खोइ कताबाट सुरु गरौँ र कहाँ लगेर यसको अन्त्य गरौँ।
फेसबुक प्रोफाइल हेर्दा ऊ र म एउटै राजनीतिक पार्टीमा आबद्ध रहेछ। अरू केही नभए नि पार्टी मिल्नु पर्छ भन्ने मेरो धारणा साकार भएको जस्तो लाग्यो। मैले झट्टै उसको रिक्वेस्टलाई स्वीकार गरेँ। हामीले कुराकानी सुरु गर्यौँ। हामी त एउटै पार्टीमा क्रियाशील रहेछौँ, भेटेर खुसी लाग्यो जस्ता कैयौँ कुरा हुन् थाले। फोन म्यासेजमा घण्टौँसम्म कुरा जसमा बढी हामीभित्र भरिएको राजनीति बारे बहस हुन्थ्यो।
उसको र मेरो अनौठो सम्बन्ध थियो, त्यो नि प्रेमले भरिएको। हामी दुइटै विद्यार्थी थियौँ। ऊ मभन्दा चार कक्षा अगाडि थियो। उसले गरिरहेको सङ्घर्ष देख्दा म एकदम खुसी हुन्थेँ। उसको हरेक सपना अनि सङ्घर्षमा बिस्तारै म जोडिँदै गएँ। उसले सानै उमेरमा ठूलो जिम्मेवारी उठाएर हिँड्दै थियो। ऊ पढ्नमा एकदम मेहनतीसँगै अब्बल पनि थियो। उसले समय मिलेको बेला मलाई नि पढाउने गर्थ्यो। उसले पढाएको हरेक कुरा राम्रोसँग बुझ्थेँ। उसले मसँगै आफ्नो भाइबहिनीहरूलाई नि समय दिन्थ्यो। आफ्नो परिवारको धेरै इज्जत अनि चिन्ता गर्थ्यो।
घरको जेठो छोरा भएर होला उसको दायित्व धेरै थियो। म उसको त्यो जिम्मेवारी देखेर कहिलेकाहीँ थकित महसुस गर्थेँ। एक दुई महिना उसको प्रेममा यसरी डुबेँ कि मानौँ उही मेरो संसार हो। म चञ्चले अवस्थामा थिएँ, थाहा थिएन माया प्रेम तर महसुस गर्थेँ। ऊ मसँग बोल्न व्यस्तताको बाबजुद पनि समय निकाल्थ्यो।
बिस्तारै मैले बहाना खोज्दै गएँ। मैले उसलाई पढाइ गर्नु छ,परीक्षा नजिक आउँदै छ भनेर टाढिने निर्णय गरेँ। म सोच्दै थिएँ, मेरो जस्तै मन होला बिर्सिन्छ दुई/चार दिनमा भनेर म उसको सम्पर्कमा आइनँ। उसले धेरै प्रयास गर्थ्यो तर मेरो अगाडि उसको के नै लाग्थ्यो र! दुई/तीन महिनापछि हामीबीच राम्रोसँग कुरा हुन् छाड्यो।
ऊ मसँग कुरा गर्न नपाएर तड्पी रहन्थ्यो तर मलाई वास्तै भएन। बिस्तारै थाहा पाएँ ऊसँग त मलाई एकछिनको आकर्षण भएको रहेछ। सायद प्रेम थियो भने त्यति छिट्टै मन मर्ने थिएन। अब म ऊसँग देखाएको केही समयको त्यो मायालाई आकर्षण थियो भन्न सक्ने अवस्थामा थिएन।
मैले उसलाई भन्न थालेँ- अहिले हाम्रो बिहेको उमेर छैन, तिमी सरकारी जागिर खाऊ, राम्रोसँग पढाइ गर।
'यता म नि पढाइ गर्छु, मेरो नि सपना छ, मेरो नि जिम्मेवारी छ। जब म बिहेको लागि तयार हुन्छु तब तिमीलाई जानकारी दिनेछु, तिमी त्यति बेलासम्म पर्खिन्छौ भने म अरू कदापि रोज्ने छैन,' भनी उसलाई सम्झाएँ।
