करिब पाँच वर्षअघि, उखर्माउलो गर्मी वैशाखको महिना थियो। बेलुकीपख शीतल खान घरको बरन्डामा सुशीला कार्कीको न्याय किताब पढ्दै बसिरहेकी थिएँ।
पल्लो घरको काकी पनि अफिसबाट घर फर्किनुभएछ बोलाउनु भयो- नानी आज त बार्दलीमा रहिछस्। के गरिराकी नि? खाजा खाइस्?
मैले गर्मी भएर शीतल खान कौसीमा बसेको जबाफ दिएँ। काकीले खाजा खाएर बाहिर जान प्रस्ताव राख्नुभयो। मैले सहमति जनाएँ। काकी अफिस गएको लुगा फेर्न जानुभयो।
शीतलमा हिँड्न बागमतीको किनार हुँदै पशुपति मन्दिर नजिकैको जंगलतिर जाने निधो गर्यौं। घरबाहिर दुवैको भेट हुनासाथ काकीले प्रश्न तेर्स्याउनुभयो- नानी तँसँग अरू कुनै लुगा छैन र कट्टु (सर्ट्स) नै लगाएको? जा अलि लामो लुगा लगाएर आइज। म कुर्छु।
घुँडाभन्दा केही छोटो कट्टु लगाउँदा मलाई कुनै अप्ठ्यारो भएको थिएन जति त्यो प्रश्नले भयो। मलाई अप्ठ्यारो नभएको र यो नर्मल भएको भन्दै हिँड्न संकेत गरेँ।
आजकालका केटाकेटीलाई लाज सरम केही छैन भन्दै काकी भुतभुताउन थाल्नुभयो।
म पनि नसुनेझैं गरी हिँडेँ।
***
मेरो बुवाका तीन दाजुभाइ थिए। सबै जना सँगै बस्थ्यौं। तीन जनामा मेरा बा माइला थिए। काकाको बिहे हुनै बाँकी थियो। ठूलो बुबाको मभन्दा अलि ठूल्ठूला एक छोरी र छोरा थिए।
गर्मीकै समय थियो। बैठकमा टिभी हेरेर बसिरहेकी थिएँ, ठूलीआमाले आँखा तरेर जानुभयो। मैले कुनै पनि भेउ पाइनँ। सर्ट्स लगाएर बाहिर गएको र अहिले घरमा पनि ठूलो बुवा र काकाको अगाडि बसेको भनेर आँखा तरेको भन्ने बुझेँ।
केही बोलिनँ, मौन रहेँ। एनजिओमा काम गर्ने ठूलीआमाको सोच देखेर जिल खाएँ। किनकि मैलै सर्ट्स लगाउन थालेकै धेरै दिन भएको थिएन। दिदीले लगाएको देख्दा मलाई पनि लगाउन मन लाग्थ्यो। तर कहिल्यै लगाउन आँट आएन। लगाएर हेर्थें फेरि लाज लागेपछि होस् भन्दै बस्थेँ। तर आफैमा आत्मविश्वास आएपछि लगाउन सुरू गरेकी थिएँ।
त्यो रात त्यसै भयो। तर ठूलीआमाले मैले सर्ट्स लगाउँदा गर्ने व्यवहार भने फरक भएन। मैले सर्ट्सलाई पनि अन्य लुगाझैं सोचेँ। हलुका र शीतल भएपछि जता जाँदा पनि रोजाइमा नै पर्यो।
त्यसरी नै एकदिन ठूलीआमा, आमा र बाहिरबाट आउनुभएको काकीहरू भान्छामा कुरा गर्दै बसिरहनुभएको थियो।
म लस्सी बनाउन भान्छातिर पुगेँ। फेरि मेरो लुगाबारे टिप्पणी सहितको प्रश्न आइहाल्यो।
‘नानीको लुगा त धेरै लामो भएन?’
म मुसुक्क हाँसेँ।
‘आजकालका केटाकेटीले चार पाउको लुगा किनेर दुई पाउ लुगाले मात्रै ज्यान छोप्छन् भन्थे हो रैछ,’ उहाँले फेरि अर्को टिप्पणी गर्नुभयो, ‘ए दिदी के भएको तपाईं। बाहिर पनि यसरी नै कट्टु लगाएर हिँडेको छ। यसो सम्झाउनु छोरीलाई। अस्ति पसलको दिदीले पनि सरिताले कस्तो गति छाडी हिँड्न दिएको होला, लाजको पसारो भन्दै हुनुहुन्थ्यो।’
मलाई झोंक चल्यो। जबाफ नफर्काई बस्नै सकिनँ।
‘अब के भोलिदेखि दुनियाँलाई मैले खाएको देख्दा पनि समस्या भयो भनेर खानै छोडिदिनु? त्यसमाथि मेरो शरीरमा जस्तोसुकै लुगा लाम् मलाई सजिलो भए हुन्छ। मैले अरूको लागि लुगा लगाएको होइन। अनि तपाईंको छोरीले लगाएर हिँडेको त मैले देखेकै छैन।’
त्यति भनेर म लस्सी लिई आफ्नो कोठामा आएँ।
म फर्किएपछि पनि मेरै लुगाबारे टिप्पणी चलिरहेको मधुरो आवाज कोठासम्म आइरहेको थियो।
त्यसरी महिनौं बित्यो। अरूले टिप्पणी गरेकै आधारमा मैले सर्ट्स लगाउन छोडिनँ।
