सस्करणमा बीस हजारप्रति प्रकाशित भएको उल्लेख छ।
२०३३ यताका हरेक संस्करण दुई या तीन बर्षको बीचमा लगातार लोकप्रियताको सि‘ढी चढिरहेको देखिन्छ। सोह्रौ संस्करण २०३८ मा पच्चिस हजार प्रति प्रकशित भएको कृति बीसौं सस्ंकरणको रुपमा २०४७ मा पचास हजार र वाईसौं संस्करणको रुपमा २०५४ मा एक लाखप्रति प्रकाशित भएको छ।
२०५४ यता निरन्तर तीन संस्करण एक लाखका दरले प्रकशित भईरहेको छ। मुनामदन मात्रै होइन देवकोटाकृत प्राय पुस्तकहरुको प्रकाशन दोहोर्याएर निस्किएको छ। पॉचभन्दा बढी संस्करण निस्किएका पुस्तकहरुको संख्या थुप्रै छ। लक्ष्मी कथासंग्रह, भिखारी, मुनामदनले १८ देखि २५ संस्करणको रेकर्ड राखेका छन्।
यसमा एउटै संस्करणका पुर्नमुद्रणलाई समाबेश गरिएको छैन। हिजोको समयमा पुस्तक प्रकाशकहरु दुर्लभ रहेको, पठन संस्कृति मृतप्राय रहेको, लेख्नु भनेको फुर्मासी काम गर्नु हो भन्ने मान्यताको माला जपेर बसेको समाजमा लेख्नु, लेखिरहनु र निरन्तर लेख्नु भनेको सामान्य कुरा थिएन। आजकै समयमा पनि एउटा सक्रिय लेखकले आङ्खनो जीवनकालमा कति थान पुस्तक लेख्न सक्छ ? त्यो पनि स्तरीय पुस्तकहरुको संख्या कति हुनसक्छ ? देवकोटा नै थिए जसले नेपाली साहित्यमा बनाएको स्तरीय र निरन्तर लेखनको मानक आजसम्म तोडिन सकेको छैन।
चम्पा उपन्यास, लक्ष्मी कथासंग्रह, र कविताहरुमा कुञ्जिनी, कृषिवाला, गाइनेगीत, दुष्यन्त–सकुन्तला भेट, पुतली, भिखारी, महाकवि देवकोटाका कविता, मुनामदन, राजकुमार प्रभाकर, रावण–जटायु युद्ध, लक्ष्मी कवितासंग्रह, लक्ष्मी गीतिसंग्रह, लूनी, सीताहरण, सुनको बिहान, ह्मेन्दु तथा महाकाब्यमा पृथ्वीराज चौहान, शाकुन्तल, सुलोचना, बनकुसुम प्रकाशित भएका छन्।
सावित्री सत्यवान नाटक, दाडिमको रुखनेर, लक्ष्मी निवन्धसंग्रह, प्रसिद्ध प्रवन्धसंग्रह जस्ता निवन्ध र स्रष्टा देवकोटा: द्रष्टा परिवेशमा (राजेन्द्र सुवेदीद्धारा सम्पादित) नामक समालोचना देवकोटाका प्रमुख रचनाकृतिका रुपमा चर्चित छन्। यी सबका अलवा पनि धेरै मानिसहरु आज पनि देवकोटा भन्ना साथ मुनामदन सम्झन्छन्। सामान्यत हाईस्कुल पास गरेका प्राय विद्यार्थीको घर–कोठामा मुनामदन भेटिन्छ। धेरैलाई यसका थुप्रै हरफहरु गलामै कण्ठस्थ हुनसक्छ।
देवकोटा स्वयंले पनि मृत्युअघि शान्तभवन अस्पतालमा भनेका रहेछन्–‘मुनामदन बाहेक मेरा अरु सबै कृति जलाईदिए हुन्छ।’ तर उनलाई अद्योपान्त अध्ययन गर्नेहरु प्राय कृतिहरुलाई उत्तिकै महत्वपूर्ण ठान्दछन्।
आज विश्वद्यिालयका कोर्षहरुमा पढिने कारण मात्र हैन समसामयिक बहस र लेखनहरुमा देवकोटा अनिवार्य बिषय हुनुको कारण लेखनमा उनको चेतनधर्मिता नै हो भन्नु जायज हुन्छ। उनका कृतिहरु एकपछि अर्को गर्दै झन्झन् ठूलो संख्यामा पुर्नमुद्रण भईरहनु त्यसको प्रमाण हो।