फेरि पनि हामी महिनामा एक दुई चोटि कुरा गर्थ्यौँ। त्यसपछि बिस्तारै महिनाको एक चोटि, त्यसपछि वर्षमा एक दुई चोटि कुरा हुन थाल्यो।
ऊ मलाई पर्खी बसेको कुरा सुनाउँथ्यो। म बिनाको जीवन ऊ बाँच्न चाहँदैन। म भए उसलाई अरू केही चाहिँदैन। तर मलाई मन नहुँदा नहुँदै उसलाई आश्वासन दिएर भन्ने गर्थेँ, 'तिमी सङ्घर्ष गर, आफ्नो अनि परिवारको सपना पूरा गर, म त छँदै छु नि। माया प्रेम भन्ने त बिहेपछि छँदै छ नि। अहिले भविष्य बनाउनु पर्छ।'
फेरि केही महिनासम्म ब्लक लिस्टमा राख्थेँ। मेरो हरेक विशेष दिनहरू उसलाई थाहा छ। मेरो जन्मदिन कहिले बिर्सिँदैन। राति बाह्र बजे सबभन्दा पहिले उसले फोन गरेर शुभकामना दिन्छ। म उसको बारेमा जब सोच्छु लाग्छ म कति भाग्यमानी। न मेरो समय बरबाद गर्छ न त मेरो विश्वास टुटाउँछ।
ऊसँगको भेटपछि न कोही मान्छेसँग आकर्षण भयो न त प्रेम।
उसले आफ्नो स्नातक तह उत्तीर्ण गरेको खबर सुन्दा म खुसी भएँ। त्यो लगत्तै केही महिनामा उसले सरकारी जागिर नि खायो। अब फेरि फोन आउँछ- 'तिमीले भने जस्तै सबै भयो, अब बिहे गरौँ।'
त्यो सुनेर एकछिन म चुप लागेँ र भनेँ, 'अझै गर्नु छ, अब अलिकति खुसी तिम्रो आमाबुबालाई देऊ, म त के छु र। बिहे गर्नै पर्छ जोसँग गरे नि। तिमीसँगै गरौँला, कति हतार गर्छौ?'
यही क्रम जारी रहँदै ५ वर्ष बित्यो।
म सोचिरहेको थिएँ अब बिहे गर्ने उमेर भयो, अब चाहिँ गर्नु पर्यो।
कोही अर्को मान्छेसँग फेरि पाँच वर्षपछि आकर्षण भए जस्तै लाग्यो। मैले आकर्षण कि प्रेम छुटाउन खोजिरहेँ तर सकिनँ।
अहिले जोडिएको मान्छेसँग पनि उही पहिला जस्तै आकर्षण होला भनेर म दुनियाँलाई सुनाउँथे- ऊसँग प्रेम होइन आकर्षण भएको हो, केही महिनामा बिर्सिहाल्छु अनि ऊ आफ्नो बाटो र म आफ्नो बाटो।
दिन, महिना बित्न लागेका थिए तर मेरो आकर्षण ऊबाट घटिरहेको थिएन। म उसमा पूरै समाहित हुन खोजिरहन्थेँ। ऊसँग हुँदा पूरै दुनियाँ बिर्सिन्थेँ तर जब राति बन्द अँध्यारो कोठामा एक्लै हुन्थेँ तब सोच्थेँ- म यो के गरिरहेको छु? कोही म भनेर पाँच वर्षदेखि सङ्घर्ष गर्दै छ, म मात्र भनेर कुरिरहेको छ तर म यहाँ के गर्दै छु? उसलाई सबै भनौँ भने उसले नि भन्छ, 'यतिका वर्षसम्म अँध्यारोमा राखेर अहिले यस्तो भन्छेस्?' यस्तो भन्यो भने म के गरौँ?
