हो, पक्कै हो
तिमीले जितेकै हो
जे जसरी भए पनि तिमीले जितेकोमा
तिमी खुसी हुन पाउनु पर्छ
उत्सव मनाउन पाउनु पर्छ।
तिम्रा हात-खुट्टा बाँधिएका बेला
डोरी चुँडाएर तिमीलाई आजाद बनाउनेहरू
तिम्रो मुखमा पट्टी लगाइएको बेला
तिम्रै आवाज बनेर गर्जनेहरू
आस्थाकै आधारमा तिमी बन्दी बनिरहँदा
तिम्रो आस्थाको डोरीलाई जीवित राख्नेहरू
पटक-पटक हारिरहेको देखेर हुनुपर्छ
तिमी यसरी जित्ने निष्कर्षमा पुगेको
त्यसैले तिमीले जित्यौ
तिमी खुसी हुन पाउनुपर्छ
उत्सव मनाउन पाउनुपर्छ।
तिमी आफ्नै जीवनसँग पराजित हुँदै गर्दा
एक अन्जुली प्राण बोकेर आउनेहरू
दमन, थिचोमिचो र अन्यायले तिमीलाई गलाउँदै गर्दा
एक मुठ्ठी उत्साह लिएर आउनेहरू
हेर त आज उनीहरूको आस्थालाई हराएर
तिमी विजय उत्सव मनाउँदै छौ
र भन्छौ, आऊ मेरो जितमा खुसी मनाऊ।
तर पनि तिमीले जितेको निश्चित हो
पहिले तिमीले हार्दा आस्थाले जित्दथ्यो
अहिले तिमीले जित्यौ, आस्थाले हार्यो
यो जित हारको निरन्तर श्रृङ्खलामा
यसपटक तिमीले जितेकै हो
जे जसरी भए पनि तिमीले जितेकोमा
तिमी खुसी हुन पाउनुपर्छ
उत्सव मनाउन पाउनु पर्छ।