उनको लेखनलाई लिएर उनकै समयका लेखक वालकृष्ण समले कतै लेखेका छन्–महाकवि ‘लक्ष्मी प्रसाद देवकोटा तीनचोटी जन्मे–मुनामदनसित, साकुन्तलसित र पागलसित।’ सुनको बिहानको भूमिकामा कमलमणि दिक्षितले लेखेका छन्–‘महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्छ।’
उनमा लेखनको एउटा त्यस्तो बिशेषता थियो, उनी जुनसुकै लेखनमा पनि आफ्नो उज्यालोलाई झिलीमिली बनाएर बालिदिन सक्थे र पढ्नेहरुको मनमा उज्यालो छर्न सक्थे। एउटा लेखकको लेखकीय सामथ्र्य त्यो भन्दा बढी के नै हुन सक्ला र ?
लेखपढै गर्न नजान्ने हाम्रा आमाहरुका मुखमा आजपनि मुनामदनका यी झ्याउरे पक्तिंहरु कण्ठस्थ झुण्डिनुको कारण देवकोटाको लेखनमा समाज र समाजलाई भोगि बॉचेका मानिसका कथाहरुलाई टपक्कै टिपेर लय दिनसक्नु प्रमुख कारण थियो:
जूनमा हुन्छ कलंक, हुन्न सतीको मनभित्र
मानिसहरुको मनको जगत गर्दिन्छ पबित्र
सुत्नेलाई त्यस्तै जगाउने शक्ति सतीको बचनमा
भाई सतीको बचनमा
–
घरमा मेरी ती बूढी आमा ती बूढी मर्नेछिन्
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछिन्
–
इश्वर तैले रचेर फेरि कसरी बिगारिस ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी पछारिस् ?
–
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
(मुनामदन)
०००
देवकोटाको लेखनमा पण्डित, मन्दिर र इश्वरका कुरा बारबार दोहोरिईरहन्छन्। पण्डित तिलमाधव देवकोटाका छोराले जन्मदै देखि देख्दै भोग्दै आएको ब्यावहार लेखनमा आउनु स्वाभाविक थियो। गुरुकुलकालीन शिक्षाको परम्परागत छाप र त्यसमा संलग्न पात्रहरु उनको लेखनमा आउने नै भयो।
‘शिशिली आफ्नो बिहे आफैं गर्छिन’ शीर्षकको कथा त्यो समयमा एउटा आक्रामक बिद्रोह थियो। बावुआमाले खोजिदिएको बेहुलास‘ग नाकमा सि‘गानको धारा छुट्न बन्द नहु‘दैको पुतली उमेरमा पुतलीझैं सि‘गारिएर बिहे गरिने समाजमा हुर्केर बसेकी छोरीले दलित युवकस‘गको प्रेमलाई निष्कर्षमा पुर्याउने गरी जब घरमा विद्रोह बोल्छे प्रष्ट छ समाज परम्पराको घोचो लिएर टाउको फुटाउन अघि बढ्छ।
तर देवकोटा निर्भयका साथ कथाकी पात्र शिशिली मार्फत भन्छन्–‘म बेश्या हुन्छु तर दोहोरो इच्छाले हुन्छु।’ आफुले प्रेम गरेको यूवकको जातलाई लिएर परिवारले पानी काड्ने चेतावनी दिए पनि प्रेमप्रति प्रतिबद्ध युवतीलाई कथामा उभ्याएर मानिसका पेशागत योग्यताका आधारमा विभाजित वर्ण ब्यवस्थाको कुरुपताप्रति सिधै हमला गर्दै देवकोटा त्यसलाई इन्कारको भाषामा लेख्छन् पात्रमार्फत्–‘जातभातमा कसैलाई पारेकी छैन। तिमीहरूलाई के, पानी न खाओ, म खुवाउन चाहान्न।’