तर एक दिनको कुरा हो। ठूलीआमाले फेरि मैले लगाउने सर्ट्सबारे टिप्पणी गर्नुभयो। मलाई असह्य भयो। कारण एकै थियो- दिदीलाई वर्षौंदेखि सर्ट्स लगाउँदा केही नभन्ने अनि मैले लगाउँदा जति बेला पनि…।
ठूलीआमाले गरेका टिप्पणीलाई वास्ता नगरी हावामा उठाएर हिँडेकी थिएँ। तर अति नै भएपछि जबाफ दिएँ।
‘तपाईंको छोरीले यही लुगा वर्षौंदेखि लगाउँदा केही नहुने मैले लगाउँदा चाहिँ किन समस्या? दिदीलाई चुइँक्क बोल्न सक्ने होइन मलाई पायो भनेर जति बेला पनि भनेको भन्यै गर्ने। यस्ता कुरामा नि के जबाफ दिनु भनेर बसेको त हेप्या हप्यै गर्नुहुन्छ।’
‘त्यसले कोठाभित्र मात्र लगाउँछे। तँ जसरी मुलुक मारेर त हिँड्दिनँ नि।’
‘त्यो मलाई बालैको मतलब। म कन्फिडेन्ट भएर हिँड्न सक्छु भने जस्तोसुकै लुगा लगाए पनि अरूलाई मतलब हुनु हुँदैन।’
‘आइमाई मान्छे भएर छोटो छोटो लुगा लगाएर हिँड्न सुहाउँदैन। हग्नेलाई भन्दा देख्नेलाई लाज। त्यसो भए भोलिदेखि नाङ्गै हिँड्।’
‘तपाईं नै होला आइमाई म होइन। घरमा छोरीले सर्ट्स लगाएको देखि नसक्ने मान्छेले बाहिर एनजिओमा अनेक थरी गफ छाँट्दै हिँडेको छ। मलाई भन्नुअघि पहिले आफ्नो छोरीलाई भन्नू।’
‘अझ मुखमुखै लाग्छेस्। आफ्नै मनमानी गर्ने हो भनेर यो घरबाट निस्केर गर्नू। यहाँ पाइँदैन।’
जबाफ फर्काएकै कारण लामो समयसम्म ठूलीआमा मसँग राम्रोसँग बोलिनन्। मैलै गएर माफी माग्न पनि उपयुक्त ठानिनँ।
आफूलाई २१ औं शताब्दीको मोर्डन रूढीवादी मानसिकता नभएको महिला बताउने ठूलीआमाले मैले लगाउने सर्ट्सबारे एकपटक होइन सयौं पटक टिप्पणी गर्नुभएको थियो। बाहिर कहिलेकाहीँ 'वान पिस' लगाएर घरबाट निस्कँदा आँखाको तारो बनेकी थिएँ। एकातिर रूढीवादी मानसिकता नभएको भनेर समाज र इष्टमित्रलाई ढोङ पिट्ने ठूलीआमाको व्यवहार देखेर हाँसो लागेको थियो।
अर्कातर्फ एनजिओमा काम गर्ने र महिला सशक्तीकरणको कुरा गर्दै हिँड्ने ठूलीआमाले गरेको व्यवहारप्रति असन्तुष्टि थिएँ। यिनीहरू दुईमा कुनै फरक छैन भन्दै आफ्नो छोरी र ममाथि गरेको दुई भिन्न व्यवहारप्रति निराश थिएँ।
समयक्रसँगै मेरो पनि बिहे भयो। म आफ्नै जीवनमा व्यस्त हुन थालेँ।
केही महिना अगाडि ठूली आमाको छोरा (दाइ) को बिहे भएको थियो। सबैलाई पहिलेदेखि नै 'छोरी र बुहारीलाई फरक व्यवहार गर्दिनँ, एउटै त हुन्। आफूले जस्तो गर्यो त्यस्तै हुने हो' भनेर भन्नुहुन्थ्यो। छोरी र देवरको छोरीमा त भेदभाव गरेकी ठूलीआमाको कुरा पत्याउनै सकिनँ। तर पनि एक मनले आफ्नै बुहारी भएपछि त्यस्तो नगर्नुहोला भन्ने अनुमान गरेकी थिएँ।
ठूली आमा र भाउजूलाई नभेटेको लामो समय भएको हुँदा दुई दिन अगाडि माइती गएको थिएँ। दाइ न्युजिल्यान्ड भएको हुँदा भाउजूको डकुमेन्टको काम चलिरहेको रैछ। त्यही बेला विदेशको रहनसहनबारे कुरा चल्दै थियो। ठूलीआमाले भनिहालिन्- 'विदेशमा गएर जेसुकै गरे पनि मैले देख्दिनँ, तर मैले नदेखे पनि तिघ्रा देखाउँदै छोटो लुगा चाहिँ नलगाऊ है। जिन्स पाइन्ट लगाउन त हामीले यहाँ पनि दिएकै छौं नि।'
'केको विदेशको कुरा, यहाँ पनि सर्ट्स लगाउन पाइन्छ भाउजू। दिदीले त लगाउनुहुन्छ त। छोरी र बुहारीलाई फरक व्यवहार गर्दिनँ भनेर भन्ने अनि यो के हो?'
'त धेरै जान्ने न हो। सुयोग बसेको ठाउँमा आफन्तहरू धेरै छन्। कोही पुग्दा देखिहाले भने फलानोको बुहारी भनेर हाम्रो बेइज्जत हुँदैन?'
'ए त्यसो भए छोरीले लगाउँदा केही नहुने लुगा बुहारीले लगाउँदा चाहिँ बेइज्जत हुने रैछ हैन। वाह! ठूलीआमा तपाईंको सोच!'