भदौको महिना, पाटनका बजारमा तीजको रमझम सुरु भइसकेको थियो।
म पनि अफिसबाट छिट्टै निस्केर स्कुलकी मिल्ने साथी मीनालाई भेट्न पाटन पुगेकी थिएँ। लामो समयदेखि मीनासँग भेट्ने कुरा भइरहेको थियो तर दुवैको समय मिलिरहेको थिएन। योजनाअनुरूप हाम्रो भेट पाटनमा भयो।
टपरूफ क्याफेमा पाटनको दृश्य हेर्दै कुराकानी गर्ने भनेर एक क्याफेमा गयौं। खाजा-कफी मगाएसँगै सुरु भयो हाम्रो गफ।
गफकै क्रममा मीनाले डेट गरिरहेको केटा प्रतीकको कुरा निस्कियो। (प्रतीकसँग डेट गरिरहेको कुरा मलाई मीनाले त्यही बेला सुनाएकी थिई। तर कता कसरी भेटेको थप कुरा सोध्दा भेट भएको बेला नै सबै कुरा भन्छु भनेकी थिई।)
मैले पनि कुरा उप्काइहालेँ- तैँले भेट हुँदा प्रतीकबारे भन्छु भनेको? के हो भन् त!
एकछिन मीना रोकिई। हाँसेर उडाई।
'ह्या छोड्दे, मैले तँलाई भनेको भन्दा धेरै माथि कुरा पुगिसक्यो।'
मीनाले कुरा घुमाउन खोजी- तैँले फेरि मलाई उडाउँछेस्!
मलाई भने के कुरा होला भनेर खुलदुली भइरह्यो। भन्न जोड बल गरेँ। अन्तिममा कहिल्यै कसैसँग कुरा ननिकाल्ने सर्तमा भन्न थाली।
'म र प्रतीक डेट गर्न थालेको ४ महिना हुन लाग्यो। तर कुरा नसोचेको भयो।'
मीनाले असहजताको भाव प्रकट गरी।
'के हो भन् त सही।'
'तँलाई भेटेरै प्रतीकको बारेमा सबै कुरा भन्छु भनेर कुनै कुरा भनेकी थिइनँ।'
'भइगो त, आज भन् न के भयो त! प्रतीकलाई कता भेटेकी थिइस्?'
'तँलाई थाहा छ, स्कुल हुँदा नै मेरो टिन्डर (डेटिङ एप) अकाउन्ट थियो। तर समीरसँग रिलेसनमा भएपछि मैले अकाउन्ट चलाउन छाडेकी थिएँ। पुसमा हाम्रो ब्रेकअप भयो। त्यसपछि फेरि मन भुलाउन मैले टिन्डर नै चलाउन थालेँ। त्यहीँ प्रतीकलाई चैतमा भेटेकी थिएँ। प्रतीकको पनि फागुनमा ब्रेकअप भएको रहेछ। ऊसँग कुरा भइराख्थ्यो। दुवै जना ब्रेकअपबाट मुभ हुन खोज्दै थियौं, ब्रेकअप भएको भएर होला, धेरै कुरा मिल्थ्यो। तर हामीले एउटा गर्नै नहुने काम गरेछौं। जसले गर्दा आपत् पर्यो नि!'
'त्यस्तो तैंले के काम गरिस् केटी?'
'हामी दुवैले कुरा गर्दा सुरुमै आफ्नो वास्तविक परिचय नखुलाउने सहमति गरेका थियौं। त्यसैले स्न्याप च्याट, इन्स्टाग्राम जस्ता कुनै पनि सामाजिक सञ्जालमा जोडिएनौं। त्यसो गर्दा एकअर्कासँग कुरा साट्न दुवैलाई सहज पनि भइरहेको थियो।'
'त्यो कसरी गर्नै नहुने काम भयो त केटी? त्यो त कमन हो नि!'