कुन सही, के सही छुटाउन सकिरहेको थिइनँ। नयाँ मान्छे भएर होला ऊ नयाँ अन्दाजको थियो। मजस्तै थियो। उसको मेरो पहिले पहिले खुब कुरा मिल्थ्यो तर एक दुई महिना नबित्दै उसको कालो कर्तुत मेरो अगाडि आउन थाले। प्रेमको जालमा फसाएर इच्छा विपरीत बलात्कार गरेको कुरा उसको प्रेमीले सुनाइन् जोसँग उसले दुई वर्षसम्म सँगै बिताएको र बिहे हुन लागेको छ। यी कुराहरू सुन्दा पनि म चुपचाप थिएँ। केही भनौँ उसैलाई गुमाउने डर। मैले उसको पुराना दिनहरू पूरै स्वीकार गरेर सम्बन्ध अगाडि बढाउन चाहेँ। त्यो दिन मैले महसुस गरेँ, ऊसँग आकर्षण मात्र होइन बेहिसाब प्रेम रहेछ भन्ने।
जसलाई मैले राम सोचेर प्रेम गरेँ, ऊ कृष्ण जस्तै रहेछ। फेरि पनि मलाई ऊ कृष्ण भए पनि मन्जुर थियो किनकि म उसको प्रेममा यस्तो भइसकेकी थिएँ कि उसलाई कुनै हालमा गुमाउन चाहन्न थिएँ। ४ महिना बितिसक्दा पनि मेरो प्रेम ऊप्रति दिन प्रतिदिन बढिरहेको थियो। उसको नराम्रो कुरामा पनि म साथ दिन्थेँ।
तर मभन्दा राम्रोसँग उसलाई मेरो साथीभाइ, बहिनीहरूले बुझेका थिए। उसको लागि सबको मनमा रिस अनि घृणा मात्र थियो तर मेरो अगाडि भने मैले चित्त दुखाउँछु कि भनेर सबैले 'राम्रो छ, तिम्रो इच्छा भए कसले के गर्न सक्छ' भन्थे। तर उनीहरू एक आपसमा मेरो भविष्यको चिन्ता गरिरहन्थे। ऊसँग भेट गर्न जान्छु भन्दा सिधै इन्कार गर्थे। मेरो मोबाइलमा उसको फोन आउँदा, नराम्रो कुरा भन्थे। म रिसाउँदा 'जस्ट किडिङ' भनेर कुरा टार्थे।
त्यसरी नै साथी तथा भाइबहिनीहरूले मेरो मनमा शङ्का उब्जाउन थाले। तर पनि मैले कसैको कुरा नसुन्ने बताएँ। बिस्तारै ऊ एकदम फरक हुन थाल्यो। भ्यालेन्टाइन नजिक आउँदै थियो। हाम्रो सानोतिनो झगडा पर्यो र केही दिन बोलचाल बन्द भयो। तर म रिसाएसँगै उसलाई डबल फाइदा हुन पुगेछ। उसले पहिलेदेखि मन पराएकी केटीलाई यो साल भ्यालेन्टाइन सप्ताहका साथै सुहागरात नै मनाउने प्लान रहेको मैले थाहा पाएँ।
मुटु भक्कानिएर आयो तर म बलियो छु, मलाई फरक पर्दैन यस्ता कुराले भन्दै यी कुराहरू टारेँ। बिस्तारै मबाट उसले के चाहन्थ्यो त्यो बुझिसक्दा त लाग्यो अब योसँग कहिले भेट नहोस्। त्यति बेला याद आयो, कसैले पाँच वर्ष पर्खेर पनि मसँग ठूलो स्वरमा बोल्न सकेको छैन तर योसँग भेटेको ५ महिना भएको छैन ऊ मसँग बिस्तरामा पुग्न चाहन्छ। म झसङ्ग भएँ र सम्झिएँ, उसको जीवनमा आएका ती साना बहिनीहरूलाई जसलाई उसले प्रेमको नाममा गरेको त्यो यौन दुर्व्यवहार।
त्यो दिनहरूमा मैले आफूलाई निकै धिक्कारेँ। उसले मबाट राखिरहेको अपेक्षा सुनेर मैले अब यो सम्बन्धमा अगाडि नबढ्नु ठिक मानेर हिम्मत हार्न पुगेँ। कुनै दिन उसको यी नै गलत बानी र सङ्गत छुटाउँछु भनेर अगाडि बढेको म थाकेँ। अझै लागिपरौँ भने आफूलाई नि बचाउनु छ। त्यसैले मेरो मनमा उब्जिएको चोखो प्रेम त्यही अन्त्य गरेँ। यो निर्णयले परिवार त खुसी छ तर मेरो मनमा के बितिरहेको छ यो कोही बुझ्न सक्दैनन्।
पाँच वर्ष पहिला सही व्यक्ति भेटिएको थियो तर ऊसँग प्रेम हुन सकेन। पाँच वर्षपछि कोहीसँग प्रेम बस्यो तर मान्छे सही परेन। पाँच वर्ष अगाडि यस्तै प्रेम पहिलो पात्रसँगै भइदिएको भए सायद आज मलाई पछुतो हुने थिएन। यी वर्षहरूमा यो बुझेँ, सही मान्छे भगवानले एक चोटि पठाउँछ र त्यो चिन्न सक्नु पर्छ नत्र जीवनमा पछुतोबाहेक अरू केही बच्दैन।
छैटौँ महिना नबित्दै दोस्रो पात्र कता हरायो अत्तोपत्तो छैन, पहिलो पात्र अझै बिहेको सपना बुनेर बसिरहेको छ।
यसैमा मैले पहिलो पात्रलाई सबै सही बताउने निर्णय गरेँ र उसलाई सोध्न लागेँ- 'तिम्रो पाँच वर्षसम्म कोही कसैसँग आकर्षण भयो कि नाइँ?'
