घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। तर उनले एमालेका कुल महाधिवेशन प्रतिनिधिमध्ये एकतिहाइ सदस्यको मत पाएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। ओलीको सर्वसम्मत सूचीविरूद्ध खुलेर बोलेका र उनको निर्णयविरूद्ध चुनावमा उम्मेदवारी दिएका भए पनि उनलाई एकतिहाइ महाधिवेशन प्रतिनिधिले आफ्नो मत दिएका हुन्।
मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका छन्।उपाध्यक्षमा सबभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्।
विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्। भुसालले भने ७२५ मत पाएका छन्।
स्रोतका अनुसार अब एकदमै थोरै मत मात्रै गन्न बाँकी छ। औपचारिक परिणाम केही बेरमा सार्वजनिक हुनेछ।