ए मेरो प्रिय साथी
तिमीलाई तिमी चतुर हुनुमा
जति घमण्ड छ
मलाई म तिमीजस्तो हुन नसकेकोमा
त्योभन्दा धेरै बढी गर्व छ।
तिमी आफूलाई बाठो ठान्दछौ, किनकि
तिमी एक पाउ कागती किन्दा
अर्को एक दाना लुकाउन सक्छौ
गाडीमा कन्डक्टरलाई धम्काएर भए पनि
पाँच रुपैयाँ भाडा कम तिर्न सक्छौ
पसलमा साहुजीलाई फकाएर भए पनि
रुमाल किन्दा पनि मूल्य घटाउन सक्छौ।
तिम्रो चतुर्याईको महात्म्य
यत्तिमै कहाँ टुङ्गिन्छ र महोदय
तिमी त आफ्ना विरोधीलाई
एकआपसमै लडाउन सक्छौ
कसैले सुनाएका एक/दुई कुरा
अरुलाई सुनाउँदा दुई/चार कुरा बढाउन सक्छौ
आफूलाई अप्ठ्यारो परेको थाहा हुने वित्तिक्कै
आफ्नै साथीलाई समेत बली चढाउन सक्छौ।
तिमी अरुको मौनतालाई लाटो ठान्दछौ
आफ्नो अधैयर्तालाई वाचाल सम्झन्छौ
तिम्रा गुणहरू मेरा विशेषतासँग नमिल्दा
मलाई लाटो देखाउन गरेका तिम्रा प्रयत्नहरू
साँच्चै रमाइलो लाग्छ मलाई
किनकि तिमीलाई तिमी चतुर हुनुको घमण्ड
र मलाई लाटो ठानेको भ्रम
दुवै समान छ भन्ने तथ्य
म लाटो भएर पनि बुझेको छु।