उसको जवाफ थियो, 'जे छ, जे भयो तिमीसँग भयो, तिमीसँगको जस्तो आभास अरूसँग हुनै सक्दैन।'
मैले फेरि सोधेँ, 'यदि तिम्रो बीचमा कसैसँग प्रेम भएको भए के गर्थ्यौ?'
'प्रेम त पाँच वर्ष अगाडि भयो, अब त मात्र पर्खाइ छ।'
उसको यिनी कुराहरूले म भावुक भएँ र भनेँ मेरो बेलिबिस्तार।
मैले मनमा अरूलाई राखेको कुराले ऊ एक दिनसम्म बोलेन। फेरि फोन गरेर भन्छ- 'तिमी मसँग खुसी हुन्छौ भने म तिमीलाई जस्तोसुकै अवस्थामा अपनाउँछु।'
उसको धेरै कुरा सुनेँ र लाग्यो, यो व्यक्तिसँग अब त प्रेम होस्। तर ऊप्रति प्रेम हुनै सक्दैन। जोसँग जोडिएको ५/६ महिना भयो, ऊ अनि उसको प्रेम मेरो मनबाट मरेको छैन। उसलाई गर्ने मेरो माया बढेको छ तर घटेको छैन। उसको बानी, संस्कार, संस्कृति, सङ्गत, लतदेखि घिन लागेर आउँछ तर उसको मनसँग प्रेम छ। म मेट्न चाहन्छु नयाँ जीवन सुरुआत गर्न चाहन्छु तर सकिरहेको छैन।
कोही पाँच वर्षदेखि बिहेको सपना अनि मलाई पाउन सङ्घर्ष गरिरहेको छ। उसको त्यो सङ्घर्ष देख्दा साथ दिऊ जस्तो लाग्छ। उसको सपना सुन्दा पूरा गरिदिऊँ लाग्छ। उसको पर्खाइ देख्दा उसैमा विलीन हुन मन लाग्छ। उसको मप्रति अथाह प्रेम अनि मेरो लागि राम बनेको देख्दा उसको सीता बन्न मन लाग्छ। उसले मेरो आमाबुबालाई अनि मेरो आमाबुबाले उसलाई माया गरेको देख्दा एउटा परिवार बनाउन मन लाग्छ। तर मनमा अरू अनि अर्कै परिवारको चित्र बनाएकी मैले सायद यथार्थमा परिवार विचित्र बन्छ जस्तो लाग्छ।
उसको खुसी मात्र मसँग देख्दा उसको खुसीमा समाहित हुन मन लाग्छ तर आफ्नो खुसी अर्कैमा देख्दा आफैलाई आँखा बन्द गर्न मन लाग्छ। तर फेरि सोच्छु, म कसैको खुसीको पात्र हुँ। म कसैको विश्वासको पात्र हुँ। म कसैको लामो पर्खाइको पात्र हुँ। म कसैको सफलताको पात्र हुँ।
म कसैको सङ्घर्ष अनि हिम्मतको पात्र हुँ। मैले नै हिम्मत हारेँ भने कसैको पाँच वर्षको पर्खाइको मूल्य रहँदैन। मेरो विश्वासको मूल्य रहँदैन। पाँच महिनाले गर्दा पाँच वर्षको कसैको प्रेम मर्नु भएन। पाँच महिनाले पाँच वर्षसम्म कसैले गरेको पर्खाइ झुटो हुनु भएन। पाँच महिनाले पाँच वर्षको विश्वास टुट्नु भएन। पाँच महिनाले मैले कसैलाई देखाएको पाँच वर्षसम्मको आश्वासन टुट्नु भएन। नत्र सबैलाई माया, विश्वास, सङ्घर्ष, पर्खाइ यी सबै कुरादेखि विश्वास टुटेर जाने छ।