स्वच्छन्दतावादी (रुमानी) धारका जनक भनेर समालोचकहरुले उनलाई थुप्रै पटक लेखेका छन्। जे जे भएपनि उनी सामाजिक दायित्वबोधका साथ लेख्ने एकजना उच्चकोटीका लेखक थिए। यद्यपि उनले शायद लेखनको कुनै प्रारम्भिक चरणमा हो या कहिले आङ्खनो लेखनको मुलगोरेटो छाडेर केही अप्रिय गल्छेडाहरुमा पनि खुट्टा राखिहेरेका छन्।
‘श्रीपेच’, ‘राजा केबल एक कलम देऊ’ जस्ता शीर्षकीय कविताहरु देवकोटाको लेखनको मूलधार भन्दा बाहिरका अपवाद हुन्। यो दुनियॉमा कोही पनि मानिस अपवादबाट मुक्त छैन। देवकोटामात्रै कञ्चन आकास भइदिऊन् भन्ने हाम्रो आग्रहको धरातलले मानवीय चेतको आकासलाई चियाउन भुल्नु हुन्न। परम्परागत पण्डित परिवारमा जन्मि हुर्केका उनमा जीवनको शुरुवाती कालमा ईश्वर, राजा र भाग्यमा गहिरो प्रभाब नहुने कुरै भएन।
उनको लेखनमा ईश्वर र करुणा बारम्बार दोहोरिन्छ तर त्यो सबै लेखनको केन्द्रमा मानव कल्याण र उत्पिडनमा परेका मानिसहरुप्रतिको अति प्रेमबाट प्रभावित छ।
हाईहाई अंग्रेजी, के नेपाल सानो छ ? गधा बुद्धिमान कि गुरु ? सत्य सोझो छ जस्ता बिशेष चेतनाले भरिपूर्ण उच्चकोटीका निवन्धहरुका केही नमूना हुन्। उनी निवन्धमा प्रखर ब्यंग्यचेत प्रयोग गर्छन् उज्यालो पहिरनमा ठॉटिएर मानिस, समाज, संस्कृति र सभ्यतामाथि भद्धा मजाक गरेर रमाउनेहरुप्रति।
०००
बिक्रमाब्द १९६६ कार्तिक २७ गते गाई तिहारे औसी भनेर चिनिने लक्ष्मी पुजाको दिन जन्मिएका देवकोटाले आङ्खनो नश्वर शरीरलाई २०१६ भदौ २९ मा क्यान्सरका कारण शाान्तभवन अस्पतालमा त्याग गरे।
तिर्थमाधव देवकोटा भनेर न्वारनमा नाम पाएका उनले लक्ष्मी पुजाको दिन जन्मिएकाले पाएको लक्ष्मीको प्रसाद अर्थात् लक्ष्मी प्रसाद (परिवारको मुखौले नाम)ले जीवन चलाए र त्यसैबाट बॉकी जगत्को मनमा लामो समयसम्म गु‘ड बनाएर बसे। आजपर्यन्त मानिसहरुको मनको न्यानो गु‘डमा बसिरहेकै छन् र कोरलिरहेछन् निरन्तर चेतनाको तेज उडान भर्न सक्ने चल्लाहरु।
तिनले जीवनमा थुप्रै ऑधी भोगे अभाव, तिरस्कार, हेय, नाम, बद्नामी र मानवीय प्रेमको। तर लेखन र जीवन ब्यावहारबाट कहिल्यै प्रेम, करुणा, मानवियता र प्रगतिवादलाई बसॉई सर्न दिएनन्।
चुरोटको अम्मलमा लागेका देवकोटालाई सत्ताको अम्मलले कहिल्यै सिरकभित्र न्यानो दिएर सुताउन सकेन। आङ्खनो लेखन स्वाभावको विपरित मन्त्री पदको सपथ लिएर पनि उनले नेपाली समाजलाई पिरेनन् बरु धन्य बनाए। विश्वविद्यालय, विद्यालय स्थापनाको लहर, प्रज्ञा प्रतिष्ठानको परिकल्पना देवकोटाको त्यस्तो रचना हो आज पनि त्यस उप्रान्त मन्त्रीको दौरा लगाएकाहरुलाई चुनौति बनेर नेपाली समाजको सान बनेर अविचलित उभिइरहेको छ।
०००
मेरा साथीसँगीहरु मात्रै होइन, कुनै अपरिचितसँग जव परिचयको शास्त्रीय कर्ममा लाग्छु, मेरो थर सुनेपछि ती स्वाभावबश थप्छन्–‘ओहो, कविता त खुब लेख्नुहुन्छ होला है ?’
