नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ।
निर्वाचन समितिका अनुसार १९०० मत गन्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको ११११ आएको छ। उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले ७७० मत ल्याएका छन्।
मंगलबार राति साढे ११ बजेबाट मतगणना सुरू भएको हो। पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो।
दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो। पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो भने ७६ मत बदर भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइरालाले १७०३ मत ल्याएर दोस्रो भएका थिए। अन्य उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत ल्याएका थिए।