'पहिले सबै कुरा सुन् न।'
मीनाले विस्तारमा भन्न थाली। मैले सुनिरहेँ।
'त्यसरी टिन्डरमै कुराकानी हुन थालेको दुई महिना भइसकेको थियो। यो अवधिमा एकअर्काबारे धेरै कुरा थाहा भइसकेको थियो। यसरी प्रतीकसँग दिनहुँ जसो कुरा हुन थालेपछि ब्रेकअप ह्याङओभर पनि केही आउट भएजस्तो अनुभूति भएको थियो।'
बोल्दाबोल्दै मीना एकैछिन अडिई र एक्कासि मुसुमुसु मुस्कुराई। म भने मीनाको मन्द मुस्कानलाई नजिकबाट नियाल्दै थिएँ।
फेरि मीनाले सुनाउन सुरु गरी।
'कहिलेकाहीँ म्यासेज नहुँदा कुनै बहाना पारेर बोल्न आए पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो। त्यसरी बहाना पारेर ऊसँग कुरा गरेर नजिक हुने कुनै कारण खोज्थेँ। उसले पनि त्यसै गरेको हो कि जस्तो लाग्थ्यो। एकदिन त योबारे मैले कुरा पनि गरेँ। उसले पनि ग्रिन सिग्नल दिएको थियो।'
'यो कहिलेको कुरा हो नि?'
'यो सबै वैशाखतिरको कुरा हो। त्यसपछि डेट गरूम् यदि कुरा मिल्यो भने मात्र रिलेसनमा मुभ होऊँ भन्ने कुरा गर्यौं। त्यसपछि म जेठमा अफिसबाट दुई महिनाको लागि छुट्टी मिलाएर भाइ र ममीसँग युके जाँदै थिएँ। त्यही भएर युके जानुअघि एक पटक भेट्ने योजना बनाएका थियौं। तर ऊ पोखराको कुनै एक कलेजमा लेक्चरर थियो। उताबाट काठमाडौं आउन प्रतीकको छुट्टी मिलेन। यता मलाई पोखरा जान घरबाट अनुमति थिएन।
दुवैको समय र परिस्थितिले नमिलेपछि म युकेबाट फर्किएपछि भेट्ने कुरा भयो। त्यसपछि हामी युके गयौं। युके गएपछि प्रतीकसँग कम कुरा हुन थाल्यो। कहिलेकाहीँ मात्र कुरा हुन्थ्यो, किनकि हाम्रो समय मिल्दैन थियो। म युकेमै हुँदा एकदिन उसले काठमाडौंमा लेक्चरर मागेको हुँदा आउँछु कि भन्ने कुरा गरेको थियो।
त्यसको केही समयपछि म युकेमै हुँदा उसले म्यासेज लेखेको थियो- 'वि विल मिट सुन मीना, मैले काठमाडौंमै लेक्चररको काम पाएँ, अब त तलब पनि उताभन्दा राम्रो हुन्छ।'
मलाई पनि अब हामी भेट्छौं भनेर खुसी लाग्यो। प्रतीकलाई बधाई दिएँ। त्योबाहेक म युकेमा हुँदा प्रतीकसँग खासै कुरा भएन।
अफिसको छुट्टी पनि सकिँदै थियो। त्यही बेला तेस्रो वर्षको कक्षा साउनको ७ गतेदेखि सञ्चालन हुने नोटिस पनि आयो। कलेज लाग्ने भएपछि म उताबाट साउनको पहिलो साता नै फर्किएँ। कलेज लाग्न थालेको हुँदा फर्किनुअघि नै प्रतीकलाई युकेबाटै भनेकी थिएँ। ऊ पनि अब हाम्रो भेट हुन्छ भनेर खुसी भयो।
काठमाडौं आएको केही दिनमै कलेज सुरु भयो। पहिलेकै दिनचर्या सुरु भयो; बिहानै उठेर कलेज, त्यहाँबाट काममा सिधै लाजिम्पाट अनि बेलुकी फेरि कुसुन्ती घर फर्किन्थेँ। यसरी नै दिन बित्दै थियो।
म आएको एक सातामै हामीले भेट्ने योजना पनि बनायौं तर प्रतीकको नयाँ ठाउँमा कामको प्रेसर हुँदा भेट्न मिलिरहेको थिएन। शनिबार भेट्न मेसो नै मिलिरहेको थिएन। तर पनि टिन्डरमा कुरा भने निरन्तर हुन्थ्यो।
एकदिन अचानक मैले प्रतीकलाई देखेँ, त्यो दिन हामी दुवै जनाले एक अर्कालाई कतै चिनेझैँ शंकाको भावनाले हेर्यौं तर हो कि होइन दुविधामा थियौं। दुवै जना आश्चर्यचकित भयौं। केही बोलेनौं।'
'किन के भयो र त्यस्तो? कता देखिस् प्रतीकलाई?'