–‘लक्ष्मीप्रसादको सन्तातन हु‘नुहु‘दोरहेछ, खुब लेख्नुहुन्छ होला है ?’
–‘साहित्य त रगतमै होला है ?’
म चुपचाप सुनिदिन्छु र फिस्स हॉस्छु मनभित्रै एकधर्को हॉसो। म गोरखाको कुनै पाखोमा जन्मिए‘। त्यही पाखोको झाप्रे स्कुलमा भाखा हालेर गाए‘–‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ।’ त्यसैगरि माध्यामिक तहको पाठ्यक्रम हु‘दै स्नातकोत्तर सम्म महाकविलाई पढे‘ कुनै न कुनै रुपमा।
काठमाडौं आएको सुरुवाती बर्षहरुमा श्यामश्वेत टेलिभिजनका पर्दामा बासुदेव फिल्ममा सुने विद्यालयमै भाखा हालेर घोकेको–‘कुन मन्दिरमा जान्छौ यात्री...रबिन शर्माको स्वरमा। त्यसैगरि अहिले सुनिरहेछु साथी शिशिरको स्वरमा ‘सियोको टुप्पोले दमाई दाई...।’
महाकबि देवकोटा काठमाडौंको डिल्लीबजारमा जन्मिए। आज उनको जीवनले ओत पाएको घर खण्डहर भएको छ। म गईरहन्छु त्यो चेतनाको महादियो बलेको घर हेर्न बेलाबेला कहिले एक्लै, कहिले साथीहरुस‘ग। देवकोटाको कृतिबाट आएको रोयल्टीबाट राजधानीका रोज्जा स्थलमा घर जोड्ने परिवार र देवकोटाले धन्य बनाएको नेपाली समाजलाई दोहन गरेर टिकेको राज्य कसैको ऑखामा देवकोटाको जीवनस‘ग जोडिएको त्यो तीर्थ पर्न सकेको छैन।
उनीसँग साहित्यको आम विद्यार्थीको सरह बाहेक मेरो थप साइनो केही छैन। तर मानिसहरुको देवकोटा थरबारेको टिप्पणीबाट म गहिरो गरि अनुभुति गर्छु उनी मानिसहरुको मनको भित्री कुनासम्म कुन हदमा बसेका छन् र मानिसहरु साहित्य भन्नासाथ महाकवि देवकोटा र देवकोटा भन्नासाथ नेपाली साहित्य भन्ने चेतलाई कति सचेतता पूर्वक मनमा सुरक्षित गरेर बसिरहेक छन्।
नेपाली साहित्यका महान् शिल्पी, मानिसका मनमा चेतनाको महादियो बालिरहने महाकबि देवकोटाको जन्मजयन्तीमा नेपाली साहित्यको विद्यार्थी र सिकारु कलमकर्मीका रुपमा सतत नमन गर्छु।