उत्साहको गन्तव्यतर्फ
एक पाइला अघि बढ्न
जब खुट्टा उठाउँछु मैले
एक हुल नियतीहरू आइपुग्छन् ठेस लगाउन
पहाडहरूको भारी बोकेर।
मात्र एउटा सपना देखेर
रहरको उडान भर्नलाई
जब निदाउँछन् मेरा आँखाहरू
मलाई ब्युँझाउन कर्कश आवाजसहित
बादलले मेरै घरमा चट्याङ पठाउँछ।
समुद्रको गहिराई नाप्ने महत्वकांक्षाले
नदीसँगै बगिरहेको हुन्छु म
म नदी बनेको देख्न नसकेर
झर्छन् चट्टानहरू मैमाथि, थुनेर मेरो बाटो
मलाई स्थीर ताल बनाउन।
जिन्दगीका हरेक लडाइँ जित्न
मुटुमा अदम्य साहस बोकेर
जब होमिन्छु म रण मैदानमा
हठात आइपुग्छन् केही मित्रहरू
मेरै पिठ्यूँमा छुरा रोप्न।
तर म जिद्दी मान्छे
नियतीका पहाड चढिरहेकै छु
आँखामा सपना सजाइरहेकै छु
नदीसँगै निरन्तर बगिरहेकै छु
अहँ! रत्तिभर डराएको छैन, लडिरहेकै छु।