'एकदिन हाम्रो सेकेन्ड पिरियड अफ थियो। सबै जना क्लासमा कुनै टिचर नआएपछि हल्ला गरेर बसिरहेका थियौं। तर एक्कासि नयाँ टिचर आउनुभयो।'
'अनि के भयो र?' मैले जिज्ञासा राख्दै सोधेँ।
'के हुनु नि! मलाई यो मान्छे कता देख्या देख्या जस्तो लागिरह्यो। नयाँ टिचर भएको हुँदा सोध्न पनि मिलेन। उहाँले क्लासमा परिचय सत्र सुरु गर्ने भन्नुभयो।
उहाँले आफूलाई चिनाउनुभयो- मेरो नाम प्रतीक पौडेल, मैले टियुबाट मास्टर्स इन सोसिओलोजी गरेको हुँ। यो कलेजमा फर्स्ट र सेकेन्ड इयरलाई सोसिओलोजी पठाउँछु। सर मिटिङमा जानुभएको भएर आज यहाँ सब्स्टिट्युट आएको मात्र हो।'
'प्रतीक भनेपछि म सोचमग्न भएँ। त्यही प्रतीक हो कि होइन भन्ने शंका गरेर बसिरहेकी थिएँ। सोही बेला मेरो पनि परिचय दिने पालो आयो। सिटबाट जुरूक्क उठेँ र भनेँ- आइ एम मीना पराजुली फ्रम कुसुन्ती। स्टुडेन्ट अफ साइकोलोजी एन्ड मेजर इङ्लिस। त्यति भनेपछि हामी दुवैको आँखा जुध्यो। म झल्यास्स भएँ, उसको टिन्डरको फोटो मेरो आँखै अगाडि आयो। अनि थाहा पाए जोसँग टिन्डरमा यतिका महिनासम्म डेट गरिराखेकी थिएँ, ऊ नै मेरो कलेजमा लेक्चरर भएर आएको रहेछ।'
'कसरी नि?'
'भएको के थियो भने हाम्रो कलेज नलाग्दा कलेजमा ३ जना नयाँ टिचरहरूको भ्याकेन्सी खुलेको थियो। त्यही बेला उसले मेरै कलेजमा अप्लाई गरेको रहेछ। जुन कुरा मलाई थाहा थिएन। न उसलाई म कुन कलेजमा पढ्छु नै थाहा थियो।'
'त्यसपछि के भयो नि!'
'के हुनु आँखा जुधेपछि हामीले एक अर्कालाई क्लासमै चिन्यौं। दुवैलाई असहज भयो, चुपचाप बस्यौं। तीन दिन भइसक्यो के गर्ने नै थाहा छैन, कुरा पनि गरेको छैन।'
'टिन्डरमा पनि कुरा गरेको छैन?'
'छैन। के गरम् भन् न।'
मसँग कुनै जवाफ थिएन। मीनाकै कथामा कता हराउन पुगेछु।
अनि भनेँ, 'रोक् म यसको बारेमा एउटा लेख लेख्छु अनि थाहा हुन्छ।'
मीना बेजोडले हाँस्न थाली।