निर्वाचन परिणाम सार्वजनिक भएपछि अध्यक्ष केपी शर्मा ओलीले दोस्रो कार्यकालको निम्ति सपथग्रहण लिए र केही बेर सम्बोधन गरे। त्यहाँबाट उनी पहिलो केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बन्दसत्र चलिरहेको होटल सेभेन स्टारको 'कन्फ्रेन्स हल' जाँदै थिए।
बाटोमा होटलका कर्मचारीसँग भेट भयो। ओलीले पहिले महिला कर्मचारीहरूसँग फोटो खिचाए। त्यसपछि पुरूष कर्मचारीहरूसँग खिचाए।
फोटो सेसनपछि उनले होटलका कर्मचारीको तारिफ गर्दै भने, 'राम्रो सेवाका लागि तपाईंहरू सबैलाई धन्यवाद।'
टिभीमा मात्र देख्ने गरेका नेता आँखैअगाडि आइपुग्दा शान्ति चेपाङलाई त सुरूमा विश्वासै भएन। कालिका नगरपालिका, न्युरेनीकी शान्ति केही समयदेखि यही होटलमा प्रशिक्षार्थीका रूपमा कार्यरत छिन्।
झन्डै एक साता महाधिवेशनका गतिविधि हेर्न पाउँदा राजनीतिक दलहरू कसरी काम गर्छन् भन्नेबारे केही जान्न पाएको उनले बताइन्।
'दुई पटकसम्म देशको प्रधानमन्त्री भइसकेका नेतासँग फोटो खिचाउन पाएँ,' उनले भनिन्, 'खुसी लाग्यो।'
ओलीले अप्रत्यासित रूपमा आफूहरूसँग फोटो खिचाएपछि होटलका सबै कर्मचारी दंग परेका थिए। 'उहाँले हामीसँग यसरी फोटो खिचाउनुहोला भन्ने त सोचेकै थिइनँ,' सौराहा नजिकै घर भएकी कर्मचारी अनिसा चौधरीले भनिन्, 'राम्रो सेवा गर्यौ, अझ राम्रो गर्दै जाऊ भन्नुभयो।'
होटल सञ्चालक माधव दवाडीले अध्यक्ष ओलीले कर्मचारीहरूलाई काममा ऊर्जा मिल्ने गरी प्रोत्साहन गरेको बताए।
'हामीले महाधिवेशन सफल बनाउन सक्दो सहयोग गरेका छौं,’ उनले भने, ‘रातदिन खटेका कर्मचारी उहाँसँग फोटो खिचाउन पाउँदा खुसी छन्।’
कोरोना भाइरसको महामारीले थलिएको सौराहामा नेकपा एमालेको राष्ट्रिय महाधिवेशनले चहलपहल बढेको छ। एकैपटकमा धेरै पाहुना आउने भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीले लामो समयदेखि बिदामा रहेका कर्मचारीलाई काममा बोलाएका थिए।
महाधिवेशनका कारण सौराहामा झन्डै एक साता सबै होटलका कोठा भरिभराउ भएका थिए। सबै कोठा बुक भएपछि व्यवसायीले पर्यटकलाई केही दिन सौराहा नआइदिन आग्रह गर्नुपरेको थियो।
दवाडीका अनुसार सौराहामा अहिलेसम्म १६ सयभन्दा बढीको सहभागितामा कार्यक्रम भएको थिएन।
‘यसपालि हामीले चार हजारभन्दा बढीको सहभागितामा कार्यक्रम गर्यौं,’ उनले भने, ‘अब सौराहाले जस्तोसुकै कार्यक्रम गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न सकियो।’
एमाले महाधिवेशनका लागि होटल सेभेन स्टारले १५० जना कर्मचारी थपेको थियो। रेस्टुरेन्टमा ८ जनाले काम गर्ने गरेकामा ६५ जना थपिएका थिए। भान्सामा १० जनाले काम गर्दै आएकामा बिदामा बसेका २० जनालाई काममा बोलाएको र ४५ जना थप कर्मचारी राखेको दवाडीले बताए। अन्य कर्मचारी सरसफाइका लागि थपिएका थिए।
महाधिवेशन अवधिमा होटलले करिब ७० लाख रूपैयाँको कारोबार गरेको उनले बताए। समग्र सौराहाले यो अवधिमा १० करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको दवाडीले जानकारी दिए।
‘यहाँ आउनेहरू सौराहाको सन्देश बोकेर देशभर पुग्छन्। यसले हामीलाई दीर्घकाललाई प्रभाव पार्छ,’ उनले भने, ‘पहिले हामी आफ्नै पैसा खर्च गरेर 'घुमौं सौराहा' भन्दै देशभर पुग्थ्यौं। अहिले पार्टी र कार्यकर्ताको खर्चमा सौराहाको प्रचार भयो।’
महाधिवेशन सकिएपछि पहिलो केन्द्रीय कमिटी बैठक करिब आधा घन्टा बस्यो। बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गर्यो।
महाधिवेशनको विषयमा देशभर कार्यक्रम गरेर जानकारी गराउने, मंसिर २५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बसेर स्थायी, पोलिटब्युरो समिति गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय पनि गर्यो।
बैठक सकिएपछि केही नेता घर फर्किए। बाँकी आ-आफ्ना होटल गए।
अध्यक्ष ओलीसहितका शीर्षनेताहरू बुधबार फर्किने कार्यक्रम छ।
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी