चालिस वर्ष पाहिले बाबुको कमिज बेचेर
प्रदेशमा मोज खोज्न हिँडेको छोरो फर्कियो
स्वदेश फर्कियो
सबै खुसी थिए
तर बाउको मुहारमा भने अन्योलताका
रेखाहरू देखिन्थे
आखिर सबै कुरा रित्ताएर हिँडेको छोरो
मर्ने बेलामा के नै पो थियो र रित्ताउन आयो होला
अब सायद, बुढेसकालको एक मात्र सहारा बाउछोरा बिचका
मिठा सम्झना रित्ताउन आयो कि!
छोरो आयो बाउलाई टल्कने कोट लिएर
उसले सायद बिर्सिएर होला, ढुंगो सरह भएको उसको बाउ
अब त्यो कोट लगाएर उठ्न सक्दैनन्
उसले ल्याएका ती मिठाईहरू चाहेर पनि खान सक्दैनन्
अब उसका आवाजहरू पनि बाउको कानसम्म मुस्किलले पुग्लान्
छोरो आयो भनेर बेफिक्री मुस्कुराउन पनि अब सायदै
उनको शरीरमा तागत रहेको होला!
हरेक साँझ छोरोकै यादमा आँगनीको डिलमा
झोक्राएर बस्ने उसकी आमा
त्यही डिलमा झोक्राएरै अस्ताइन्
आफ्नो सरा संसार छाडेर उसका लागि नयाँ संसार सजाएकी
उसकी आमा
संसारै छाडेर बिदा हुँदा पनि उसको जेठो छोरोले बिदा पाएन
कान्छोले सबै क्रिया खर्च आफ्नै थाप्लामा पर्ने हो कि भन्ने
त्रासै त्रासमा क्रिया कर्म सक्यो
आमा मरिन्
छोराहरूले एक दिनको आँसु गुमाए
छोरीहरूले दुख बिसाउनी चौतारी गुमाए
तर बाउले भने आफ्नो सर्वस्व गुमाए
बुढेसकालको सहारा अनि आफ्नो आधा शरीर गुमाए।
आमा थिइन् र त घिस्रिएरै भए पनि
छोरालाई फोन लगाउँथिन् र
बाउको ओखती सकिएको खबर दिन्थिन्
तर आज जीवनभर कसैसँग हात नफैलाएको उसको बाउलाई
आफ्नै छोरा अगाडि हात फैलाउन लाज लगेर आउँछ
बाउलाई अब आफ्नै सासदेखि उराठ लगेर आउँछ।
आजकल बाउको शरीर
सानोतिनो आगोको रापले जलाउँदैन रहेछ
किनकि श्रीमतीले सास छाड्दाका दिन नै उनको मुटु
खरानी भएको रहेछ
आजकल सानोतिनो आँधी आउँदैमा डराउँदैनन् उसका बाउ
किनकि अब बाउको शरीर पोल्ने बेला भएछ
लौ त भैगो!
अब मर्ने बेलामै भए पनि छोरो बाउ खोज्दै आएछ भनेको
छोरो त बुढो बाउको बुढ्यौली खोज्दै आएछ।